शुद्व र सुरक्षित पानीले मात्र स्वस्थ्य समाजको निर्माण हुन्छ

  • 364
    Shares
लाेकपाटी न्यूज

सुजाता ढुङ्गेल

कसैले हामीलाई पानी भनेको के हो भनेर सोध्यो भने हामी सजिलै उत्तर दिन्छौं, ‘जीवनको अपरिहार्य तरल पदार्थ । पानीबिना जीवन सम्भवनै छैन ।’ शुद्व र सुरक्षित पानी के हो भनि सोधियो भने हामी मध्ये धेरैको उत्तर– ‘हेर्दा सफा, गन्ध नआउने अनि पिउँदा स्वाद राम्रो भएको’ भनेर भन्छौ । तर, के हेर्दा सफा र पिउँदा राम्रो स्वाद आउने अनि माथि उल्लेखित स्रोतका पानी साँच्चै पिउनका लागि शुद्घ र सुरक्षित हुन्छ ? पक्कै पनि हँुदैन र यो विषयलाई गम्भिर भएर बुझ्न आवश्यक छ । पिउन योग्य र सुरक्षित हुनका लागि पानीमा देहाय बमोजिमका विशेषताहरु हुनुपर्छः

१) पानीका सूक्ष्म जीवाणुहरु जस्तै– ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदि रहित हुनुपर्छ ।

२) विभिन्न हानिकारक रसायनहरु जस्तै– अमोनिया, नाइट्रेट, आर्सेनिक, जिङ्क, आइरन, क्लोराइड, आदि रहित हुनुपर्छ ।

३) पानी भौतिक रुपमा हेर्दा सफा, पिउँदा स्वादिलो अनि यसको पीएच (pH)  क्षार (Base) प्रकृतिको हुनुपर्छ । यसका साथै अन्य घरायसी प्रयोजनका लागि उपयोगी हुन जरुरी हुन्छ ।

यति मात्र नभएर पानीको गुणस्तरलाई मापन गर्न विभिन्न प्रकारका मापदण्डहरु बनाइएका छन् । जसमध्ये माईक्रोबायोलोजिकल, रसायनिक तथा भौतिक पक्षहरु पर्दछन् । पानी पिउन योग्य र सुरक्षित हुन माथि उल्लेखित सबै मापदण्डहरु विश्व स्वास्थ्य संगठन अथवा नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले तोके अनुरुप हुनुपर्छ ।

पिउने पानी सुरक्षित छ वा छैन भनेर बुझ्न सर्वप्रथम पानीमा पाइने सूचक जीवाणुहरु छन् वा छैनन् भनि जान्न आवश्यक हुन्छ । सूचक जीवाणुहरु पानीमा हुनु भनेको पानी मानव मलमूत्र मिश्रित भएको तथा अन्य रोग लगाउने जीवाणुहरुको पनि उपस्थिति छ भन्ने बुझिन्छ । यस्ता सूचक जीवाणुहरुलाई कोलीफर्म (Coliform) भनिन्छ । जसमा मुख्यरुपमा ई–कोलाई (E. coli) नामक ब्याक्टेरियाका साथै क्लेबसिएल्ला (Klebsiella), साइट्रोब्याक्टर (Citrobacter) र इन्टेरोब्याक्टर (Enterobacter) जीनस (Genus)का  ब्याक्टेरियाहरु पर्दछन् । यि कोलीफर्म ब्याक्टेरियाहरु मानव पाचन प्रणालीमा स्थिर रुपमा पाइरहने भएकाले पनि यस्ता सूक्ष्म ब्याक्टेरियाहरुको उपस्थितिले पानीमा मानव मलमूत्र मिसिएर संंक्रमण गरेको छ भनेर बुझिन्छ । यस बाहेक पानीमा अरु विभिन्न ब्याक्टेरियाहरु पनि पाइन्छन् । साल्मोनेला (Salmonella) प्रजातिका ब्याक्टेरिया जसले प्रमुख तया टाइफाइड रोग लगाउँछ भने वाइब्रियो कोलेरी (Vibrio cholerae) नामक ब्याक्टेरिया जो हैजाको प्रमुख कारक तत्व हो । यी दूषित पानीमा पाइने गर्दछ । पानी दूषित विशेषगरि ढल मिसिनाले हुने गर्दछ । संक्रमित पानीमा हेपाटाइटिस ए (Hepatitis A), पोलियो भाइरस , रोटा भाइरस लगायत पाइने सम्भावना बढी हुन्छ ।

यसका साथै पानीमा विभिन्न प्रकारका हानिकारक रसायनहरु हुन्छन् । जसमध्ये आइरन, अमोनिया, नाइट्रेट, आर्सेनिक, फ्लोराइड, क्लोराइड, मैंगनीज आदि पर्दछन् । यी रसायनहरुको मात्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अधिक भएमा र यस्तो पानीको सेवन निरन्तर जारी राखिएमा विभिन्न हानिकारक किसिमका रोग लाग्ने सम्भावना अधिक हुन्छ । उदाहरणका लागि छालाको रोग, मस्तिष्क घात, मुटु रोग, स्वास प्रश्वासमा समस्या, आदि लिन सकिन्छ । तसर्थ, पिउनु अघि आफुले प्रयोग गर्ने पानीको स्रोतलाई  विश्वसनीय प्रयोगशालामा परीक्षण गर्दा उत्तम हुन्छ । यसो गर्दा आफुले पिउने पानी सूक्ष्म जीवाणुबाट संक्रमित भएको छ कि छैन, हानिकारक रसायनहरु कुन–कुन कति–कति मात्रामा रहेका छन् थाहा हुन्छ । साथै, पानीको भौतिक पक्षहरु जस्तै पानीको पीएच (pH) कति छ, पानी धमिलो छ कि छैन र पानीको  विद्युत चाल (Electrical Conductivity) कति छ भन्ने पनि थाहा पाउन सकिन्छ ।

पिउनु अघि पानीलाई उचित तवरले फिल्ट्रेसन (Filtration) गरी सय डिग्री सेन्टिग्रेड तापक्रमसम्म उमालेर पिउने गर्दा पानीमा भएका सूक्ष्म जीवाणुहरु सजिलै नष्ट हुन्छन् । बजारमा उपलब्ध हुने क्लोरिन जस्तै ब्लिचिङ्ग पाउडर, पियुष, वाटर गार्ड आदि प्रयोग गर्दा हानिकारक सूक्ष्म जीवाणुहरुबाट धेरै हदसम्म मुक्ति पाउन सकिन्छ । बजारमा उपलब्ध हुने उच्च कोटिका वाटर प्यूरिफायरहरु प्रयोग गर्दा सूक्ष्म जीवाणुहरु कम हुन्छन् र पानीमा अवस्थित जैविक पदार्थहरु पनि धेरै मात्रामा कम हुन्छन् । घरमा पानी भण्डारण गर्ने भाँडा वर्तनहरु पनि सफा हुनु अनिवार्य हुन्छ । अन्यथा पानीको स्रोत मात्र सफा गरेर किटाणुरहित हुँदैन ।

तसर्थ, हामीले पिउने पानी कुनै पनि प्रकारका किटाणु रहित भएमा मात्रै पिउन योग्य र सुरक्षित हुन्छ । अन्यथा, पानीबाट सर्ने विभिन्न प्रकारका रोगहरु जस्तै हैजा, झाडापखाला, टाइफाइड, आदी बाट संक्रमित हुने सम्भावना अधिक हुन्छ । आज पनि नेपाल जस्ता अल्पविकसित देशहरु शुद्घ र सुरक्षित पानीको अभावले हैजा र झाडापखाला जस्ता रोगको शिकार हुन पुगेका छन् । उदाहरणको रुपमा भन्नु पर्दा सन् २००९ मा कर्णाली प्रदेशको जाजरकोटमा र सन् २०१४ मा प्रदेश २ को रौतहटमा आएको हैजाको प्रकोप हो । जसका कारण धेरैको ज्यान गुमेको थियो । तर कोभिड–१९ भाइरसको प्रसङ्गमा भने हालको मितिसम्म यो भाइरस पानीबाट सर्नसक्छ भनेर प्रमाणित भैसकेको छैन । तर, ढुक्क हुने अवस्था भने छैन । किनभने सुरक्षित पानी पिउँदा मात्रै हामी स्वस्थ्य हुन्छौं र हामीमा रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्वि हुन्छ ।

शुद्घ र सुरक्षित पानी पिउन पाउने हरेक नागरिकको अधिकार हो । यसलाई  सरल र सहज रुपमा उपलब्ध गराउने सरकार तथा सम्बन्धित निकायको दायित्व हो । किनकि शुद्व र सुरक्षित पानीले नै स्वस्थ्य समाजको निर्माण गर्न सकिन्छ ।

लेखक एम.एस.सी. माईक्रोबायोलोजिष्ट हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्