सार्कलाई प्रभावकारी र नतिजामुखी क्षेत्रीय संगठन बनाऔंः परराष्ट्रमन्त्री

Pradeep
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। छ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यावहारिक सबै विकल्प खोजी गर्न नेपालले सदस्य देशलाई आह्वान गरेको छ। सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका निम्ति सदस्य राष्ट्रलाई आह्वान गरेको हो।

संगठनका अध्यक्ष नेपालले अप्रत्यक्षरुपमा आज आयोजना गरेको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई दक्षिण एशियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणामोन्मुख क्षेत्रीय संगठन बनाउनुपर्नेमा जोड दिए। कोभिड-१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिकरुपमा सघनताकासाथ लाग्नुपर्ने आवश्यकता बैठकका अध्यक्ष मन्त्री ज्ञवालीले औँल्याए।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी र नतिजामुखी क्षेत्रीय संगठनको रुपमा बनाउनु पर्नेमा जोड दिएका छन्। सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्‍न सकिने परिवर्तन ल्याउनु पर्ने मन्त्री ज्ञवालीले जोड दिए। उनले सार्कमा नयाँ गति उत्पन्‍न गर्न र यसलाई गतिशिलता दिनुपर्ने पनि बताए ।

सन् २०१४ मा नेपालमा सार्कको १८ औं शिखर सम्मेलन भएयता रहेक दुई वर्षमा हुनुपर्ने उक्त शिखर सम्मेलन हुन सकेको छैन। पाकिस्तानको राजधानी इस्लामाबादमा सार्कको १९ औं शिखर सम्मेलन हुने भनिएर मिति तोकिए पनि भारत र पाकिस्तानको आपसी द्वन्द्वका कारण हालसम्म उक्त सम्मेलन हुन सकेको छैन। बैठकमा सबै सदस्य मुलुकका परराष्ट्र बाह्यमामिलामन्त्रीको सहभागिता थियो।