ताराको देशमा हराएको नागरिकता खोजिरहेछु

Rajbabu Shrestha
लाेकपाटी न्यूज

-राजबाबु श्रेष्ठ ‘सागर’

*कविता*
मान्छे हुनु नै
एक अनौठो स्वभाव
लिएर जन्मनु रहेछ

जब जन्मिन्छ बच्चा
उसलाई संसारकै प्यारो
आफ्नो आमा लाग्दो रहेछ

अनि जब
उठ्न खोज्दा धर्ती हल्लिन्छ
तब मातापिताको औंलाको सहारा लिन्छ
जब हिँड्न थाल्छ बच्चा राम्ररी
तब माता पिताको पछिपछि
दौडिन थाल्दो रहेछ

जब यही बच्चा
बढेर यौवनास्थामा पाइला टेक्छ
तब बल्ल पो
जिन्दगीको यात्रा सुरु हुँदो रहेछ
र, ‘प’ नै ‘प’ को पछाडि दौडिन थाल्दो रहेछ

पति/पत्नी/पुत्र/पुत्री/पद/पैसा
प्रतिष्ठा र प्रशंसा
तब आफ्नो मातापिता देखि यति पर भाग्छ कि
जसरी गगनको तारा पर हुन्छ
अनि ‘प’ कै पछि लागि पाप गर्छ
र, अन्त्यमा पश्चताप गर्दै
पतन हुँदो रहेछ

ए हजुरहरू हो !
भन्नुस्त हजुरहरू नै
मान्छेको जिन्दगीमा यो ‘ प’ नै नभै’दिए
के हुन्थ्यो होला …?

केवल मैं रहेछु
आफ्नो देश छाडी
ताराको देशमा आफ्नो हराएको नागरिकता
र, आफ्नो परिचय खोजिरहेछु
अनवरत अझै खोजिरहेछु

अनि उनलाई
र, उनीसँग बिताएको त्यो प्यारो पल
अझै खोजिरहेछु
अझै खोजिरहेछु ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्