मानवतस्करको निशानामा बालबालिका, गाजियाबादबाट १८ नेपाली बालकको उद्धार

balak udar
  • 8
    Shares
लाेकपाटी न्यूज

नयाँदिल्ली, १३ असोज। कोरोना महामारीका कारण साना नाकामा सुरक्षाकर्मीको निगरानी फितलो भएको मौका छोप्दै मानवतस्करहरुले विभिन्न प्रलोभन दिएर बालकहरुलाई भारतका विभिन्न सहरमा पुर्‍याउने गरेको तथ्य खुलेको छ।सोमबार साँझ भारतको राजधानी नयाँदिल्ली छेउको गाजियाबादबाट अठार जना नेपाली बालकहरुको उद्धार गरिएको घटनाले मानवतस्कहरुको त्यस्तो करतुत बाहिर ल्याएको हो। आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले समाचार लेखेका छन्।

मानवतस्करहरुको आकर्षक कमाइको प्रलोभन दिएर काम लगाउने भन्दै दिल्ली पुर्‍याउने योजना बनाएका थिए। तर, उनीहरुको त्यो योजना साकार हुनुअघि नै ती अठार जना नेपाली बालकको उद्धार गरिएको छ। स्थानीय प्रहरीले दिल्ली महिला आयोग र आफन्त नेपालसँगको समन्वयमा सोमबार साँझ भारतको राजधानी दिल्ली छेउको गाजियाबादबाट उनीहरुलाई उद्धार गरेको हो। १३ देखि १६ वर्ष उमेरका यी सबैजना नवलपरासी जिल्लाका हुन्।

ती बालकहरुलाई काममा लगाउने भन्दै तीन जना दलालले नवलपरासीको ठूटीबारी नाकाबाट भारतमा पुर्‍याएको आफन्त नेपालका भारत प्रतिनिधि नवीन जोशीले  बताए। ‘राम्रो कमाइ हुने काममा लगाइदिन्छु स्थानीय दलालहरुले ल्याएका रहेछन्,’ जोशीले भने ।

जोशीका अनुसार मानवतस्कहरुहरुले नेपाली बालकलाई दिल्ली पुर्‍याउन लागेको गोप्य सूचनाका आधारमा स्थानीय प्रहरीले नेपालबाट आउने गाडीहरुमा निगरानी बढाएको थियो। र, त्यसैअनुसार सोमबार साँझ एउटा गाडीमा रहेका बालकहरुको सम्बन्धमा सोधपुछ गर्दा उनीहरुलाई काममा लगाउन दिल्लीमा पुर्‍याउन लागेको खुलेको हो। प्रहरीले बालकहरुलाई ल्याउने तीन जनालाई पक्राउ गरेको छ। उद्धार गरिएका सबैलाई दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिएको छ।

खाडीलगायतका विभिन्न मुलुक पैठाइदिने भन्दै नेपाली महिलाहरुलाई भारतका दिल्लीलगायतका विभिन्न सरहरुमा पुर्‍याउनैका लागि मानवतस्करहरुको ठूलो सन्जाल सक्रिय रहँदै आएको छ। तर, मानवतस्करहरुले नै यति ठूलो संख्यामा साना बालकहरुलाई भारत पुर्‍याएको घटना भने नौलो हो। नेपाली बालकहरु आफन्तको साथ लागेर रोजगारीका लागि भारतका विभिन्न सहरहरु आउनु सामान्य हो। तर, पछिल्लो घटनाले मानवतस्करहरुले कलिला बालकहरुलाई पनि आफ्नो निशानामा पार्न थालेको देखाउँछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्