‘बस त चले, तर यात्रु चढेनन्’

sit gadi
  • 27
    Shares
लाेकपाटी न्यूज

महेन्द्रनगर, ११ असोज। यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे। सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन्।

‘बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन्। निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन।’ उनले भने, ‘सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ।’

उनले भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि व्यवसायी मारमै रहेका र बैंकको किस्ता तिर्न समस्या परेको बताए। उनले भने,’यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ। कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन्।’ यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन्। ‘छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ।’ व्यवसायी करनसिंह साउदले भने, ‘यात्रु नै नपाएपछि चलाएर पनि केही सहजल होला जस्तो छैन।’

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन्। यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ। ‘सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ।’ उनले भने, ;अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ।’

उनले यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गरे। त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्नुपर्ने बताए। ‘यातायात नचल्दा यसक्षेत्रका मजदूरहरु पनि मारमा परे।’ उनले भने, ‘विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदूर कसैको नजरमा परेनन्।’ रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्