अतिअशक्तको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह

Samajik_Bhatta
  • 41
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय अपांग महासंघ नेपाल, मानव अधिकारका लागि महिला, एकल महिलाहरुको राष्ट्रिय सञ्जाल, संकल्पलगायत संस्थाले अति अशक्त, अपांगता भएका व्यक्ति र साठी वर्षभन्दा कम उमेरका एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह गरेका छन्।

ती संस्थाले आज भर्चुअल पत्रकार सम्मेलन गरी त्यस्ता व्यक्तिे प्राप्त गरिरहेको मासिक रु एक हजार छ सय सामाजिक सुरक्षा भत्ता रोकिन नहुने माग गरेका हुन्। यसबारे मन्त्रिपरिषद्बाट उपयुक्त निर्णय गर्न वा विद्यमान सामाजिक सुरक्षा ऐन, २०७५ मा संशोधन गरी समाधान गर्न ती संस्थाले प्रस्ताव गरेका छन्।

महासंघका अध्यक्ष मित्रलाल शर्माले सामाजिक सुरक्षा ऐन संशोधन गरेर सामाजिक सुरक्षा भत्ताको स्थायी समाधान गर्नुपर्ने बताए। महासंघका महासचिव राजु बस्नेतले कोभिड-१९ को महामारीमा आफूहरुलाई अतिरिक्त सेवासुविधा दिनुपर्नेमा पाइरहेको सामाजिक सुरक्षा भत्तासमेतबाट वञ्चित गरी बाँच्न पाउने अधिकारबाट समेत कुण्ठित गर्न खोजिएकाले समस्या समाधानका लागि थप दबाब सिर्जना गरिने जनाए।

उक्त ऐनसँगै सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि त्यसको नियमावली कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत चैत १२ गतेको परिपत्रबाट उक्त भत्ता रोकिए पनि गत जेठ २८ को अर्को परिपत्रबाट अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मका लागि विनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराइएको थियो। चालू आवको पहिलो चौमासिकमा भने उक्त भत्ता वितरण रोकिएको छ।

संकल्प संस्थाका अध्यक्ष लीला थापाले आजै आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग सो विषयमा ध्यानाकर्षण गराउँदा सकारात्मक जवाफ दिई गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिइन्। हाल मुलुकमा छ प्रतिशत एकल (विधवा) महिला रहेको जनाइएको छ।

विज्ञप्तिमा बौद्धिक अपांगताका अभिभावक महासंघ नेपाल, अपांगता भएका महिलाहरुको महासंघ नेपाल, नेपाल अपांग महिला संघ, सामाजिक सुरक्षा नागरिक सुरक्षा सञ्जाल, दलित महिला संघ, निष्पक्ष द्वन्द्वपीडित महिला सञ्जाल, सैनिक एकल महिला तथा घाइते परिवार संघ, मिथिला महिला समाजलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्