दृष्टिकोण प्रभाव र जीवन प्रवृत्ति

Bisheswor Kattel
  • 225
    Shares
विश्वेश्वर कट्टेल

कुनै पनि वस्तु वा घटनामाथि परेको प्रभावको अभिव्यक्तिनै दृष्टिकोण हो। ‘दृष्टि’ भनेको आफ्नो आँखा परेको वस्तु र ‘कोण’ आफ्नो अवस्थिति र वस्तु बिचको प्रत्यक्षीकरण हो। आफू रहेको स्थान वा भाव भूमिबाट देखिएको वस्तुका बारे मानिसले जुन अनुभूति प्रकट गर्दछ, त्यो उसको दृष्टिकोण हो।

अतः दृष्टि र कोणको संयोजनबाट पैदा हुने कलालाई नै दृष्टिकोण भनिन्छ। विभिन्न भाव भूमिबाट आएका व्यक्तिहरूले एउटै कुरालाई एकै स्थानबाट पनि बेग्ला बेग्लै किसिमले अभिव्यक्त गर्न सक्दछन्। फरक- फरक अभिव्यक्ति भयो भन्दैमा वस्तु त फरक हुँदैन। मात्र व्यक्तिका कोण(पाटा र पक्ष)को भोगाई, हेराई र सोचाईका तरिका फरक हुन्छ। व्यक्तिका अफ्नो कोणबाट प्राप्त अनुभूतिजन्य अभिव्यक्तिनै दृष्टिकोण हो।

प्रभाव र दृष्टिकोण

मानिस जन्मिदाको अवस्थादेखि नै ऊ भित्र संवेदनहरू पैदा भइसकेका हुन्छ। वस्तुगत परिवेस वा वातावरणको प्रभाव ऊ माथिपर्न शुरु हुन्छ। हुनत, वैज्ञानिकहरुले एउटा बच्चा आमाको गर्भमा रहदा देखि नै ऊ वातावरणबाट प्रभावित हुन्छ भनेर पुष्टि गर्दै छन्। हामीले खोजेको कुरा के हो भने, सामान्यतः थाहा पाउनै नसकिने त्यस्ता अदृश्य प्रभावहरूले शिशुको अन्तर चेतनामा जस्तो खालका प्रभाव पार्दछन्, त्यहीँबाट दृष्टिकोणको जग शुरु हुन्छ।

कुनै चिज, वस्तु वा घटनालाई हेर्दा, बयान सुन्दा, घटना विवरणको अध्ययन वा अवलोकन गर्दा मानिसले प्राप्त गर्ने अनुभूतिजन्य ज्ञानबाट दृष्टिकोण निर्माण हुन्छ। सामाजिक, सांस्कृतिक र अन्य आन्तरिक तथा बाह्य वातावरणले बालमनस्थिति भित्रका संवेदनशील तन्तुहरू प्रभावित हुन पुग्दछन्। जब उसमा चेतनाको विकास हुँदै जान्छ, त्यस बेला सम्म ती प्रभावहरु नै उसको आदत र बानी ब्यहोरा बनेर देखा पर्दछन्।

स्वयंलाई बदल्न

जन्मिएको एक बालकले जन्मिए देखि देख्दै, भोग्दै, सुन्दै र व्यहोर्दै आएको व्यवहारले ऊ भित्र प्रत्यक्ष छाप पारेको हुन्छ। त्यही छापको प्रतिविम्ब हो दृष्टिकोण। यसर्थ दृष्टिकोण निर्माणका लागि वातावरण नै प्रधान हुन्छ। वातावरण मानिस रहेको आफ्नो पेरिफेरी(वरपर)को समग्र पक्ष हो। जसले वस्तुगत परिवेशको बोध गराइरहेको हुन्छ। मानिस स्वयम् वस्तुगत वातावरणविरुद्ध जान सक्दैन, न त विकल्प खोज्न सक्छ। समाज र संस्कारले मानिसको मूल मर्ममा नै विक्रत तुल्याएको हुन्छ। त्यसैले त भनिएको हो नि ! दृष्टिकोण बदल्नुभन्दा पहिला वातावरण बदल्न आवश्यक छ। वातावरण बदल्नका लागि पहिला व्यक्ति स्वयम् आफूमा बदलाव ल्याउन जरुरी हुन्छ।

कलामा दर्शन

प्रकृतिका हरेक कला र चालाभित्र कुनै न कुनै दर्शन छिपेको हुन्छ। तिनीहरू कुनै न कुनै नियम र पद्धतिमा आबद्ध रहेका हुन्छन्। ज्ञानको अनुभूतिबाट ती कुराहरू थाहा पाउन सकिन्छ। ज्ञान कतिपय व्यवहारबाट त कतिपय खोज अनुसन्धान र अध्ययनबाट प्राप्त हुन्छ। प्रकृति, मानिस, समाज र तिनीहरूका चिन्तनहरूको चाल र चालक बुझ्ने चेतना(ज्ञान) नै दर्शन हो। दर्शन बुभ्ने प्रतिकात्मकता साधन सोच हो र सोचको रूप नै दृष्टिकोण हो। मानिसको दृष्टिकोणले बोध गरेको ज्ञान उसको दर्शन हो। त्यसैले दर्शन कुनै न कुनै दृष्टिकोणमा आधारित भएकै हुन्छ।

संस्कृति नै जड् चेतन

चेतनाको प्रभाव यति बलियो हुन्छ कि, जसले आदर्शको विसर्जन गरिदिन्छ। चेतनाले सोचको जन्म दिन्छ र त्यो सोचबाट नै दृष्टिकोण निर्धारण हुन पुग्दछ। दृष्टिकोण र बाल्यकाल–वातावरणको सम्बन्ध पनि यति मजबुत हुन्छ कि, मानिसले जति ज्ञान आर्जन गरे पनि, जति प्रगति र विज्ञान जगतका कुरा गरे पनि, द्वन्द्वात्मक भौतिकवादको आदर्श छाँटे पनि, यसका बारेमा ठेलीका ठेली पुस्तक लेखे पनि, जब उसले अवसर पाउँछ, पद वा शक्तिमा पुग्दछ तब उसले जीवनमा आर्जन गरेका सबै आदर्शमय सोच, ज्ञान, सिद्धान्त, विचार र दर्शन आफसेआफ टाढा रहन पुग्छ।अनुकूलता प्राप्त हुनासाथ उनीहरूमाथि परेको पहिलो चेतनाको प्रभाव वा आफू हुर्केको वातावरणले पारेको प्रभावको पछि लाग्न पुग्छन्। वास्तविक प्रकृति यही हो। जीवनको पहिलो चेतनाको छाप उसको रगतमा जिन(श्क्ष्ल्)को रूपमा घुलिए जस्तै हुन्छ। किनकि संस्कार र संस्कृति भन्ने कुरा बलियो जड्–चेतनमा अडिएको हुन्छ। जड्–चेतन कै कारणा ध्वंस पछि मात्र विकास भन्न परेको हो।

अवसरको भोक

मानिस अवसरको भोको जनावर हो। अवसर नपाउँदा मात्र हो, दर्शनको गुड्डी हाँक्ने। सिद्धान्तका कुरा गर्ने। भावना वा आदर्शले जीवन चल्ने हैन। वस्तुगत यथार्थले जीवन चल्ने हो। यथार्थ भनेको प्रकृति र उसको नियमपद्धति मात्र हो। आफूलाई बदल्ने कुरा जटिल छ। ‘आफूलाई बदल्न चाहनेले पहिला आफैलाई आगो झोस्न तयार हुन पर्दछ’ भन्ने उक्ति समाजमा त्यसै आएको छैन। नत्र समाज बदल्ने कुरा उसको मनको लड्डु बाहेक केही हुँदैन।

मानिस बदलिन चाहने हो भने पहिला आफू नजिकका वातावरण बदल्न पर्दछ। व्यक्तिले स्वयम् आफू नबदलीकन वातावरण बदल्न सक्दैन। आफू बदलिएपछि मात्र सत्यको मार्ग समाउन सक्दछ। प्रगतिशील सोच चिन्तन जन्म सक्छ। विकल्पका खोजहरू शुरु हुन थाल्छन्। न्यायपूर्ण दृष्टिकोण र विचारहरू पैदा हुन पुग्दछन्। जीवन दर्शन, सिद्धान्त, नीति, कार्यक्रम र कार्य–व्यवहारहरू वस्तुवादी, व्यवहारवादी, यथार्थपरक र वैज्ञानिक बन्न पुग्दछन् । किनकि, भित्र पुरातन सोचको अग्नि भट्टी जलाएर बाहिर शीतलताको राग अलाप्ने परिवर्तनको सोच, चिन्तन र विधिबाट परिवर्तन सम्भव हुँदैन ।

वस्तुगत यथार्थता

आजका कम्युनिष्टका आदर्श होली वाइनको अक्सेमा किन रमाउन पुग्दछन् ? एक पेटको सपना देखेर, एक धरो कपडा र एक छतको आशा गरेर आन्दोलनमा होमिएकाहरू कोही आज सडक पेटीमै फर्किरएका छन् त केही किन रातारात आसमान छुन पुगेका छन्। अवसर पाउनासाथ एउटा कम्युनिस्ट योद्धा भएका नेता पुराणको उद्घाटन गर्न पुग्छन्, कोहीपुराणको आयोजना गर्दछन् ? कहाँबाट पैदा भयो यस्तो ज्ञान। सान, मान र अभिमान ? किन जाग्दछ ! किन ? विश्वास नै हुँदैन आफ्नो वर्तमान प्रति र अडान राख्न सक्दैनन् वस्तुगत सत्य प्रति।

जब अवसर प्राप्त हुन्छ, ऊ भित्र क्रान्तिको उद्देश्य र लक्षका धारहरू परिवर्तन हुन थाल्दछन्। पीडितहरू दबिन्छन्, अपराधी र अवसरवादीहरू रमाउन पुग्छन्। क्रान्ति पद र शक्ति हत्याउन गरिएको अनुभूत हुन पुग्छ। प्राप्त पद र शक्ति त अत्यधिक श्रमजीवी, सर्वहारा, किसान, गरिब, निमुखा, विपन्न र क्रान्तिका पक्षधर जनताको हितमा सदुपयोग गर्दै समाजवादमा पुग्न गरिएको क्रान्ति हो,हाम्रो क्रन्ति। क्रान्तिका योद्धाहरू अलमल्लमा परेको हुन्छन्। जित्छ, जनताको नीति र कार्यक्रमले तर शासन गर्दछ पुरानो भन्दा पनि खुङ्खार साम्राज्यवादी, सामन्ती शैलीले । यही हो आजको वस्तुगत यथार्थता।

अवसरको सदुपयोग

किन भएको छैन क्रान्तिले प्रदान गरेको शक्ति र अवसरको सदुपयोग ? अवसर पाउनासाथ किन उठ्दैन वैज्ञानिक साम्यवादको लक्ष र समाजवाद प्राप्त गर्ने कार्यक्रम र कार्यनीतिहरू ! अनि तौरतरिका। किन आउँदैन क्रान्तिका योद्धाहरूलाई जगाउँदै, समाजवादी कार्यक्रम। भोक रोग र शोक विरुद्ध लड्ने योजना। गरिबी, विपन्नता र पछौटेपनबाट मुक्त पार्ने कार्यक्रमहरू। उत्साह र योजनाहरू। अवसर पाउनासाथ जीवनका मूल्य र मान्यता किन भुल्न पुग्छन् ? सत्यका झन्डा उठाउनेहरू ! समानताको बिगुल फुक्नेहरू ! आश्चर्य लाग्छ र प्रश्न गर्न मन लाग्छ।

उठ्न नसकेको चेतना

मानवलाई विकृत तुल्याउने मूल जरा भनेको जाग्न नसकेको चेतना नै हो। दृष्टिकोणकै भ्रष्टिकरण हो। भ्रष्ट सोचले व्यक्तिलाई उन्नत चेतनाबाट विमुख गराउँछ। मानिस अझै उन्नत चेतनाबाट लैस हुन सकिरहेकै छैन। रुग्णंपूँजीवादी चिन्तनबाट माथि उत्रन सकेकै छैन। अर्को पक्ष, अवसर प्राप्तिको मोह यति पेचिलो हुन्छ कि, मानिसले सोच्छ कि, यो मेरो सक्षमताका लागि प्राप्त अवसर हो। ऊ कुनै पनि हालतमा यो अवसर नगुमाउने योजनाको खोजीमा हुन्छ। सामन्ती हुँडार र व्याँसाहरूले यो मनोविज्ञान बुझ्छन् र अधि पछि लर्को लाग्न थाल्दछन्। विस्तार विस्तार व्यक्तिले आफू भुल्छ र आफैलाई परिवर्तनको एक मात्र ठेकेदार ठान्न पुग्दछ।

क्रान्ति आवश्यक छैन

ऊ भित्र यस्तो लहर मडारिन्छ कि, अब क्रान्ति आवश्यक छैन। क्रान्ति कसका लागि गर्ने ? भुल्न पुग्दछन् उनीहरू, जमिनका नमिन(नुनको ऋण) हरू। क्रान्ति त आवश्यकता पूर्तिका लागि गरिने हो। जसले अवसर पायो उसले सबै आवश्यकता प्राप्त गर्यो। सामाजिक हैसियत बढेपछि, रहनसहन वातावरण परिवर्तन भए पछि, अरूलाई परिवर्तन गर्ने सपना सजाउनेहरू अरूको सपनामा रमाउन थाले । आफ्नो सपना साकारपार्न गरेका बलिदान, त्याग र तपस्याको मूल्य बिर्से ! क्रान्तिले सजाएको सपना के थियो ? त्यो पूरा गर्न अबको क्रान्तिको धार कता मोडिन आवश्यक छ ? ती सबै भुल्यो। बिर्सियो। अब त भाषा बदलिन थालेको छ। परिभाषा बदलिन थालेको छ। यथास्थिति कायम राखी आफ्नो सत्ता टिकाउने पो सपना सजाएको छ। विश्वास लाग्दैन आफ्ना साथीहरू प्रति। यिनै प्रवृत्तिगत घातप्रतिघातले गर्दा विश्व कम्युनिष्ट आन्दोलन दिन प्रतिदिन कमजोर बन्दै छ।

दृष्टिकोण खाँचो

कमजोरीको दोष कसलाई ? दृष्टिकोण नै हो, यसको दोषी। क्रान्तिका मूल्यमान्यता भूल्ने कुरा आम प्रवृत्ति नै बनेको छ। क्रान्तिको लक्षा पुरा गर्न अगाडि बढेको योद्धा नीहित स्वार्थका लागि आफूलाई बदल्न तयार छ। लक्षा भुल्नु प्रवृत्तिगत कुरा हो भनी बस्नु हुँदैन। यो गतिको विरुद्ध हुन्छ। सङ्घर्षका हरेक पल सत्य, न्याय र समानताको लागि जारी रहनै पर्छ। आजको समयको भरपुर उपयोग गर्नसकेमात्र समृद्ध मानव समाज निर्माण हुन जान्छ। आजको समय क्रान्तिको बहुमुल्य समय हो। वैज्ञानिक समाजवादको यात्राको समय, वैज्ञानिक साम्यवादमा पुग्नका लागि हामीमा लक्ष्यमा पुग्न र सजाउन सही दृष्टिकोणखाँचो छ।

प्रवृत्ति विरुद्ध संघर्ष

मानिसको प्राकृतिक स्वभाव स्वार्थी नै हो। मात्र उसले आफ्ना आवश्यकता पूरा गर्न, आफूलाई समाजमा स्थापित गर्न मात्र सामाजिकीकरण बन्न सिक्यो, जान्यो। यसमा प्रवृत्तिगत कुराको उठान गर्ने खोजिएको हो। प्रसङ्गवश यो नेपाल वा अन्य देशमा पनि मिल्न सक्ला। किनकि प्रवृत्ति एक आम पक्ष हो। प्रवृत्ति विरुद्धको संघर्ष अबको क्रान्तिको मूल पक्ष हुनु पर्दछ। यो भनेको आफै विरुद्ध आफैले गर्ने संघर्ष हो।

किनकि, झण्डै दुई तिहाइ कम्युनिष्टको सरकार नेपालमा आएर पनि नेपाली जनताले कम्युनिस्ट के हो भन्ने अनुभूत गर्न पाएनन् भने, हिजो जुन मान्यता बोकेर समाजवादको सपना देखेर क्रान्तिमा होमिएकाहरू सपना तुहिएको अनुभूत गर्न बाध्य हुनेछन्। शहीदहरूका सपना निरर्थक सावित हुनेछन्। कम्युनिष्ट आन्दोलन निराश धरातल टेकेर आशामुखी बनेर बस्न बाध्य हुनेछ। अबको क्रान्ति प्रवृत्तिले नै उत्पादन गरेको विकृति विरुद्धको लडाइ पनि हो। हामी आशावादी बन्नै पर्छ। गतल प्रवृत्ति चिर्दै सङ्घर्षमा अघि बढ्नै पर्छ।

सोच र चिन्तन

सत्ता जब व्यक्तिगत घमन्ड, इगो साँध्ने साधन र व्यक्तिगत हिरो पन्थीको सोचका लागि प्रयोग हुन पुग्दछ, त्यहाँ मानवीय संवेदनाहरू मृत हुन पुग्दछन्। मानवीय संवेदना विना कम्युनिष्ट भन्न सकिएला तर बन्न सकिँदैन। संवेदना नै संवेदनाले भरिएको प्राणी हो कम्युनिष्ट। ऊ एउटा पीडाको भुङ्ग्रोबाट गुज्रिएर आएको हुन्छ। एउटा कम्युनिष्टले एक पेट खाँदै गर्दा, एक पेट खान नपाउनेको दर्द सम्झन सक्ने भावनाको विकासबाट मात्र क्रान्तिकारी कम्युनिस्टको जन्म हुन्छ।

कम्युनिष्ट भनेको सत्यको मार्ग पहिल्याएर त्यसका लागि सिक्दै संघर्ष गर्दै उपलब्धि लिँदै पुनः सिक्दै संघर्ष गर्दै अनवरत प्रगतिपथमा लम्की रहने एउटा जोदाह योद्धा हो। अनन्त योद्धाहरूको निरन्तरताको रूपमा ऊ समय प्रतिनिधि हो। सत्यको खोजीमा होमिएको योद्धा। ऊ मिटिएला तर उसको आन्दोलन मेटिदैन। ऊ रोकिएला तर उसको आन्दोलन रोकिदैन। ऊ एउटा कम्युनिस्ट हो, किनकि, ऊ सत्यको संवाहक हो।

मुक्तिको सपना

एउटा कम्युनिष्टले त्यो भोक बेहोरेको छ। अपमान सहेको छ। अत्याचार भोगेको छ। उसको सर्वस्व लुटिएको छ। यस्ता लाखौँलाख मानिसको मुक्तिको सपना एउटा कम्युनिस्टको मनले साधै देखेको हुन्छ। हिजो त्यही समाजमा रहेर त्यहाँ भएका अन्याय, अत्याचार हरेक पीडा, छटपटी व्यहोरेको छ। त्यसका विरुद्ध ऊसँग लड्नेहरू कति त शाहादात प्राप्त गरेका छन्।

उसले एउटा फड्को काटेर आएको छ। त्यो समाजमा रहेर उसले आफ्नो आँसु र पसिना साटेको छ। मुटु भक्कानिएर रोएको छ कयौं पटक। कहाली लाग्दा कथा र व्यथा भोगेको छ, उसले बुझ्दछ, कम्युनिस्ट हुनुको मर्म। यो कुरा देखावटी बनावटी रूपमा हैन, जागरणको रूपमा जल्दो आगोको रूपमा जाग्नु पर्छ, बल्नु पर्दछ। र, उसले मुक्तिको सपना सजाउनै पर्छ। किनकी क्रान्ति प्रतित्क्रान्ति विरूद्रध निर्णायक सङघर्षको जटिल मोडमा उभिएको छ।

हुटहुटी जाग्नु

कम्युनिष्ट हुनुको मनभित्र एउटा हुटहुटी जाग्नु पर्दछ। एउटा दियो बलिरहनु पर्दछ। जस्तै आपद् विपद्मा पनि तेल थपिरहन सक्नु पर्दछ। बालककालमा बाबुआमाका काख नछाड्ने। जमिन नटेक्ने। समाज भन्दा बेग्लै बसेर अवसर देखेर कम्युनिस्ट बन्ने, फेसनको रूपमा कम्युनिस्ट बन्नेहरू, ठेक्का पाइने लोभमा, ठुला पद पाइने लोभमा कम्युनिस्ट बन्ने प्रवृत्ति, सत्तामा पुगेपछि कम्युनिस्टको नाममा जमेका पाइन्छन्। यी प्रवृत्ति विरुद्धको कुशल लडाई लड्ने क्षमता विकास गर्न सकिएन भने यो कठिन संक्रमणकालबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउन सक्ने देखिँदैन।

क्रान्ति रोमाञ्चक

हामीले के पनि बुझ्न जरुरी छ भने– क्रान्ति, पक्ष र प्रतिपक्ष (परस्पर विरोधी पक्ष)हरू बिच होस्, त्यसमा भाग लिनु आज फरक छ। कि मारिन्छ, कि मरिन्छ। कि जितिन्छ, कि हारिन्छ। जे गरिन्छ आफूप्रति विश्वस्त भएर गरिन्छ। त्यो एउटा चातुर्यपूर्वक खेल्ने खेल हो। त्यसमा पाइने रोमाञ्चकता (जोश) बेग्लै हुन्छ। ठूलो क्षति हुन्छ। मानवीय क्षति। अन्य भौतिक क्षति। सामाजिक लक्ष बोकेको, सत्यको पक्षपाती, मानव मात्रको हित र समुन्नतिको लक्ष र उद्देश्य बोकेको। आदर्शले ओतप्रोत भएको। संघर्ष र प्राप्त उपलब्धिको संस्थागत विकासका लागि खट्नु र लड्नुनै एक मात्र व्यवहार बनेको।

युद्ध, क्रान्तिको जिम्मेवारी, वारपारको जिम्मेवारी। दुष्मन प्रत्यक्ष देखिने। सुझबुझ पु¥याउन सकियो भने लुकेको पनि थाहा लाग्ने। आफूमाथि कसले आक्रमण गर्दै छ ! कुन दिशाबाट आक्रमण गर्न सक्छ ? विरोधीको शक्ति कति सम्म होला ? कस्ता हतियार होला ? आफ्नो र उसको शक्तिको तुलना गरेर, वस्तुगत भूगोल र परिवेशको अध्ययन गरेर, योजना बनाउन सकिन्छ । म कति जोखिम क्षेत्रमा छु। कसरी बच्ने र आफ्नो जिम्मेवारी पूरा गर्ने जस्ता कुरा योजनाबद्ध र सुझबुझ पूर्वक परिचालन गर्न र प्रयोग गर्न सकिन्छ। यसको आफ्नै मौलिकता हुन्छ। आफ्नै रणनीति र कार्यनीति हुन्छ।

फरक प्रकृतिको खेल

खुला क्षेत्रको जिम्मेवारीमा फरक खेल शुरु हुन्छ। त्यसमा पनि संसदीय मोर्चा। यो फरक प्रकृतिको कष्टकर खेल हो। यसमा खेल खेल्न नजानेर जिम्मा पाएका खेलाडीले क्रान्तिको लक्ष तहसनहस पार्न सक्दछन्। यो यस्तो अवसर पनि हो जहाँ हाता हाति पनि चल्छ। आजको आजै, भोलिको भोलिनै जीवनशैली र सुख सुविधामा आमूल परिवर्तन हुने।

एकाएक हरेक सुविधा प्रप्त हुन्छ। क्रान्तको जिम्मा लिएकालाई नै लाग्न थाल्छ कि, हामीले खोजेको प्राप्ति यही हो। उसले भुल्न पुग्छ कि, यो पनि क्रान्तिको मोर्चा हो। यहाँ मेरो क्रान्तिका दुष्मनहरू कहिले परिवारका रूपमा, कहिले नातागोताका रूपमा, कहिले भाइ बन्धुका रूपमा त कहिले साथी सहयोगीका रूपमा म माथि ममतामयी आक्रमण गरिरहेका छन्। कुनै पनि बेला जस्तो सुकै पक्षले पनि मलाई आक्रमण गर्न सक्छ।

मैले हरेक काम होसियारीका साथ गर्नु पर्दछ। मेरो पक्ष र मेरो लक्ष हेपिएको छ, थिचिएको छ, कमजोर तुल्याइएको छ, तिनीहरूको संरक्षकको जिम्मा मैले लिनु पर्दछ। उनीहरूलाई अझ सङ्गठित सृजनशील बनाएर शक्ति र तगत भरेर मेरा साथीहरूले छाडेको जिम्मा पुरा गर्नु छ। आन्दोलनलाई निश्चित लक्षमा पुर्या्उन म हरदम तयार रहनु पर्दछ। जुन लक्ष्यका लागि संघर्ष गरिएको छ, त्याग र बलिदान गरिएको छ, सो प्राप्तिको यो अन्तिम युद्ध अति पेचिलो र संवेदनशील छ। यसमा मेरो भूमिका उच्च हुन पर्दछ भन्ने भावनाका साथ काम गर्नु पर्दछ।

दुष्मनको जाल

असहज वातावरणमा दुष्मनका जालहरू झन् सङ्गिन हुन्छन्। सामूहिक नेतृत्व र संस्थागत निर्णयको आधारमा अगाडि बढ्नु नै लक्ष्यको झन्डालाई निर्णायक मोडतर्फ फहराउन हो भन्ने सोच, होस् र त्याग लिन सक्नु पर्छ। हाम्रा दुष्मनहरू इज्यत दिएर मान-मर्यदा दिएर आफ्ना स्वार्थसिद्धगर्न साम दाम र दण्डको नीति पनि अख्तियार गर्न सक्छन्।

यिनीहरूका चाल र जाललाइ चिन्नु पर्दछ र यसबाट कुशलता पूर्वक बच्नु पर्दछ। यिनीहरू अनेक षड्यन्त्रका तानाबाना बुनेर विभिन्न तरिकाबाट जाल फिँजाइ सफलताको शिखर चढिरहेको क्रान्तिलाई धुलो चटाउन उद्धत छन् भन्ने सोच राखेर सावधानी पूर्वक र निर्धक्कका साथ क्रान्तिको झन्डा अगाडि बढाउन जरुरी छ। यही कुरा ख्याल नगर्दा विश्व कम्युनिस्ट आन्दोलनले बारम्बार धोका खाइरहेको छ।

व्यक्तिनै पार्टी

प्रवृत्तिगत रूपमा हेर्दा के देखिन्छ भने दृष्टिकोणमा विचलन हुनथालेपछि एउटा जिम्मेवार व्यक्ति पनि अफुलाइ सङ्गठन भन्दा पनि माथि देख्न थाल्छ। ऊ भित्र यस्तो मानसिकता पैदा हुन पुग्दछ कि,मैले जे गरेको छु मेरो पार्टीले त्यही गरेको हो भन्ने सोच्न पुग्दछ। म जे बोल्दछु मेरो पार्टीले बोलेको त्यही हो। ऊ पार्टीको कुरा बोल्दैन। उसको कुरा पार्टीको कुरा मान्न पर्ने ठान्न पुग्दछ। म मात्र सच्चा कम्युनिस्ट हुँ। पार्टी सङ्गठनलाइ अफ्नोकमजोरी देख्ने र वकवास गर्ने थलोको रूपमा देख्न थाल्दछन्। ऊ सिद्धान्तलाई गौणठान्दछ। विकास निर्माणलाई प्रधान ठान्दछ। पार्टीका सुझावलाई गुनासा ठान्दछ। सरसल्लाहलाई अवरोध ठान्दछ। यस्ता प्रवृत्तिले कम्युनिष्ट आन्दोलन शिथिल हुन र क्रान्तिको दिशा दिग्भ्रमित भई र लक्ष्य तुहिने अवस्था देखा पर्दछन्।

सोचको आवश्यकता

सच्चा कम्युनिष्ट क्रान्तिकारीले प्राप्त गरेको जिम्मेवारीप्रति त्यो सोचको आवश्यक छ कि,म पनि एउटा जोखिमयुक्त क्रान्तिको मोर्चामा भाग लिन जाँदै छु। यो मोर्चा हामी एक्लैले लड्न सकिँदैन। हाम्रो मात्र क्षमताले यहाँ छिपेका शत्रुहरू पहिचान गर्ने तागत राख्दैन। मेरो व्यस्तताको फाइदा क्रान्तिका शुत्रुले नलिउन् भन्नका लागि हाम्रो साथमा पार्टी सङ्गठन र तमाम क्रान्तिकारी सहयोद्धाहरू हुनुहुन्छ। जो हामीले शुरु गरेको यो क्रान्तिको महान् अभिभारा पूरा गर्न अहोरात्र खटिरहनु भएको छ।

एउटा कम्युनिष्ट क्रान्तिकारीका लागि जिम्मेवारी पाउनु सबै भन्दा गर्वको कुरा हुन्छ। जिम्मेवारीले व्यक्तिलाई आफैबाट बदलेर देखाउने मौका मिल्दछ। स्वयम् विरुद्ध जाइलाग्ने सक्ने तुल्याउँछ। आफैले सबैलाई आफ्ना देख्न सक्ने भावनाको विकास गराउँछ। त्यस्तो बेला भान्जा अगाडि आउँछ, छोरोको भविष्य तेर्सिन्छ, साला सालीलाई नहेरे श्रीमतीको गनगन चुलिन्छ, मामा माइजुका आवश्यकता, दिदी बहिनीका आवश्यकता, काका काकीका आवश्यकता। हरेक आवश्यकता पछि आफ्ना आसेपासेका आवश्यकता देखा पर्दछन्।

भाग्नु कायरता

आवश्यकतासँग भाग्नु कायरता हो। तर, यसको न्यायिक व्यवस्थापन क्रान्तिकारी कुशलता हो। हामीले अपनाउने भनेको क्रान्तिकारी कुशलता हो। जसमा नाता हैन नीति प्रधान हुन्छ। नियम प्रधान हुन्छ र न्यायिक पद्धतिको विकास शुरु हुन्छ। सत्यको मार्गमा पुग्ने लक्ष्यमा अगाडि बढ्न सकिन्छ।

सबैलाई ढुक्क पूर्वक के विश्वास हन्छ भने, क्षमता र प्रतिभा अनुसार हरेकले काम पाउछन् रआफ्नो क्षमता, प्रतिभा र सिर्जनाशीलता प्रति विश्वस्त हुन्छन् ।यस सोचले क्षमताको भरपुर सदुपयोग र विकास गर्न सहयोग पुग्दछ। यही चिन्तनको विकासबाट नै समाजवादको यात्रा अगाडि बढ्दछ। यसरी चुनौती नै अवसर बनेर हाम्रा अगाडि देखापर्दछन्।

निर्माणको जग

हाम्रो समाजको जग हामीले निर्माण गर्ने हो। मार्क्सवाद र लेनिनवादी सिद्धान्तको आधारमा। साम्यवाद कस्तो हुन्छ त ? यो भन्दा बाहिरको संसार त कल्पना मात्र गरिएको छ। वैज्ञानिक समाजवाद वा साम्यवाद । के हो ? कस्तो हो ? कहाँ छ ? कसले देखेको छ र ? यस्तै हुन्छ भनेर कसले परिभाषा गरेको छ र ? समाजवाद आएको भनेका देशमा पनि समाजवादी मूल्य मान्यतालाई आफ्नै आधारमा परिभाषा गरिएको छ।

मार्क्स र ऐन्जेल्स् मिलेर समाजवाद हुँदै साम्यवाद पुग्ने गोरेटो खन्नु भयो। लेनिन र स्टालिनले आफ्नै देशको परिवेश अनुसार त्यही मार्ग पछ्याएर समाजवादलाई समृद्धिको मार्गमा लानुभयो। पछि माओत्सेतुङ, लगायत अन्य थुप्रै कम्युनिष्ट आन्दोलनका दार्शनिक, नेता तथा अभियन्ता जसले जहाँ जसरी संघर्ष गरे त्यसबाट प्राप्त शिक्षा समेतले मार्क्सवादलाई समृद्ध तुल्याए। त्यही अनुरूप समाजवादलाई परिभाषित गरे। समाजवाद मार्क्सवादी दर्शन र सिद्धान्त अनुसार वस्तुगत पिरिस्थित अनुरूप लागु गरिने विज्ञान हो।

आजको सवाल

आज विश्व मुट्ठीभर पुँजीपतिको इसारामा बाँच्न विवश जस्तै बनेको छ। मानवीय मूल्य मान्यता पैसामा तौलिएको छ। इज्जत प्रतिष्ठा पैसामा मूल्याङ्कन हुन पुगेको छ। करोडौँ करोड शोषित पीडितहरू छन्, उनीहरू आफू शोषणमा परेको छु भन्ने विश्वास गर्नै सक्दैनन्। उनीहरूमा यो कुरा जगाउनु र विश्वको दुई तिहाइ शोषित पीडित जनताको पक्षमा वैज्ञानिक समाजवाद स्थापना गरेर अगाडि बढ्ने चुनौती आजका मार्क्सवादी, लेनिनवादी प्रगतिशील धारको काँधमा आएको छ।

पृथ्वीको सिङ्गो दुई तिहाइ मत समाजवादको पक्षमा छ। तर, पनि यो किन कठिन छ ? किनकि, समाजवाद आयो भने पुँजीवादीहरू टिक्न सक्दैनन्। डर, धम्की, भ्रम र झुटको खेती बिक्न सक्दैन। हजारौँ वर्षको यो साम्राज्य ध्वस्त हुन्छ भन्ने सोचका आधारमा समाजवादलाई कसरी निषेध गर्ने ? कसरी निस्तेज तुल्याउने ? कसरी दिग्भ्रमित बनाउने भन्ने दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको छ।

यसैको प्रभावले आज विकास र सभ्यताको नाममा मानिसले मानवीय मूल्य मान्यता भुल्न पुगेको छ। आफूले आफैलाई बिर्सन पुगेको छ। सत्यको पक्षलाई दबाएर त्यसको जगमा नै यो साम्राज्य प्राप्त गरेको छ। सत्यका पक्षपातीहरू दवानउन प्रयोग गरिएका हरेक हतकण्डा दविनेहरु सम्मलाई पनि थाहा छैन। कतिपय त थाहा भए पनि सत्य बोल्न नसकी थाहा नपाएका झैँ गर्न बाध्य छन् । निर्धालाइ दमन गरेर नै हरेक सामन्तहरू ठडिन सकेका हुन्छन्।

र, अन्तमा,

हामी कम्युनिष्टहरू अरूलाई दोष दिएर पन्छन मिल्दैन। पहिले, त हामीले हाम्रो शक्ति सङ्गठित गर्न सकेका छैनौँ। हामी माथि गरिएका प्रहारका कोणहरू, त्यस प्रहारबाट पारेको प्रभवको अध्ययन र त्यसको विश्लेषण गर्न सकेका छैनौ। यो आक्रमण फरक फरक परिवेश, विषय क्षेत्र र फरक फरक कोणबाट गरिएको छ। यसको विश्लेषण वहुआयमीक किसिमले गर्न जरुरी छ। र, सोही अनुरूप रणनीति तयार गरी अगिड बढ्न जरूरी छ।

दोस्रो, एकातिर जस्तो आक्रमण हुन्छ, त्यस्तै डिफेन्सर(प्रतिरोधि समूह) तयार गर्न आवश्यक छ भने अर्को तिर आफ्ना विचार सिद्धान्त कार्यक्रम र व्यवहारमा तालमेल गरेर अगाडि बढ्न आवश्यक छ। बोली बेच्ने हैन व्यवहार बिक्न पर्यो। बोली बेच्ने तर व्यवहार बन्दकी राख्ने प्रवृत्तिको अन्त आवश्यक छ।

समाजवाद उन्मुख मुलुक विकासका लागि तड्पिएको छ। सानो सानो अवसरबाट पनि ठुलो सफलता पाउन सकिने अवस्था सिर्जना भएको छ। यस्ता अनुकूलतामा पनि असहज देख्नेहरूबाट नै समाजवाद विरुद्ध योजना चलाएको अनुभूति भएको छ। यो दुखद पक्ष हो, सङ्गिन र जटिल पक्ष पनि छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्