सरकारले ल्यायो एसिडसम्वन्धी अध्यादेश, जन्मकैदसम्मको सजायँ हुने

Mantriparisad_Cabinet
फाइल तस्बिर
  • 23
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ। प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्नेे र यससम्बन्धी घटनाका दोषीको सजाय माफी मिनाहा नहुने प्रावधान राखेर अध्यादेश जारी गरेको हो।

पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ। संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश गरिने छ।

जसअनुसार एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुनेछ।आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजायँ तोकिएको छ। आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ। एसिड बिक्रीवितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनुपर्नेलगायतका प्रावधान प्रस्ताव गरिएको छ। बिक्रेताले आफूले ल्याएको एसिडको परिणाम र बेचबिखनको तथ्यांक राख्नुपर्ने छ। हरेक वर्ष नवीकरण गर्नु पर्नेछ।

गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायँको व्यवस्था हुने गरी १५ दिनभित्र कानुनको मस्यौदा ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्