नास्टद्वारा नेशनल वेब पोर्टल सार्वजनिक

Innovation_web_portal_nepal pic
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेसनल इनोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) को वेब पोर्टल सार्वजनिक गरेको छ। नास्टको सब डोमेनको रुपमा इनोभेसन नेपाल नामक वेबपोर्टल सार्वजनिक भएको हो।

यसले ‘समाजका लागि विज्ञान र समृद्धिका लागि आविष्कार’ को अवधारणालाई सार्थक रुप दिन र नेपालको रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालको समग्र आविष्कार क्षेत्रलाई संयोजन गर्ने उद्देश्यका साथ उक्त वेबपोर्टल सार्वजनिक गरिएको हो।

आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममार्फत् पूर्व वातावरण, विज्ञान, तथा प्रविधि मन्त्री गणेश साह र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेको वेबपोर्टलमा नेपालभर छरिएर रहेका आविष्कारकहरुको विस्तृत विवरण समेटिनेछ।

प्रतिष्ठान अन्तरगत सञ्चालित ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र’ को उद्देश्य र कार्यक्रम अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ प्रतिकारका लागि ‘प्रविधि विकास तथा नवप्रवर्तन’ समिति गठन गरेको थियो। सोही समितिमा रहेको रोबोटिक्स एसोसियसन नेपाल (¥यान) र नक्साको संयुक्त प्रयासमा ‘राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’ निर्माण गरिएको हो।

प्रतिष्ठानले उक्त सञ्जालको सहज सञ्चालन तथा दायरा विस्तारका लागि यसको स्वामित्व ग्रहण गरिसकेको छ। यो विद्युतिय सञ्जाल मूलतः नेपाली नवप्रवर्तकहरुले आफ्ना कामको प्रदर्शन गर्ने, आवश्यक सहयोगको याचना गर्ने प्लेटफर्मका साथै मुलुकभित्र र बाहिर रहेका नवप्रवर्तकहरुसँग सम्बन्ध स्थापित गर्ने एक विद्युतिय मञ्च हो। यस वेभ पोर्टलमा सर्वसाधारण सवैको पहुँच सुनिश्चित गरिनेछ।

इनोभेसन म्यापरको रुपमा रहने यो सञ्जालमा देशका विभिन्न क्षेत्रमा रहेका आविष्कारकहरुको शोकेस (विस्तृत विवरण सहितको जानकारी) रहनेछ। जसमा आविष्कारकहरुको प्रोजेक्ट, टिमको प्रोफाइल, फण्डिङ, मेन्टरशिपको आवश्यकता र सामना गरिरहेको चुनौती लगायतका विषयहरु रहने छन्। वेबसाइटमार्फत आविष्कारकहरुले आफ्नो प्रोफाइल शोकेसका लागि नास्टमा अनुरोध गर्न सक्नेछन्।

वेबसाइटमा गएर पोर्टलमा दर्ता भएका नवप्रवर्तन खोज्न तथा दर्ता गर्न सकिनेछ। नेटवर्कको प्राविधिक समूहले आवश्यक प्रमाणीकरण पश्चात शोकेसका लागि राख्नेछन्। यसमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता विभिन्न क्षेत्रगत रुपमा आविष्कारकहरुको एकीकृत विवरण रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्