असोज अन्तिममा दशैंको टिकट बुकिङ खोल्ने यातायात विभागको तयारी

Ticket
  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १३ असोज। असोजको अन्तिममा यातायात व्यवस्था विभागले दशैंको लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार विभागले असोज महिनाको अन्तिममा दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो।

हमालले यातायात व्यवसायीहरुसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय गरिने बताए। यातायात व्यवसायीले भने अग्रिम टिकट बुकिङबारे आफूहरु अन्योलमा रहेको बताएका छन्। व्यवसायीका अनुसार कोरोना महामारीका कारण यसपालिको दशैंमा विगतका वर्षमा जस्तो काठमाडौं, उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढी नहुने भएकाले अग्रिम टिकट बुकिङ अन्योलमा परेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने, ’काठमाण्डौबाट बाहिर जाने मात्रै हैन, काठमाण्डौ भित्रिने गाडीमा समेत यात्रु छैनन्। विगतका वर्षमा दशैँ आउन एक महिना अघिदेखि टिकट काउन्टरमा भिडभाड हुन्थ्यो, यसपालि सुनसान छ, अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक छ जस्तो लाग्दैन ।’

सिटौलाका अनुसार सरकारले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्ने घोषणा गरेकाले पनि दशैंका बेला लकडाउन हुन्छ भनेर काठमाडौं, छाडेर गाउँघर फर्कने क्रम बढेको छ। तर प्रायः निजी गाडीमा फर्किएका छन्। सार्वजनिक गाडीमा फर्किनेको सङ्ख्या कम छ। लकडाउन तथा निषेधाज्ञाका कारण कलेज तथा विद्यालय बन्द भएको र धेरै मानिसले काठमाण्डौ उपत्यका छाडिसकेकाले अग्रिम टिकट बुकिङ ढिलो खुले पनि फरक नपर्ने महासङ्घले जनाएको छ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सार्वजनिक गाडीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम बनाएको छ। गएको असोज १ गतेदेखि यही नियमअनुसार लामो दुरीका सार्वजनिक गाडी चलिरहेका छन्। तर यसरी गाडी चलाउँदा लामो दुरीका सार्वजनिक बसका चालक तथा सहचालकहरुले खानाको व्यवस्था मात्रै गर्न सकेको तर तेल भने व्यवसायीहरुले नै हालिदिनुपर्ने अवस्था आएको महासङ्घको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्