मित्र राष्ट्रसँगको सम्बन्धमाथि कालो बादल मडारिरहेको एनडिएको टिप्पणी

  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले देशका विद्यमान समस्याहरूको समाधान गर्न वर्तमान संविधान-२०७२ ले नसक्ने ठहर गरेको छ। आज (शनिवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले यस्तो बताएको हो।

उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पञ्चशीलको सिद्धान्तमा आधारित रही परराष्ट्र नीतिलाई अवलम्बन गरी परम्परा देखि रही आएको पारस्परिक सहयोग र सद्भावको सम्बन्धलाई विस्तार एवं सुदृढ गर्न तथा वर्तमान अवस्थामा मित्र राष्ट्रहरू सितको चिसिएको सम्बन्ध तथा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता अहम् विषयहरूको वर्तमान संविधान, २०७२ ले समस्या समाधान गर्न सक्दैन भन्ने राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएको अन्तिम ठहर हो।’

गठबन्धनले वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुराका लागि सुरक्षा दिन नेपाली सेनालाई उक्त भू-भागको रक्षार्थ र खटाई नेपाली जनतालाई हाम्रो भूमिको रक्षा भइरहेको छ भन्ने अनुभूति दिलाउन नसकेको पनि आरोप लगाएको छ।

उसले भनेको छ, ‘तसर्थ जुन संविधानलाई फ्याँकेर विदेशीको आडमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ल्याइयो अब सोही संविधान २०४७ को विकल्प नदेखिएको हुँदा २०४७ को संविधानलाई स्थापित गर्न सम्पूर्ण राजावादी, राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी संघ/संस्था पार्टी, बुद्धिजीवी, श्रमजीवी, पत्रकार, किसान, यातायात व्यवसायी, उद्योगपति, सन्त, महन्त, हिन्दु-अधिराज्यवादीहरू सम्पूर्ण जन-समुदायलाई एकताबद्ध भई अगाडी बढ्नको लागि आव्हान गर्दछौँ।’

गठबन्धनका संयोजक किशोरी महतोले २०६२/०६३ को जनआन्दोलनको उपज कथित गणतन्त्रको आगमन भएको र त्यसपछि मुलुकमा दलीय सिन्डिकेटको कोटाबाट २०७२ सालको संविधान सार्वजनिक गरेपछि शान्ति, अमन चयन, विकास निर्माण तथा मित्र राष्ट्रहरूसँगको सदियौँ पुरानो प्रगाढ सम्बन्धमाथि कालो बादल मडारिरहेको टिप्पणी गरेका छन्। उनले वर्तमान राजनीतिक स्थितिलाई अहिलेको संविधान २०७२ ले र वर्तमान राजनीतिक व्यवस्थाले समाधान गर्न नसक्ने कुराको पुष्टि भैसकेका पनि दाबी गरे।

उनले नेपालमा गणतन्त्र पूर्ण रूपमा असफल राजतन्त्र सफल भएको स्पष्ट पारे। उनले भने, ‘राजाहरूको एउटा ढोका खोलिदिनुपर्छ। राजासँग सहमति गरेर २०४७ को संविधान पूर्नवहाली गर्नुको विकल्प छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्