देउवा र रामचन्द्र नेता नै होइनन् : कृष्ण सिटौला

krishna_sitaula
लाेकपाटी न्यूज

काठमाडौं, १२ पुष । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफूले नेता नमान्ने घोषणा गरेका छन् । उनले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउँदै उनीहरुको पदलाई मात्र मानेको स्पष्ट पारेका छन् ।

महासमिति बैठकपछि केही सञ्चारकर्मीलाई बोलाएर राजधानीमा आज विहान आफ्ना धारणा राखेका नेता सिटौलाले यसअघिको महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए । कांग्रेसभित्र नेतृत्व गर्ने नेता कोही नदेखेर आफै उठेपनि अनिर्णयले अप्ठेरो पार्ने भएपछि अन्तिममा देउवालाई साथ दिएको उनले बताए ।

‘शेरबहादुर र रामचन्द्रलाई नेता मानेको थिइनँ, अहिले पनि मानेको छैन, पदलाई मानेको छु’, उनले भने । नेता सिटौलाले महाधिवेशनको मिति तय भएपछि उमेदवारीको टुङ्गो लाग्ने उल्लेख गर्दै भने, ‘कर्मशील मौरी मात्र हैन कार्यकर्ताको शुभेच्छा रहे रानी मौरी पनि बन्न सकिन्छ ।’

उनले पार्टी बलियो भए सभापति पनि बलियो हुने तर सभापति बलियो हुँदैमा पार्टी बलियो नहुने बताए । पार्टीमा व्यक्ति हावी हुन नहुने र पार्टीलाई बलियो बनाउनुपर्ने बताउँदै दबेको कार्यकर्ताले कांग्रेसको चरित्र जोगाउन नसक्ने सिटौलाको दावी थियो ।

सिटौलाले कांग्रेसमा उठेको हिन्दूराज्यको आवाज असान्दर्भिक भएको टिप्पणी समेत गरे । महासमिति बैठक सकिएको केही दिनभित्रै सिटौलाले नेतृत्वविरुद्ध चरम असन्तुष्टि पोखेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्