मार्क्सवादी दृष्टिकोणबारे संक्षिप्त चर्चा

Maniratna Shrestha
  • 311
    Shares
मणिरत्न श्रेष्ठ

समाज विकासको क्रममा उन्नाइसौं शताव्दीसम्म आइपुग्दा विश्वका केही देशहरुमा पुँजीवादको विकास भइसकेको थियो। पुँजीवादको विकाससँगै सर्वहारा मजदुर वर्ग पनि देखिन थाल्यो र समाज पुँजीपति र सर्वहारा गरी दुई वर्गमा विभाजित भयो। स्वाभाविक रुपमा पुँजीपति वर्ग मुनाफा खोज्ने वर्ग हुनाले सर्वहारा मजदुर वर्गलाई कमभन्दा कम पारिश्रमिकमा शोषण गर्ने प्रवृत्तिको पनि विकास भयो। त्यसबेला औद्योगिक क्रान्तिको अवस्था पनि रहेकोले कारखानाहरुमा क्रमशः मेसिनहरुको बढ्दो प्रयोगले मानवीय श्रम प्रतिस्थापनको कारण बेरोजगारको संख्या पनि बढ्दै जान थाल्यो।

पुँजीवादको अत्यधिक विकासले एकातिर समाजको सबैजसो सम्पत्ति पुँजीपति र व्यापारीहरुको हातमा थुप्रिन गयो भने अर्कोतिर आम सर्वहारा मजदुर किसानहरु आर्थिक रुपले अत्यन्तै दयनीय अवस्थामा पुगे। गरिब जनता खाने लाउने बस्ने जस्ता अत्यावश्यक कुराहरु जुटाउनसमेत नसक्ने अवस्थामा पुग्न थाले। यतिसम्म कि मजदुरहरुको काम गर्ने स्थलसमेत पशुवत अवस्थामा पुग्दा पनि कार्यस्थलको काम गर्ने सामान्य वातावरणमा सुधार गर्न पँुजीपति वर्गको ध्यान गएको देखिएन। यस्तो स्थितिमा सुधारका माग राखी मजदुरहरुले आफ्नोे पारिश्रमिकको वृद्धि हुनुपर्ने, काम गर्ने तथा बस्ने ठाउँ मानवोचित हुुनुपर्ने, श्रमका लागि कार्यदिन तथा घण्टा कम गर्नुपर्ने जस्ता माग राखी सामूहिक आन्दोलन गर्न थाले। यस्तो आन्दोलन युरोपका धेरै देशहरुमा देखिन थाल्यो। त्यसमध्ये फ्रान्सको लिओेन सहरमा फ्रान्सेली मजदुरहरु र बेलायतमा चार्टिस्ट आन्दोलन विशेष रुपमा प्रभावकारी रह्यो। तर, ती सबै आन्दोलनहरु स्वतस्फुर्त रुपमा भएका थिए, असंगठित थिए। आन्दोलनको मुख्य लक्ष्य के हो, लक्ष्यमा पुग्न कस्तो कस्तो बाटो तय गर्नुपर्छ, आन्दोलनको मुख्य वर्ग शत्रु को हो भन्ने जस्ता आधारभुत कुराहरुको राम्रो ज्ञान आन्दोलनकारीमा थिएन।

मजदुरहरुको असफल आन्दोलनलाई दृष्टिगत गरी जर्मन चिन्तक कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले समाजको बनावट तथा मजदुरहरुको आन्दोलनलाई अध्ययन गरी आम श्रमजीवी जनतालाई शोषणबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने सम्वन्धमा गहिरो अनुसन्धान गर्नुभएको थियो। सर्वप्रथम उहाँहरुले आफूभन्दा अगाडिका दार्शनिकहरुले तत्कालीन समाजको आर्थिक तथा सामाजिक संरचनाका सम्बन्धमा विकास गरेका सिद्धान्तहरुको अध्ययन गर्नुभएको थियो। यस क्रममा उहाँहरुले जर्मनशास्त्रीय दर्शन, बेलायतको अर्थशास्त्र तथा फ्रान्सको समाजवादबारे विस्तृत अध्ययन गर्नुभएको थियो र ती सिद्धान्त र प्रयोगहरुमा समाजको विकास तथा उन्नत समाजको निर्माणको सम्वन्धमा उल्लेख भएका सिद्धान्तहरुको कमजोर पक्षलार्ई केलाई समाज विकासको क्रममा समाजवादी व्यवस्था हुँदै साम्यवादसम्म पुग्ने उन्नत प्रगतिशील वैज्ञानिक विचारहरुको श्रृंखला तयार गर्नुभयो। उहाँहरुको अथक प्रयासबाट प्र्रकृति, समाज र राज्य व्यवस्था सम्वन्धमा तयार भएको दर्शनलाई नै मार्क्सवाद भनिन्छ।

कार्ल मार्क्स तथा फ्रेडरिक एंगेल्सले आफूहरुले तयार पारेको विचारका आधारमा सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र तयार गरी प्रकाशित गर्नुभयो। उक्त घोषणापत्रमा व्यक्त विचारहरुले विश्वभरिका मजदुर तथा श्रमजीवी वर्गको हित कसरी हुन सक्दछ भन्ने कुराको वैज्ञानिक आधार तय गरेको थियो र वर्गीय शोषण उत्पीडनबाट मुक्त हुने उपाय तथा न्यायपूर्ण समाजकोे निर्माण गर्ने वैज्ञानिक नियमहरुको व्याख्या भयो।

मार्क्सवादी दर्शनभन्दा अगाडिका दर्शनले संसारको व्याख्या गरेका थिए। तर मार्क्सवादले समाज विकासको वैज्ञानिक व्याख्या मात्र होइन, समाजमा उन्नतस्तरको परिवर्तन पनि गर्न सकिन्छ भन्ने संश्लेषण गरेको थियो। मार्क्सले भन्नुभएको थियो “संसारको व्याख्या त सबैले गरेका छन्। मुख्य गाँठी कुरा त यसलाई बदल्नु हो।’’ त्यसैले मार्क्सवाद आम रुपमा जीवन र जगतलाई चिन्ने र त्यसको परिवर्तनको नियमलाई बुझाउने क्रान्तिकारी दर्शन हो। यसले शोषण, दमन, अन्याय, अत्याचार, विभेद आदि विकृतिपूर्ण सामाजिक व्यवस्थालाई बदली सुखी सुन्दर उन्नतस्तरको सामाजिक व्यवस्थाको सिर्जना गर्न कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा महत्वपूर्ण विचार प्रस्तुत गर्दछ। मार्क्सवादको व्याख्या गर्दै लेनिनले भन्नुभएको छ, “मार्क्सवादी दर्शन व्यवस्थित भौतिकवादी दर्र्शन हो, यसले समाजलाई खासगरी श्रमजिवी वर्गलाई ज्ञानको सक्रिय औजार प्रदान गरेको छ।”

मार्क्सवादी दर्शनका पूर्वाधार

मार्क्सवाद एकाएक आविस्कार भएको होइन। मार्क्सवादको विकासमा त्यसअघिका सामाजिक विकासका महत्वपूर्ण चिन्तन र क्रान्तिको योगदान रहेको छ। समाज विकाससम्बन्धी यसअघिका विचारहरुको गहन विश्लेषण गरी यसको विकास भएको हो। उन्नाइसौं शताव्दीमा अधिकतम विकास भएका तीन देशहरुमा भएका विचारहरु यसका प्रमुख आधारहरु हुन्।

(क) जर्मनशास्त्रीय दर्शन – तत्कालीन युरोपमा ब्रिटेनमा भएको औद्योगिक क्रान्ति र फ्रान्सेली राज्यक्रान्तिका अनुभवहरुले दर्शनको क्षेत्रमा नयाँ चिन्तनहरु विकास भएको थियो। यसमा मुख्य रुपमा जर्मनशास्त्रीय दर्शनका रुपमा हेगेलको द्वन्दवाद र फायरवाखको भौतिकवाद प्रमुख थिए। ती सिद्धान्त अलगअलग विकास गरिएकोले आपसी सम्वन्धको व्याख्या भएको थिएन। त्यसैले हेगेल द्वन्दवादी थिए। तर भौतिकवादी थिएनन्। मार्क्स र एंगेल्सले द्वन्दवादलाई भौतिकवादसँग मिलाएर सैद्धान्तिक रुपमा टाउकोले टेकेर उल्टो अवस्थामा रहेको विचारलाई खुट्टाले टेकेर उभिन सक्ने सुल्टो अवस्थामा पुर्याउँदै त्यसमा भएका कमिकमजोरीलाई समेत सच्याएर द्वन्दात्मक भौतिकवादको नयाँ विचार दिनुभएको थियो।

(ख) बेलायती राजनीतिक अर्थशास्त्र – बेलायतमा औद्योगिक पुँजीको तीव्र विकास हुनुका साथै पुँजीपति र मजदुर वर्गका बिच वर्गसंंघर्ष तीव्र हुँदै थियो। संघर्षको प्रारम्भिक चरणमा बेलायतमा मजदुरहरुले मुक्तिका लागि मेसिन तोड आन्दोलन शुरु गरेका थिए। सन् १८३२ बाट चार्टिष्ट आन्दोनको रुपमा सामाजिक आन्दोलन शुरु भयो। औद्योगिक क्रान्ति र मजदुर आन्दालनको बिचमा अर्थशास्त्रको क्षेत्रमा डेविड रिकार्डाे र एडम स्मिथले श्रमको मूल्य सिद्धान्तको नयाँ मौलिक विचार अगाडि सारेका थिए। मार्क्स तथा एंगेल्सले यस विचारमा टेकेर यसमा रहेका केही कमजोरीहरु हटाएर अर्थशास्त्रमा नयाँ सिद्धान्तको प्रतिपादन गर्नुभयो। यसमा उहाँहरुले कुनै पनि वस्तु उत्पादन गर्दा सामाजिक हिसाबले आवश्यक पर्ने श्रम समयको आधारमा त्यस वस्तुको मूल्य निर्धारण हुन्छ भनेर पुष्टि गर्नुभयो। यस क्रममा उहाँहरुले अतिरिक्त मूल्यको सिद्धान्तको प्रतिपादन गरी पुँजीपति वर्गले उत्पादनको क्रममा श्रममार्फत् सिर्जना हुने अतिरिक्त श्रम र त्यसमार्फत् सिर्जना हुने अतिरिक्त मुल्य नै पुँजीवादी शोषणको मुख्य आधार हो भन्ने कुरा स्पष्ट गर्नुभयो।

(ग) फ्रान्सेली काल्पनिक समाजवाद – सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिलाई पहिलो राज्यक्रान्ति मानिन्छ। त्यो क्रान्तिको उपलब्धीहरु तत्काका निमित्त उत्पीडित मजदुर किसान वर्गको पक्षमा जान सकेनन्। तथापि त्यो क्रान्ति त्यहाँको वर्गसंघर्षको सशक्त नमुना बन्न पुग्यो, जसले रोवोर्ट ओविन तथा चाल्र्स् फौरियरजस्ता महान समाजवादी विचारकहरुलाई जन्म दियो। उहाँहरुले मुलतः सामाजवादी समाजको निमित्त सहकारी भावनायुक्त आदर्श मानिसहरु आपसमा रहन सक्छन् र त्यस्तो समाजको निर्माण आपसी सुसम्वन्धबाट कसरी स्थापना गर्न सकिन्छ भन्ने धारणा राखेका थिए। यसले एक प्रकारको काल्पनिक समाजवादी समाजको स्थापनालाई प्रोत्साहन गर्न मद्धत गर्‍यो। मार्क्स र एंगेल्सले त्यो काल्पनिक समाजवादी चिन्तनहरुको गहन व्याख्या विश्लेषण गरी त्यसमा रहेका कमजोरीहरुलाई हटाएर वैज्ञानिकता प्रदान गर्नुभयो।

मार्क्सवादका तीन संघटक अङ्ग

मार्क्सवादका तीन संघटकहरु रहेका छन्। संघटक भन्नाले तत्वहरुलाई बुझाउँछ, जसको संयोजनबाट मिश्रण बन्दछ। जस्तै पानी बन्नका लागि हाइड्रोजनको दुई वटा अणु र अक्सिजनको एक भाग अणुको संयोजन।

(क) मार्क्सवादी दर्शन – सामाजिक दर्शन मुलतः दुई प्रकारका हुन्छन्। अध्यात्मवाद र भौतिकवाद। संसारको उत्पत्ति र विनास कुनै अदृश्य परमशक्तिबाट निर्देशित भएकोले जीवन र जगत त्यसैबाट परिचालित रहेको हुन्छ भन्ने मान्यताको आधारमा पदार्थ र आत्मा अजर अमर रहेको हुन्छ, परिवर्तन गर्न सकिँदैन भन्ने दर्शनलाई अध्यात्मवाद भनिन्छ। त्यसको विपरित भौतिक वस्तुमा आउने नियमित परिवर्तनले त्यसको उत्पति, विकास र विनाश हुन्छ, त्यो आफै आन्तरिक कारणले हुन्छ र बुझने कोशिस गर्दै जाने हो भने संसारलाई बुझ्न सकिन्छ भन्ने चिन्तनलाई भौतिकवाद भनिन्छ। भौतिकवादले संसारलाई बुझ्ने र व्याख्या गर्ने गर्दछ। यही व्याख्याको आधारमा संसारलाई सोचअनुसार बदल्न पनि सकिन्छ भन्ने चिन्तन अर्थात् संसारलाई बुझ्ने, व्यख्या गर्ने अनि परिवर्तन गर्ने चिन्तनलाई मार्क्सवाद भनिन्छ।

(ख) मार्क्सवादी राजनीतिक अर्थशास्त्र – राजनीतिक अर्थशास्त्रले मुलतः श्रम, उत्पादन, उपभोग, मूल्य, वितरण आदि विषयवस्तुको अध्ययन विश्लेषण गर्ने गर्दछ। मार्क्सवादी राजनीतिक अर्थशास्त्रले उत्पादन शक्ति, उत्पादन सम्बन्ध तथा आधार र उपरिसंरचनाको अध्ययन गर्ने गर्दछ। उत्पादनमा मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्त मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मूल विषयवस्तुहरु हुन्।

(ग) वैज्ञानिक समाजवाद – आर्थिक रुपले समाजमा वर्ग हुने गर्दछ। अभिजात वर्गले इतिहासमा बल प्रयोगबाट शक्ति साधन स्रोत आफ्नो हातमा राखी शासन गरिरहेको हुन्छ। श्रमजीवी वर्गका शासनका लागि सर्वहारा वर्गको अधिनायकत्व र अन्तमा वर्ग विलोपिकरणको सिद्धान्त वैज्ञानिक समाजवादका विषयवस्तुहरु हुन्।

मार्क्सवाद विकासका चरणहरु

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित मार्क्सवादी दर्शन सर्वहारा वर्गको विश्व दृष्टिकोण हो। उन्नाइसौं शताव्दीमा जन्म भएको मार्क्सवाद व्यवहारिक प्रयोगको सन्दर्भमा क्रमशः विकास पनि हुँदै आएको छ। यसका तीन प्रमुख चरणहरु देहायअनुसार रहेका छन्।

(क) मार्क्सवादी चरण – कार्ल मार्क्सको जन्म ५ मे १८१८ मा जर्मनको प्रसाको राइन प्रदेशअन्तर्गत त्रियर नगरमा भएको थियो। उहाँको देहवसान १४ मार्च १८८४ मा भएको थियो। मार्क्सका सहयोद्धा फ्रेडरिक एंगेल्सको जन्म २८ नोभेम्वर १८२० मा जर्मनकै बार्मेन नामक औद्योगिक सहरमा भएको थियो भने उहाँको मृत्यु ५ अगष्ट १८९५ मा बेलायतको लण्डन सहरमा भएको थियो। उहाँहरु दुवैको संयुक्त प्रयासमा मार्क्सवादको विकास गरिएको थियो।

मार्क्स एंगेल्स दुवै मिलेर सन १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको थियो। उहाँहरुकै प्रयासमा सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रिय स्थापना भएको थियो। मार्क्सको निधनपछि सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रिय गठन भएको थियो। सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र तयार भएपछि जर्मन लगायत युरोपका विभिन्न देशहरुमा कम्युनिस्ट पार्टीहरुको व्यापक विकास तथा विस्तार भएको थियो।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद आदि मार्क्सवादका आधारभूत मान्यताहरु हुन्।

(ख) लेनिनवादी चरण – भ्यादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको सिम्ब्रिक्समा भएको थियो। सन् १९२४ मा उनको मृत्यु भएको थियो। रुसी क्रान्तिमा लेनिनले गरेको मार्क्सवादको गुणात्मक प्रयोगलाई लेनिनवाद भनिन्छ। पुँजीवादले साम्राज्यवादको चरणमा प्रवेश गरेको अवस्थामा उत्पादन शक्ति, सर्र्वहारा आन्दोलन तथा ज्ञान विज्ञानको क्षेत्रमा तथा सांगठनिक पद्धति आदिमा थप थप वैचारिक आधारहरु लेनिनले दिनुभएको थियो। उहाँको विचारबाट साम्राज्यवाद तथा आधुनिक संशोधनवादसँग लडेर मार्क्सवादी दर्शनको रक्षा, विकास तथा प्रयोग सफलतापूर्वक भएको थियो। उनले एउटा कुनै देशमा पनि समाजवादको विजय हुन सक्छ भन्ने विचार अघि सार्नुभएको थियो र रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवादको सफल प्रयोग गर्नुभएको थियो।

(ग) माओवादी चरण – माओेको जन्म सन् १८९३ मा चीनको हुनान प्र्रान्तको स्याङताङ जिल्लाको शाओसन गाउँमा भएको थियो र मुत्यु १९७६ मा। उहाँले सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो।

मार्क्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो तथा नयाँ चरण माओवाद हो। सामन्तवाद र साम्राज्यवादको दोहारो शोषण, उत्पीडनबाट आक्रान्त अविकसित देशहरुमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने सिद्धान्त माओले विकास गर्नुभएको थियो। उहाँले चीनमा दीर्घकालीन युद्धद्वारा पुँजीवादी क्रान्ति नभई नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो। आधुनिक संशोधनवादविरुद्धको लडाइँलाई परास्त गर्दै मार्क्सवाद लेनिनवादलाई तेस्रो र नयाँ गुणात्मक उचाइमा पुर्याउनुभयो। नयाँ जनवादी क्रान्तिको सिद्धान्त तथा अन्तरविरोधको नियम र ज्ञान सिद्धान्तकोे क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्