देशव्यापी जनसभा गर्ने, यी हुन् नेकपाका मूख्य निर्णय

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, १४ पुष । । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे ।

ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको छ । बैठकले पार्टी एकताका बाँकी काम सक्न कार्यदल गठन गरेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको राजनीतिक दस्तावेज परिमार्जनसहित पारित भएको छ । २९ मंसिरदेखि सुरु स्थायी समिति बैठकमा सबै नेताहरुले खुलेर आफ्नो धारणा राखेका थिए । त्यसै कारण बैठक लम्बिँदै शुक्रबार सकिएको हो ।

‘ओली–प्रचण्डजीले दस्तावेज परिमार्जन गर्ने भनेपछि बैठकबाट पारित भयो,’ नेता लीलामणि पोखरेलले भने, ‘नेताहरुले बैठकमा उठाउनुभएका विषय समेटिन्छन् र अन्तिम प्रतिवेदन तयार हुन्छ । थप समृद्ध प्रतिवेदन जनतामाझ आउँछ ।’

एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको उपस्थिति र सरकारको संलग्नताबारे बैठकमा आलोचना भएको थियो । यो प्रसंगमा कमजोरी भएको आशय दस्ताबेजमा समेट्ने सहमति भएको छ । आगामी दिनमा पार्टी र सरकारले गल्ती नदोहोर्याउने विषयमा सहमति भएको पोखरेलले बताए ।

अब दस्तावेज परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय बैठकमा पेस गर्नेछन् । सचिवालयबाट पारित भएपछि प्रतिवेदनले पार्टी दस्तावेजको रूप पाउनेछ ।

शुक्रबारको बैठक पार्टीको सैद्धान्तिक विषयमा केन्द्रित भएको थियो । पार्टीको न्यूनतम कार्यक्रम जनताको जनवाद हुने कि समाजवाद भन्ने बहस भएको नेता लीलामणि पोखरेलले बताए । माओवादी पक्षले हेटौँडा महाधिवेशनमा पारित सामाजिक कार्यक्रमलाई पार्टीको न्यूनतम कार्यक्रम बनाउनुपर्ने अडान लिएको छ ।

तर, तत्कालीन एमाले नेताहरू जनताको जनवादको पक्षमै छन् । खासगरी अध्यक्ष ओली पक्ष यो अडानमा अडिग छ । माधव नेपाल पक्षका नेता पनि ससमाजवादी कार्यक्रमकै पक्षमा छन् । सैद्धान्तिक विषय प्रवेश भएपछि एक दर्जन नेताले आ–आफ्नो धारणा राखेका थिए ।

ओली–प्रचण्डको दस्तावेजमा न्यूनतम कार्यक्रम जनताको जनवाद (यो समाजवादउन्मुख छ) भन्ने उल्लेख छ भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद उल्लेख छ । तर, सहमति नै नभएको विषय प्रतिवेदनमा उल्लेख भएको भन्दै आलोचना भएको छ । अन्त्यमा अहिलेका लागि पार्टी एकताको क्रममा भएको सहमतिअनुसार नै न्यूनतम कार्यक्रम बनाउने सहमति नेताहरूले गरेका छन् ।

फागुन र चैतमा जनसभा

पार्टी एकतालाई पूर्णता दिएपछि फागुन र चैतमा देशका विभिन्न ठाउँमा आमसभा गर्ने तयारी रहेको नेकपा स्थायी समिति सदस्य मणि थापाले बताए । ‘पार्टी एकता भएपछि जनस्तरसम्म सन्देश जाने गरी आमसभा भएका छैनन्,’ थापाले भने, ‘विभिन्न कारणले पार्टी एकतामा ढिलाइ भएकाले फागुन र चैतमा देशका विभिन्न ठाउँमा जनसभा गर्ने तयारी छ ।’ पार्टी एकढिक्का भएको सन्देश दिन जनपरिचालनसहित आमसभा गर्ने तयारी रहेको थापाले बताए ।

स्थायी समिति बैठक पूर्वमाओवादीलाई नौलो

यसपटकको स्थायी समिति बैठक पूर्वमाओवादीका लागि भने नौलो भयो । बैठकमा अध्यक्षको व्यापक आलोचना भएपछि उनीहरू अचम्ममा परे । ‘माओवादीमा अध्यक्षको आलोचना भए पनि भद्र रूपमा हुन्थ्यो । यसरी आमनेसामने चर्काचर्की हुँदैनथ्यो,’ एक नेताले भने, ‘पूर्वएमालेका नेताहरूले त अध्यक्षलाई भन्नुजति भने । तपाईं बढ्ता बोल्ने बनाउँदै हुनुहुन्छ, निरंकुश ढंगले पार्टी चलाउन पाउनुहुन्न भन्दै आलोचना गरे ।’

९ सदस्यीय कार्यदल

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।