वैज्ञानिक अनुसन्धान गर्नुस् : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

बाँके, १२ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

प्रत्येक प्रहरी कर्मचारीहरूले आ–आफ्नो पद अनुसारको काम, कर्तव्य र जिम्मेवारी बोध गरी काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनप्रति सकारात्मक सोच राखी कर्तव्यमा कटिवद्ध रहन निर्देशन दिए । परिवर्तित समयअनुसार मानवअधिकारको सम्मान, संवद्र्धन र रक्षा गर्दै प्रहरीले सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले वैज्ञानिक प्रमाणहरू संकलन गरी अनुसन्धान गर्ने, प्रत्येक घटनालाई गम्भीरतापूर्वक लिने र प्रत्येक काम कानून बमोजिम गर्नुपर्ने उल्लेख गरे । तस्करी नियन्त्रण, फरार अपराधीहरूको खोजी लगायत नियमित क्रियाकलाप सम्पादन गर्न प्रहरी कर्मचारी उच्च अनुशासनमा रहनुपर्ने उनले बताए ।