मौसम पूर्वानुमान : तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

mausam water
  • 16
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन रोकिन अझै केहि दिन लाग्ने बताएको छ। मौसममा केहि सुधार आए पनि पानी पर्ने क्रम अझै जारी नै रहेको मौसमविदले बताएका छन्।

आज (शनिबार) प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन्। हिजोअस्ती लगातार झरी पारेको प्रणालीकै असरले आज पनि प्रदेश–१, प्रदेश–२ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर धेरै ठाउँको मौसम दिउँसो खुल्नेछ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको हो। आज दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम आज दिनभरी नै सामान्य भई केही ठाउँमा पानी पर्ने सम्भावना छ।

यस्तै प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् बासीको पूर्वानुमान छ। आज राति पनि प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ।

गए राति स्थानीय वायुको प्रभावले बुटवल आसपासम निकै ठूलो पानी परेको उनले जानकारी दिइन्। मंगलबार बेलुकीदेखि देशभरी नै झरी पारेको प्रणालीको असर कम हुँदै गएकाले अब केही दिनमा यो वर्षको मनसुन पनि सकिने मौसमविद् बासीको भनाइ छ।

मनसुन बाहिरिनको लागि आवश्यक प्रणाली बन्दै गएकाले अबको केही दिनमा नेपालबाट मनसुन बाहिरिने उनले बताइन्। मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार आगामी दुई दिन यस्तो छ वर्षाको सम्भावना

असोज ११ गते आइतबार

दिउँसो – प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

राति– प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

असोज १२ गते सोमबार

दिउँसो–प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

राति–प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्