प्रचण्डको छोरा

chandreswor yadav
एकैछिनमा सामाजिक सञ्जालमा भाइरल हुन्थ्यो । समाचार अन्तर्राष्ट्रियकरण हुन्थ्यो । तर, आफूहरुले प्रत्यक्ष भाषण सुन्दासुन्दै कसरी त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइसक्छ ? एउटा पार्टीको चुनावी कार्यक्रम भएकाले धेरै पत्रकार हुँदैनथे । तर, पनि सबैतिर उनको समाचार फोटो भिडियो आउँथ्यो, त्यो पनि प्रकाशकै देन थियो ।
लाेकपाटी न्यूज
  • चन्द्रेश्वर यादव

गाउँमा चुनावी राप मधेशको गर्मीभन्दा पनि चर्कदै थियो। कहिल्यै प्रत्यक्ष देख्न नपाएका नेताहरु आफ्नै घर आँगनमा देखिँदा सबैलाई रमाइलो लाग्नु स्वभाविक हो। तर, हामीलाई खुसी त्यतिबेला लागेको थियो, जतिबेला उपेक्षामा परेका मधेशीका अधिकारका लागि लडेको भनेर सधैं भाषण गर्ने मान्छेलाई आफ्नै घरदैलोमा पैदलयात्रा गरिरहेको देखियो। नेपाली राजनीतिका केन्द्रविन्दुसँग आफ्नो गाउँ डुल्दा उनीसँगै हिँड्न पाउँदा कल्पना नगरेको अनुभूति त हुने भयो नै। त्योभन्दा बढी अचम्म त उनको सचिवालयको व्यवस्थापन देखेर लाग्यो।

बिहानै उठेर प्रचण्ड जनताको घर घरमा डुल्थे, भाषण गर्थे, हजारौँ जनताका भावना एकैपटक सम्बोधन गर्थे । प्रचण्ड जनताकै घरमा खाना खाने, बस्ने, एकछिन पनि फुर्सद नहुने । प्रचण्डको यो व्यस्त तराई बसाई कसरी व्यवस्थापन भएको छ, धेरैलाई चासोको विषय नहोला । तर, मलाई यो विषय जान्ने मन लाग्यो । पहिला सोच्थें, प्रचण्डका आफ्ना सबै काम गरिदिने कर्मचारी नै होलान्, उनीहरुले सबै कुराको व्यवस्थापन गरिदिने होलान् ।

तर, प्रचण्डको नजिक हुँदा मेरो त्यो सोंच पूरै गलत सावित भयो । र, म अचम्म त्यो बेला परे, जुनबेला प्रचण्डको यो व्यस्तताको व्यवस्थापन मिलाउने पात्र देखिए, जुन मैले कल्पना पनि गरेको थिइनँ । त्यो दिन मेरा लागि संयोग पनि हो, राति आफ्नै गाउँमा बास बसेको चुनावी अभियानको टोली सँगसँगै बस्ने अवसर मिल्यो । दिनभरको थकानले अलि ढिलासम्म उठ्न सकिएन । तर, उठ्दा प्रचण्डको जुत्ता पोलिस गरिदिने, लुगाफटो सरसफाई गरिदिने काम गर्दै थिए प्रकाश दाहाल । जुन काम देखेर मलाई सानो कक्षामा पढेको एउटा कथाका पात्र सम्झें श्रवणकुमार ।

प्रकाशको जुन काम आफ्नै आँखाले देखें, कहिलेकाहीँ सामाजिक सञ्जालमा हुने आलोचनाप्रति पूरै घृणा लागेर आयो । पार्टीका जिम्मेवार व्यक्तिबाट त्यहिबेला एउटा समाचार सेयर गरेको देखेको थिएँ, जतिबेला उनका छोरा प्रणव आमासँग चुनावी प्रचारमा कञ्चनपुरमा थिए । समाचार के थियो भन्ने भन्दा पनि प्रकाशको काम देखेरै मलाई त्यो समाचार गलत होला भन्ने अनुभूति भयो ।

मैले भेट्दा अरुभन्दा सबैरै उठेका थिए प्रकाश । धेरैजना भएकाले हामी उठ्दासम्म आफ्नो सरसफाई सकिसकेका थिए । धेरै जना भएकाले हामीलाई सरसफाइका लागि केही समय लाग्यो । तर, त्यो बेलासम्म प्रकाश दाहालको फेसबुकमार्फत् मनिङ्गवाकको फोटो आइसकेको थियो । प्रकाश दाहाल प्रविधिमा पनि त्यति नै अगाडि रहेछन् कि प्रचण्ड जहाँ पुगेका छन्, तुरुन्त फोटो अपलोड भइहाल्ने, ठूला कार्यक्रमको भिडियो आइहाल्ने ।

त्यो दिन सचिवालयका धेरै साथीहरु सँगैसँगै खाजा खाने योजना बनाएर निस्कदा म पनि सँगै थिएँ । सर्लाहीको डुमरिया, त्यस्तो राम्रो रेष्टुरेण्ट छैन भनेर हामी स्थानीय साथीहरुले भने आनाकानी ग-यौँ । तर, उनले सडक छेउमा ठेलाको पकौडा पसलको पकौडा खान शुरु गरे । मैले स्थानीयलाई भने, ‘प्रकाश दाहाल’लाई चिन्नुभयो । तर, उनीहरुले पत्याएनन् । यसरी जनताले पत्याउने गाह्रो हुने गरी जनतासँग घुलमिल हुने उनी साँच्चै जनताको श्रमलाई सम्मान गरेको देख्दा उनीसँग भेट हुन पाएकोमा गौरवको महशुस भयो ।

मुसुक्क हाँसेर बोल्ने, प्रसंग चलेको विषयमा आफ्नो कुरा राखिहाल्ने, जव मान्छेहरुले उनलाई चिन्थे, फोटो खिच्न लालयीत हुने, उनी सहजै उनीहरुसंग फोटा खिच्ने । उनको स्वभाव हामी सर्वसाधारण जनताका लागि साँच्चै खुसीको विषय हो । किनकी देशको राजनीतिका एउटा मूख्य पात्रको छोरा यति सहज र सरल होलान भन्ने कसैले कल्पना पनि गर्दैन ।

कार्यक्रममा पुग्दा बुबालाई छाता आफै ओढाएर पुग्ने, मञ्चमा बुबा पुगेपछि जुत्ता स्याहार गरेर राखिदिने काम उनले नगरेको भए पनि सुरक्षाकर्मीले गर्थे होला । तर स–साना कुरामा सुरक्षाकर्मीलाई समेत दुःख नदिएर आफै काम गर्ने उनको शैली साँच्चै प्रशंसायोग्य देखियो । जहाँ जहाँ कायक्रम हुन्थ्यो, त्यहाँ उनी जनतासँगै हुन्थे । फेरि राति अबेरसम्म कार्यक्रममा बसेर खानपिनको बन्दोबस्तीका लागि आफै समन्वय गर्थे । प्रचण्ड प्रधानमन्त्री हुँदा एउटा आलोचना थियो, ‘आफ्नै छोरालाई स्वकीय सचिव बनाए’ । तर योपटक नजिकबाट उनको क्रियाकलाप हेर्दा लाग्यो, उनीबाहेक अरु भएको भए सबै कुराको व्यवस्थापन के सम्भव हुन्थ्यो ?

हामीले सुन्दै गरेको कुरा एकैछिनमा सामाजिक सञ्जालमा भाइरल हुन्थ्यो । समाचार अन्तर्राष्ट्रियकरण हुन्थ्यो । तर, आफूहरुले प्रत्यक्ष भाषण सुन्दासुन्दै कसरी त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइसक्छ ? एउटा पार्टीको चुनावी कार्यक्रम भएकाले धेरै पत्रकार हुँदैनथे । तर, पनि सबैतिर उनको समाचार फोटो भिडियो आउँथ्यो, त्यो पनि प्रकाशकै देन थियो ।

बेला बेला मिडियामा समाचार आउँछन्, कुन नेताका छोराछोरी के गर्दैछन् ? देखिन्छ, कति नेताका छोरा डाक्टर छन् । कति विदेशमा महङ्गा विश्वविद्यालयमा पढिरहेका छन् । बेला बेलामा समाचार आउँछ, फलानो कम्पनीमा, फलानो ठेक्कामा फलानो नेताको छोराको संलग्नता छ । प्रकाश दाहालसँग नजिक भएर केही दिन हिँड्दा मैले एउटा कुरा सोचें, ‘उनलाई पनि विदेशी युनिभर्सिटीमा पढेर शानका साथ बेला मौकामा नेपाल झुल्किने रहर किन पलाएन् ?

आफू सानो हुँदा अरु साथीहरु झोला बोकेर विद्यालय जाँदा उनी भने बुबा आमासँगै बम र बन्दुक बोकेर जनताको घरमा लुक्दै छिप्दै हिँडे । मैले सोचें, ‘उनलाई पढ्न नपाएकोमा पछुतो लाग्दो हो ? म पनि त्यो बेला झोला बोकेर स्कूल गएको भए अहिले विदेशी ग्रिनकार्डधारी भएर बेलाबेलामा नेपाल आउने पर्यटकजस्तै भइन्थ्यो होला । कुनै विश्वप्रसिद्ध युनिभर्सिटीको नाम आफ्नो प्रोफाइलमा लेखेर स्मार्ट बन्न पाइन्थ्यो होला । कुनै ठूलो ठेकेदार वा ठूलो कम्पनीको मालिक बनेर आफ्नो नामको अगाडि प्रसिद्ध व्यवसायी वा उद्योगपति भन्ने ब्राण्ड राख्न पाइन्थ्यो होला ।’

आजको प्रकाश देख्दा मलाई लाग्यो, ‘विद्यालय जाने त्यो बेला आफ्ना सबै ईच्छा आकाङ्क्षा तिलाञ्जली दिएर देश र जनताका लागि बन्दुक बोकेर हिँडेका उनीमा त्यो सोंच पक्कै पलाएन । आफू आन्दोलनका कठिन मोडहरुमा बम र गोलीका छर्राहरुबाट बँचेर अहिले उपेक्षित, उत्पीडित नेपाली जनताको मुहार हँसाउन हिँडेका उनी त्यति महत्वाकाङ्क्षी हुन्थे भने एउटा नेतृत्वलाई छाता ओढाएर हिँड्ने थिएनन् । त्यो घमण्ड हुन्थ्यो भने उनलाई अपुग के हुन्थ्यो ? पार्टीको सिफारिसमा कुनै ठूलो ओहदाको नियुक्ति खाएर बस्न सक्थे । हो युद्धमा धेरै जनताका छोराछोरी बम र बन्दुक बोकेर हिँडे भनेर अहिले धेरैले माओवादी पार्टीको आलोचना गर्छन् । तर, अरु नेताका छोराछोरी शिक्षादीक्षा लिन जाँदा प्रकाश पनि बन्दुक बोकेर हिँडेका हुन् भन्ने कुरा सायदै चर्चा हुन्छ । उनको यो जिन्दगी नेता र नेतृत्व रक्षाका लागि, जनताको हितका लागि लड्दालड्दै बितेको कसैलाई पत्तो छैन । त्यसैले बेला–बेलामा उनका विरुद्ध आउने समाचार र टीका टिप्पणीप्रति मलाई घृणा लाग्छ ।

हिजो युद्ध लडेका धेरै नेता अहिले व्यक्तिगत समृद्धिमा लागेका छन्, राजनीतिलाई कम र व्यक्तिगत विषयलाई बढी महत्व दिएर बसेको पनि देखिएको छ । तर, आफूजस्तै बन्दुक बोकेर हिँडेका एक योद्धा अहिलेसम्म पनि अहोरात्र नेतृत्वको अघिपछि पार्टीकै लागि चौबीस घण्टा खटेको देख्दादेख्दै आफ्नै पार्टीबाट हुने आलोचना पक्कै निकृष्ट सोंचको पराकाष्टा हो ।

हो, आवश्यकताले उनी प्रचण्डसँग हुन्छन्, सधैं गाडीमा हिँड्छन् । तर, कसैले सोचेको छ होला, ‘उनी नभएको भए पार्टी नेतृत्वको सचिवालय यति चुस्त र व्यवस्थित हुन्थ्यो होला ?’ तर, एउटा शक्तिकेन्द्रको परिवारको सदस्यको यस किसिमको सरलता र मेहेनत देख्दा उनको व्यक्तित्वप्रति म हृदयदेखि प्रभावित छु । बाबुका लागि गरेको ‘श्रवणकुमारीय’ श्रद्धा देख्दा म आफै नतमस्तक छु ।

काम गर्ने क्रममा कतिपय त्रुटि हुनु स्वभाविक हो । सकेसम्म त्रुटि नै नहुने गरी काम गर्नु राम्रो हो । धर्म ग्रन्थमा भगवानले त गल्ती गरेको भनेर लेखिएको छ भने मान्छेले गल्ती गर्छ । तर, त्यो मान्छे महान् हुन्छ, जो कमजोरी सच्याएर अगाडि बढ्छ । निष्कपट हामी कोही छैनौं, खोज्दै जाँदा सबैका केही न केही कमजोरी भेटिन्छन् । सायद नेपालका कुनै पार्टी नेतृत्वका सन्ततिको व्यवहार नजिकबाट नियाल्ने हो भने कमैको मात्र भेटिएला प्रकाशको जति सरलता र सहजता ।

मैले महशुस गरें, ‘म आफू एउटा सामान्य परिवारको मान्छे भएर पनि आफूलाई यति सरल र सहज बनाउन सकेको छैन । आफ्ना सन्ततिलाई पनि यति सहज बनाउने कल्पना त अलि टाढाको कुरा हो ।’ त्यसैले असन्तुष्टि, मतभेदका विषयहरु हुन्छन्, हुन सक्छन् । तर, बेला–बेला समाचारमा आउने कुरा यथार्थताभन्दा धेरै टाढा कोरा कल्पनाको कुरा मात्र हो । तसर्थ, ती काल्पनिक समाचार सामाजिक सञ्जालमा सेयर गरेर आफैलाई लज्जित पार्ने काम नगरौं ।

श्रावण, २०७४