‛बाहिरबाट उपत्यका आएका व्यक्तिलाई पीसीआर परीक्षणका लागि दबाब नदिनुहोस्’

corona doctor
  • 70
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज। सरकारले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आएका व्यक्तिलाई पीसीआर परीक्षणका लागि दबाब नदिन घरबेटीलाई आग्रह गरेको छ।

आफ्नो कामका लागि उपत्यकामा आएकाहरुलाई घरबेटी, छिमेकी तथा समुदायका व्यक्तिले पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको गुनासो आएको भन्दै सरकारले यस्तो नगर्न आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोठामा बस्ने मानिस पनि त्यो घरको सदस्य जस्तै हुने र उनीहरुले तिरेको पैसाबाट घरबेटीको गर्जो टर्ने गरेकोले अप्ठ्यारो अवस्थामा पराइको व्यवहार नगर्न आग्रह गरे।

उनले कोरोना भाइरस शरीरमा प्रवेश गरेको पाँच दिनपछि परीक्षण गर्दा मात्र नतिजा थाहा हुने भन्दै यात्रा गर्नासाथ गरिएको परीक्षणको अर्थ नहुने बताए। उनले आफ्नो घर वा टोलछिमेकमा आउने व्यक्तिलाई दुई हप्तासम्म कोठामा छुट्टै बस्ने वातावरण दिएर लक्षण देखिएमा मात्र परीक्षण गर्न लगाउन आग्रह गरे।

अहिले पीसीआर परीक्षणका लागि रातभरि झरीमा रुझ्दै लाइन बस्नु परेको प्रति दुःख व्यक्त गर्दै प्रवक्ता गौतमले यस्तो अवस्था आउन नदिन महामारीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताए। उनले कसैलाई कोरोना सङ्क्रमणसँग मिल्दो लक्षण देखिएमा वडा कार्यालयलाई खबर गर्न आग्रह गर्दै वडा कार्यालयले परीक्षणलगायत आवश्यकता अनुसार आइसोलेशनको व्यवस्था गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्