‘युवामा रचनात्मक साेच हुनुपर्छ’

parajuli_sujhab
  • 9
    Shares
सुझाव पराजुली

वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुलल्य निधि एवम् उदयीमान शक्ति मानिन्छ।युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरुको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाई रहेको हुन्छ। विश्व सर्बहारा वर्गका महान गुरु माक्र्सले युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए। यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदूरहरुले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरुको सन्दर्भमा उत्तिकै सान्दर्भिक थियो, छ र रहिरहने छ।

युवाहरु यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्। विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बन्न पुगेको थियो। तर पछिल्लो समय भ्रष्ट खेल, क्रुर उपेक्षामाथि खुराफात र पाखण्डको परम नमूनासँग, राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि यस्ता कुरूप नाटक प्रदर्शन भएका छन्। यसले जनताको बौद्धिकता अपमानित भएको छ। आँत थाकेको छ।

नेपाली राजनितिलाई फनक्क फर्केर यो नाटक बहिष्कार गरिदिऊँ या यसका पूरै पात्र फेरेर नयाँ कथा रोजुँ। तर नेपालीको दुर्भाग्य राजनीतिक मञ्चमा विफलता र भ्रष्टताले आ–आफ्नै रङ-रङका तमासा दोर्होयाइसकेका छन्। इतिहासमा असफलसिद्ध तिनै लम्पट नेतृत्वहरुप्रति बिना सर्त निकै लामो संघर्ष र बलिदानी गरेर आएका लाखौं कार्यकर्ताहरु मलामी जान तयार भईरहे। भए। नेपाली राजनीतिको दुर्भाग्य, सबै राजनीतिक गतिविधिको अगाडि युवापंक्ति मुकदर्शक बनिरह्यो। अझ बिशेषत यिनका मातृपार्टी संबद्ध भातृ संगठनहरु विद्यार्थी आन्दोलन सधैं प्रतिपक्षी आन्दोलन हुनुपर्ने अवस्था रहेको छ।

करिब ४० प्रतिशत युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौँ युवा रोजगार, शिक्षालगायत भविष्यका सुनौलो सपनाको खोजीमा विदेश गइहेका छन् भने कतिपय युवाहरु विदेशमा नै पलायन भइरहेको यथार्थता हामीमाझ छ। भर्खरै कोरियामा काम गर्न जानका लागि ७५,५८० युवाहरुले आवेदन भरेका थिए जसमा करिब १० हजार २०० जना उत्तीर्ण भएका छन्। आ.व. २०७३/०७४ मा कतार, साउदी, दुवई, कुवेत, बहराइन, ओमन र साइप्रस जस्ता खाडी मुलुक तथा मलेसिया जानका लागि ३,७३,४६३ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक भएको छ। भारततर्फको खुला सिमानामा त झन बर्सेनि लाखौँ युवा मजदूरीका लागि भारतका विभिन्न सहरहरु निम्नस्तरको काम गर्न गइरहेका छन्। विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक रोजगारका नाममा ठगीइरेका छन्। नेपाली युवाको श्रमका साथसाथै रकम दुवै बाहिरिएको छ। हाम्रा मुलुकका करिब ७५ देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिरहेको अवस्था छ।

राष्ट्रको आमूल परिवर्तनका लागि गरिनुपर्ने राजनीतिक आज अधिकांश युवा वर्गको वितृष्णाको केन्द्र बनेको छ। बदनाम राजनीतिज्ञहरूको नाम लिएर गाली गलोच गर्ने सामाजिक सञ्जालमा होहल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माज नकारात्मक चिन्तनको बिकाश गराउने र आफू राजनीतिमा स्थापित हुन खोज्ने जमात ठूलै छ। यो झन् विशिष्ट प्रकारको राजनीति हो भन्ने कुरा आजको युवा बुझ्दैनन्। उसको मानसपटलमा यस्ता नकारात्मक चिन्तनहरू भरिएका हुन्छन् र उसलाई कसैले बुझाउन खोज्दा पनि ऊ बुझ्दैन। राजनीति थोर बहुत बुझ्नका लागि पनि इतिहासदेखि वर्तमान सम्मको राजनीतिक घटनाक्रमहरुको ज्ञान हुनुपर्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने कतिपय युवा वर्गलाई त राजनैतिक विषयमा थोरै ज्ञान पनि हुँदैन तर चर्को स्वरमा राजनीतिज्ञलाई गालीगलौज गर्ने र सामाजिक सञ्जालमा अनावश्यक ट्रोलहरु बनाउनेमा उनै अग्रपंक्तिमा पर्छ।

अधिकांश यस्ता कुराहरू कसैको स्वार्थ पूरा गर्न बनाइएका प्रायोजित र कपोकल्पित कुरा हुन्छन्। चेतनानै नभएपछि यस्ता कुरा बुझ्ने त कुरै भएन। राणा शासनदेखि संघीय गणतन्त्र सम्मको यात्रा तय गरिसकेको हाम्रो देश यिनै व्यवस्था परिवर्तनका लागि कैयौँले बलिदान दिएका छन्। यस क्रममा विभिन्न आन्तरिक युद्धहरु भए राष्ट्रले ठूलो नोक्सानी भोग्नुपर्यो। अस्थिरताको भूमरीमा मुलुक फस्न पुग्यो। आज आएर मुलुकले केही हदसम्म स्थिरताका पाएको छ।

अब हामीले अग्रगामी छलाङ मान्नुपर्छ आजको युवा पिँढी यस्ता झिनामसिना कुरामा अल्झिएर हुँदैन राजनीतिक नेतृत्वसँग युवा वर्गको टाँढिदै गएको सम्बन्धले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन। सम्बन्ध नजिक होस् पनि कसरी हिजो चप्पल पड्काएर सिंहदरवार छिरेका नेताहरूको रहनसहन देख्दा कसलाई चित्त बुझ्दो हो। आजको युवाको अवस्था यस्तो भएको छ कि विज्ञ विद्वानका कुरा नकारेर comedian का कुरा मार्केटमा रुचाइन थालिइएको छ। चरम चाकडीमा टिकेको नेपाली राजनीति यसको मुख्य कारण हो।

यहाँ हरेक नागरिक आफ्नो स्वार्थका लागि कांग्रेस, कम्युनिष्ट, राजावादी, राज्य विरोधी, अभियन्ता आदि बन्छन्(अपवादलाई छोडेर)। यहाँ विचारको त कुरै नगरौ शीर्ष नेताहरुले नै अचार बनाएर खाइसके। कार्यकर्तालाई त के थाहा के कम्युनिष्ट ? के कांग्रेस? आफ्नो स्वार्थ पूरा गर्न पाए पुग्यो। हुन त सबैको बाध्यता हुन्छ यसबाट कोही पनि उम्कन सक्दैन भन्छन्, मेरो पनि बुझाइ यस्तै छ।

अब युवा चेतनशील हुन जरुरी छ र राजनीतिबाट पर भागेर मुलुकलाई झन दुर्घटनामा धकेल्ने काम गर्नु हुँदैन। यसलाई हस्तक्षेप गर्ने गलत प्रवृत्ति भएका व्यक्तिहरुलाई स्थान नदिने आज यो कुरा युवाले नबुझ्दा भोलि त्यही गलत प्रवृत्तिका मानिसले स्थान पाउँछन् र मुलुक दुर्घटनामा पर्ने जोखिम झनै बढेर जान्छ। गाउँबस्ती, टोल सबैतिरबाट उर्जाशिल युवाहरु जाग्ने बेला आएको छ। चाकडी गर्न छोडेर नेतृत्वलाई खबरदारी दिन जरुरी छ। शीर्ष नेताहरुलाई सम्झाउने कोही नभएर पनि आफ्नो बाटो भुलेका हुन सक्छन् उहाँहरुले व्यवस्था परिवर्तनका लागि ठूलो बलिदान, त्याग र तपस्या गर्नुभएको छ यसलाई हामीले कदापि भुल्नु भने हुँदैन। हरेकले आफूमा राजनीतिक चेतनाको विकास गर्नुपर्छ। आफ्नो स्वार्थमा लिप्त कदापि हुन हुँदैन। अभिभावकहरुले पनि आफ्ना सन्ततिलाई राजनीतिक चेतना दिन जरुरी छ।

जस्तो सुकै परिबन्धमा परियोस् गलत प्रवृत्तिको डटेर प्रतिकार गर्नुपर्छ। यद्धपि जबसम्म परिबन्धमा परिँदैन तबसम्म यस्ता क्रान्तिकारी कुरा गरिन्छ र भोलि जालमा फसेपछि गलत गन्तव्य समात्न बाध्य भइन्छ कि भन्ने डर सबैमा छ।सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहान्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, केपी, जीपी, प्रचण्ड, बाबुराम, मदन, मनोमोहन सबैले आ-आफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ।त्यसैले आउनुस, हामी पनि युवा अवस्थामा केही रचनात्मक काम गरौँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्