सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा, पुनर्निर्माण गर्न ६ अर्ब

Mantriparisad_Cabinet
फाइल तस्बिर
  • 28
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पहिरोबाट प्रभावित दुवै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका हुन्।

ती दुई जिल्लामा विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुनर्निर्माणका काम अगाडि बढाइने उनले बताए। विपद् व्यवस्थापन प्राधिकरणको अगुवाइमा हुने पुनर्निर्माणको काम सुरु हुने ज्ञवालीले जानकारी दिए। यस्तै, हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुनर्स्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा पाँच हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।

सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। नेपाल र चीनको व्यापार प्रवर्द्धनका लागि बैठक फलदायी हुने उनले बताए। यस्तै, सरकारले २४ असोज का लागि तोकिएको निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरका लागि तोक्ने निर्णय पनि गरेको छ।

सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरूको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ। दुवै देशका सयवटा महत्वपूर्ण ग्रन्थहरू अनुमाद हुने प्रवक्ता ज्ञवालीले जनाकारी दिए।