अछाम जिल्लाः एक संक्षिप्त परिचय

Achham
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अछाम सुदूर पश्चिम प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो। १ हजार ६९२ वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ। सुदूरपश्चिमको चर्चित मानिने नौ मुठे गाई पनि यसै जिल्लामा देख्न सकिन्छ।

रत्यौली, भुवा, न्याउले, पुतला, देउडा गीत, हुड्केली आदि यहाँका मुख्य सांस्कृतिक परम्पराहरू हुन्। आफ्नै रीतिरिवाज र चालचलनमा रमाउने अछामका जनताहरू अछामी भाषाको प्रयोग गर्दछन्। यस क्षेत्रका बासिन्दाहरूको मुख्य व्यवसाय कृषि तथा पशुपालन हो भने वैदेशिक रोजगारको लागि छिमेकी मुलुक भारत तथा अन्य मुलुकमा पनि जाने गर्दछन्। अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि हो।

चाल्साबाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना अथवा तिमल्सेना घोडासैनबाट घोडासैनी, पुरासैनबाट पुडासैनी, धमालीबाट धमाला, रिमाबाट रिमाल, बारलाबाट बराल, कुइकाबाट कुईकेल, बजगाउँबाट बजगाईं आदि जात जातिहरूको उद्गम स्थलको रूपमा समेत परिचित अछाम जिल्लाको ऐतिहासिक महत्त्व पनि निकै बलियो रहेको छ। नेपालको संविधान २०७२ ले परिकल्पना गरेको नेपालको पुनर्संरचना अनुसार यस जिल्लालाई ४ नगरपालिका, ६ वटा गाउँपालिका तथा २ संसदीय निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको छ।

कसरी रह्यो अछामको नाम ?

ऐतिहासिक पृष्ठभूमिको अध्ययनबिना कुनै पनि स्थान तथा ठाउँ विशेषको अध्ययन सधैँ अधुरो हुन्छ। अछाम जिल्लाको पनि आफ्नै किसिमको ऐतिहासिक पृष्ठभूमि छ। यस जिल्लाको नामकरणको सन्दर्भमा निम्न तीन किसिमका जनश्रुतिहरू पाइन्छन्।

प्रथम, प्राचीन कालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दुहरू बसाइँ सर्न बाध्य भए। घुम्दै हिँड्ने क्रममा उनीहरू तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे। त्यस बेला नौखुवा प्रशस्त मीठो आँप पाइने स्थानको रूपमा परिचित थियो। अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरूका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरू नौखुवामा बस्न थाले। हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ। अच्छा आम अपभ्रंश हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई ‘अछाम’ भनिन थालियो।

दोस्रो, डोटी जिल्लाका ब्राह्मण खानदानका गोपाल खतिवडाका (भट्ट भनिने) चार भाइछोराहरु थिए। उनका चार छोराहरू लल्ल, विलल्ल भाष र प्रभाष थिए। प्रभाषको प्रसिद्ध जुम्ली राजा देवचन्द्रकी छोरी हार्मता मैयाँसँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे। पछि नौखुवा राज्य उनले बिर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंश हुँदै ‘अछाम’ भनिन लाग्यो।

तेस्रो, अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा बुढी धर्पुलाई लिइन्छ। सेरा बुढी धर्पूबठे केही तल पास्तोली गाड(खोला)बाट खसेका तीन वटा छहरामध्ये एउटा अलि ठूलो र कहाली लाग्दो खालको छ। ती तीन वटा छहराहरू बन्नको लागि माथिको जुन मुहानबाट पानी आउँछ त्यसलाई प्राचीन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्छ। त्यही अस्मावु शब्दको अपभ्रंश भई अस्माम्व-अछाम्म र अछाम भयो भनी एउटा मत निर्माण भएको पाइन्छ।

पछि अछामी राजाको मुलथलो बान्नीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ। राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई खाद्यान्न आपूर्तिको केन्द्रको रूपमा रह्यो। पछि अछामको कैलाश खोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ। वि.सं. २०१४र०१५ सालतिर यहाँका जनताहरूद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनी बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो। तत्पश्चात् २०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रूपमा ‘अछाम’ अस्तित्वमा आएको पाइन्छ।

अछाम जिल्लाको इतिहास

अछाम जिल्ला प्राचीन इतिहास बोकेको जिल्ला हो। प्राचीन कालमा अछाम जिल्ला स-साना राज्यमा विभाजित थियो। पूर्वी अछाममा अछामी राजाको राज्य थियो। दक्षिण क्षेत्रमा घुघुरकोटे राजाको राज्य थियो। यस्तै मध्य अछाममा विमकोटी राजाको राज्य रहेको थियो। हाल अछाममा विभिन्न स्थानमा प्राचीन राजाका दरबारहरू भग्नावशेषका रूपमा रहेका छन्।

प्राचीनतम नेपालको इतिहास सँगसँगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ। ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले अछामको धेरै ठुलो महत्त्व रहेको छ। प्राचीन कालमा हालको अछामलाई ‘नौखुवा’को नामले चिनिन्थ्यो। नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने बुझिन्छ। त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स-साना राज्यहरू सञ्चालनमा रहेका थिए। नेपालको एकीकरणको समयमा अछाम बाइसी राज्य समूहको एउटा एकाइ सदस्यको रूपमा रहेको थियो।

कर्णाली प्रदेशमा नागराज वंशीय मल्लहरूले शासन गर्नु पूर्व अछाममा पालहरूले शासन गरेका थिए। त्यसपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो। तत् पश्चात् उनीहरूको शक्ति कम हुँदै जाँदा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दु राज्यका रूपमा स्थापना भएको थियो। अछाम क्षेत्र मध्य कालमा विकसित भएको खस सभ्यताको उद्गम स्थलको रूपमा समेत चिनिन्छ।

राणा कालमा अछामको कैलाश नदी पूर्वको भू-भाग दैलेख र पश्चिम तिरको भू-भाग डोटी अन्तर्गत रहेको थियो। त्यस समयमा अछाम डोटीमा खाद्यान्न आपूर्तिको प्रमुख केन्द्रका रूपमा रही आएको थियो। २०१४ सालमा अछामका दुवै भाग मिलाएर डोटी अन्तर्गत राखिएको थियो। पछि जब २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो, अछाम पनि छुट्टै जिल्लाका रूपमा अस्तित्वमा आएको हो।

मंगलसैनमा तत्कालीन समयमा बनेको भव्य दरबार २०५८ सालमा द्वन्द्व क्रममा तत्कालीन नेकपा माओवादीको आक्रमणमा ध्वस्त भएको थियो। हाल उक्त दरबारको पुनर्निर्माण भइरहेको छ। अछामको इतिहास परापूर्व कालदेखि नै द्वन्द्व खेप्दै आएको छ। नेपाल एकीकरण भएको बेला वि.सं. १८४७ मा नै अछाम राज्य विशाल नेपालमा गाभिएको पनि१८४८ को चैते दशैंका राती देवचन्द्र शाह (द्वितीय) ले विद्रोह गरी पुनः बान्नीगढी कब्जा गरी अछाम राज्यको अस्तित्व राखेका थिए।

त्यसपछि मध्ये कालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ। यही मध्यकाल युद्ध खेपेको जयगढ क्षेत्रमा शान्तिको सन्देशको रूपमा रहेको महामण्डलेश्वर यशोव्रह्मद्धारा लिखित शिलालेख यहाँको पुरानो अभिलेख हो। उक्त शिलालेखमा निम्न पंतिहरु उद्धृत गरिएको छ।

जिल्लाको भूगोल

भौगोलिक हिसाबले अछाम सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला मध्ये सबैभन्दा ठूलो जिल्लाको रूपमा रहेको छ। ८१.०२ डिग्री देखि ८१.३५ डिग्री पूर्वी देशान्तर तथा २८.४५ डिग्री देखि २९.३३ डिग्री उत्तरी अक्षांशसम्म फैलिएको छ।

यहाँ साना ठूला पहाडहरू, खोचहरू, टारहरू र बेसीहरू रहेका छन्। अछाम जिल्लाको धेरै भूभाग हरियाली जङ्गलले ढाकिएको छ। अछामको मध्य भई बग्ने बुढीगंगा र मध्य पूर्वी अछाममा रहेको कैलाश खोला प्रमुख नदी हुन्। अछामको पूर्वी सिमाना कर्णाली नदीले छुट्टाएको छ। यस्तै अछामको पश्चिमी सिमाना खप्तडसम्म फैलिएको छ।

यस जिल्लाको पूर्वमा दैलेख, पश्चिममा डोटी, उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला अवस्थित छ। अछाम जिल्लाको क्षेत्रफल १६९२ वकिमि रहेको छ। अछाम जिल्ला समुद्र सतहबाट उचाईः ५४० मिटर देखि ३८२० मिटर सम्मको उचाइमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम मंगलसेन हो। साँफेबगर, कमल बजार, विनायक, मंगलसेन आदी यहाँका प्रमुख व्यापारिक केन्द्रहरू हुन्। खप्तड, विनायक, रामारोशन, बैजनाथ, प्रमुख प्रर्यटकिय गन्तव्यहरू हुन्।

यहाँको संस्कृति

अछाम जिल्लामा हिन्दु धर्मावलम्बी बसोबास गर्ने गर्छन्। यहाँ थरी थरीका जात जातीका मान्छेहरूको बसोबास रहेका कारणले यहाँको संस्कृतिमा धेरै भिन्नता पाइन्छ। अछामी जनका आफ्नै मौलिक र सांस्कृतिक विशेषता छन्। अलग अलग जात जातीका मान्छेहरू सबैले आफ्नो आफ्नो रीति रिवाज अनुसार आफ्नो आफ्नो परम्पराले मनाउँदै आएका चाड पर्वहरू मनाउने गर्दछन्। यस ठाउँका मानिस दसैँ, तिहार, बिसु, शिवरात्रि, माघे सङ्क्रान्ति, फागु, तिज, चैते दसैँ, पुसे पन्ध्र लगायतका चाड पर्व मनाउँछन्। अछाम जिल्लामा देउडा नाच, ठाडी भाका, हुड्को नाच, भुओ नाच, पुतला नाच, पैंसेरी नाच, हुड्के नाच, फुर्का नाच, रत्यौली आदी परम्परागत नृत्यहरू प्रसिद्ध छन्। यहाँका मानिस अछामी भाषा बोल्छन्।

अछाममा साहित्य विकासको इतिहास

लोक साहित्यका दृष्टिले अछाम जिल्ला सम्पन्न मानिन्छ। यहाँका प्राचीन अभिलेख प्राचीन ग्रन्थ र प्राचीन देवलहरूमा लेखिएका अभिलेखहरूले पनि यहाँको चिनारी दिन्छ। यस जिल्लाको साहित्यिक इतिहास निकै पुरानो छ।

अछाम राजा श्रीभोर शाहका कान्छा छोरा बाकाबीरको अगुवाइमा सुदूरपश्चिममा विद्रोह हुँदा जङ्गबहादुर राणाको आदेशमा वि.सं. १९०६मा बाँकावीर (बलदेव शाही) काटिएका थिए। यिनै राजवंशका काजी खलकका सन्तति पहलमानसिंह स्वाँरले नेपाली भाषामा प्रथम दुःखान्त नाटक अटल बहादुर लेखी देश भरीमामात्र नभई साहित्यिक क्रान्ति ल्याएका थिए। यसरी मौफिक साहित्यमा मात्रनभै लिखित साहित्यको पनि प्राचीन इतिहास बोकेको अछाम जिल्ला साहित्यिक त्यसमा पनि अझ लोक साहित्यिक सामग्रीका दृष्टिले अत्यन्तै सम्पन्न रहेको छ।

त्यस्ता सामग्रीहरूमा अछाम जिल्लामा लोकगीत लोकगाथा लोककथा, लोकनाटक, लोकोक्ति आदि पर्छन्। जसलाई साहित्यका अमूल्य निधिमान्न सकिन्छ। यिनले नै अछाम जिल्लाको लिखित साहित्यको पूर्वाधार तयार गर्नु ठुलो सघाउ पुर्‍याएका छन्। यसका साथै यहाँका देउडा, रतेउडी, हुडकेनाचा, पुतला, होरी, भूओ, पञ्चेबाजा, लोकगीत तथा लोकलय आदि संस्कृतिका प्रदायक मौफिक रचनाहरूले अझ अछामको साहित्यलाई महाजल छरी मौलाउन सहयोग गरेको देखिन्छ। जुन अछाम जिल्लाको साहित्यिक योगदानकै रूपमा मानिन्छ।

अछाममा पनि लोकगीतहरू धेरै पुरानो समयदेखि गाइँदै आएको छ। अछाम जिल्ला पनि लोकगीतका लागि प्रसिद्ध जिल्ला हो। जहाँको चिनारी नै हरेक ठाउँमा लोकगीतका माध्यमबाट दिने गरिन्छ। जसका केही उदाहरणहरू यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ।

डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे

मलाई पनि उडाइलैजा हिउँचुलीका डाँफे

हुम्लो जाँच्या जुम्लो जाँच्या अछाम जाँचियान

धन साँचिया मन साँचिया जोवन साँचियान

बान्नी राम्रा बरदा देबी कोटघर कालिका

अछाम त बैकुण्ठ रैछ धन्य होमालिका।

यसरी अछाम जिल्लाको चिनारी त्यहाँको लोकगीत र लोकभाकाले र लोकगीतको चिनारी अछाम जिल्लाले दिएर अछामको साहित्यकोमात्रै हैन नेपाली साहित्यको पनि सेवा गर्न भ्याएको छ।

प्रमुख पर्यटकीय स्थल र पुरातात्त्विक सम्पदा

अछाम जिल्ला खस राज्यकालमा विभिन्न राज्यहरूमा कहिले फुट्ने र कहिले जुट्ने हुँदै विभिन्न राजाहरूले राज्य गरेको स्थान भएकाले यहाँ थुप्रै पुरातात्त्विक सम्पदाको धनी रहेको छ। धार्मिक तथा पर्यटनको दृष्टिकोणमा छुट्टै भूमिका बोकेको अछाम जिल्लामा विभिन्न पर्यटकीय स्थलहरू र प्राकृतिक तथा पुरातात्त्विक सम्पदाहरू रहेका छन्। जस मध्य केही स्थानहरू यस प्रकार रहेको छन्।

रामारोसन ताल 

प्राकृतिक सुन्दरताले भरिएको र प्रसिद्ध रहेको क्षेत्र हो रामारोसन। चारैतिर हरियाली पहाहहरुले ढाकिएको छ। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यस क्षेत्रमा १२ ताल र १८ ठूलठूला हरियाली फाँटहरू रहेका छन्। १२ वटा तालहरूमा सबैभन्दा ठूलो ताल जिगाले ताल हो। जसको आकार अंग्रेजी अक्षर सी जस्तो छ। जुन बाटुले ताल भन्दा अलि माथि छ। यहाँको सानो तालमा ताउने ताल हो। यो हाल पुरिने अवस्थामा छ। जिगाले ताल भन्दा माथि पनि धेरै तालहरू छन्।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। ताल भन्दा केही परपट्टी ठूलठूला चउर छन्। जून अठार खण्ड का नामले प्रख्यात छन्। यस्ता चउरहरू मध्येमा किनेमिने चउर सबैभन्दा ठूलो चउर हो। जसको बिच भएर कैलाश खोला बग्दछ। यो सम्भवतः अछामकै ठूलो चउर हो। यसको केही माथि पट्टी रोशन चउर छ। यो पनि धेरै नै ठूलो छ।

विभिन्न समयमा यहाँ महोत्सवको आयोजना हुँदै आइरहेका छन्। जून विशेष गरी चैत र वैशाखतिर आयोजना हुने गर्दछन्। रामारोसन क्षेत्र पर्यटकीय दृष्टिकोणबाट ठूलो सम्भावना बोकेको भए पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन।

मंगलसेन

मंगलसेन एक ऐतिहासिक ठाउँ हो। यहाँ अछामी राजाको दरबार रहेको छ। मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ। यो जिल्ला सदरमुकाम पनि हो। सोह्रौँ शताब्दीमा जुम्लाको सिञ्जाबाट सिजापति राजाहरूले अछाम आगमन पश्चात् यस जिल्लामा बाइसे चौबिसे राजाहरू अस्तित्वमा आएका देखिन्छन्। अछाम राज्यको राजधानी रहेको सिञ्जा महाराजको पालामा यसलाई नौबिस नामबाट सम्बोधन गर्ने गरिन्थ्यो। नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्व गर्दथ्यो।

१८४७ मा गोर्खाली सरदार अमर सिंह थापा, जगतजित पाण्डे, दलन शाहीले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रूपमा विकास भई मोतीपुरको विस्थापन पछि मंगलसेनलाई १८ औँ शताब्दी तिर मना ग्रामीण (मना गाउँ) भनेर चिनिन्थ्यो। १८४९ मा तालुकदारी (मुखिया) प्रथा पश्चात् कैलाश खोला देखि दक्षिण भैसोलेको पानी (जनालीबण्डाली) को सिमाना देखि उत्तर छुचुन्द्रे खोला पूर्व र तापरिवा पश्चिमलाई नौबिस ९९ वटा २०० घरदैलाको संख्याका आधारमा नौबिस ग्रामीण पञ्चायत हुँदै १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भई अमालको व्यवस्था गरियो र त्यही बाट अछाम जिल्लाको प्रशासनिक कार्य हुँदै आएको थियो।

साँफेबगर

साँफेबगर आफ्नो भौगोलिक सुन्दरताले प्रसिद्ध रहेको छ। यो अछाम जिल्लाका मध्य भागमा रहेको छ। वरिपरि पहाडहरूका बिच बेसी स्थित रहेको यस सहरका बिच भागभै बुढिगंगा नदी बगेको छ। साँफेबगर अछामको प्रमुख व्यापारिक केन्द्र पनि हो। साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ। साँफेबगर वरिपरि पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढी गङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ। साँफेको सुन्दरतामा यही वैद्यनाथ धामले थप सुन्दरता थपेको छ।

वरदादेवी माई

अछामको गाज्रामा रहेको यो एक प्रसिद्ध धार्मिक स्थल हो। वर्षको एक चोटि यस ठाउँमा ठुलो मेला लाग्छ। यस क्षेत्रमा वरदादेवी माइको मन्दिर रहेको छ। यही मन्दिरमा जुम्लाका प्रसिद्ध राजा जितारि मल्लले आफ्नो राज्य विस्तारका क्रममा विशेष पूजा-आराधना गरेको जनविश्वास छ।

वैद्यनाथधाम

वैद्यनाथ थाम साँफेबगरको दक्षिण स्थित एक पवित्र धार्मिक स्थल हो। बुढीगंगा नदीका किनारमा वैद्यनाथ बाबाको मन्दिर रहेको छ। यस ठाउँमा भगवान् शिवले वैद्य विद्या सिकेको धार्मिक विश्वास रहेको छ।

रावणले तपस्या गरी शिवको वरदान पाएको ठाउँ भनेर पनि चिनिन्छ वैद्यनाथ। मन्दिरका पुजारी देवराज उपाध्यायका अनुसार, ‘पुराणअनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए। यसरी उनले नौ टाउका काटेर होम कुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स-शरीर हमन गर्ने सोचेर दसौँ टाउको काट्न लाग्दा शिवजीले वैद्यको रूपमा दर्शन दिए। वैद्य भएर रावणका सबै टाउकाहरू फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ राखिएको हो।’

रावणले शिवजीलाई बाचा गराई शिवलिंग लैजान माग गरे । बाचा अनुसार शिवले आफ्नो लिङ्ग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृश्य शक्तिको प्रयोग गरी शिवलिंगलाई उठाउनै नसक्ने गह्रुङ्गो बनाइदिइन। त्यस कारण रावणले लैजान नसकेपछि यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरूमा उल्लेख गरिएको उपाध्याय बताउँछन्। १२ वटा ज्योतिर्लिंगमध्ये एउटा नेपालमा छ, जुन वैद्यनाथ धाममा अवस्थित छ।

साँफे हाटबजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा माघे सङ्क्रान्ति र महाशिवरात्रिका दिन मेला लाग्ने गर्छ। उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट भक्तजनहरू आउने गरेका छन्। वैद्यनाथ धामको प्राङ्गणको बिच भागमा मञ्च छ। भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर छ। मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरू छन्। मन्दिर परिसरमै यज्ञशाला छ। प्रतीक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन्।

वैदिक सनातन जोगाउनका लागि २०५५ सालमा मन्दिर परिसरभित्रै वेद विद्याश्रम स्थापना गरिएको छ। यस विद्याश्रममा कक्षा ६, ७ र ८ को पढाइ हुने गरेको छ। मन्दिर परिसरभित्रै वैद्यनाथ सङ्ग्रहालय स्थापना गरिएको छ। वि.स १८४८ सालमा जर्नेल अमरसिंह थापा नेतृत्वको टोलीले अछाम विजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त सङ्ग्रहालयमा राखिएका छन्। सो सङ्ग्रहालय स्थापनासँग सम्बन्धित रोचक किंवदन्ती छ ।

अछाम विजयपछि डोटीका लागि हिँडेको अमरसिंह थापा नेतृत्वको टोली हालको पूर्वीचौकी गाउँपालिका-५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ। फर्केर अछामतिर हेर्दा आँखा देख्ने, तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राति काँडामै बास बसेर द्वीप प्रज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन्। राति टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानू भनिछन्। सोहीअनुसार ३१ नाल बन्दुक, खुकुरीलगायतका हतियारहरू वैद्यनाथलाई चढाएको स्थानीय बताउँछन्।

विमकोट

विमकोटी राजाको दरबार, मन्दिर र राजाका सेराहरू सहितको यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यस दरबारको पूर्व र पश्चिम भई दुई खोला बग्छन्। यो ठाउँ मेल्लेख गाउँपालिकामा पर्छ।

बान्नीगढी

जंगलका बिच पहाडका चुचुरामा प्राचीन राजाको दरबार रहेको ठाउँमा हाल प्रसिद्ध मन्दिर रहेको छ। अछाम जिल्लाको मुटुकै रूपमा चिनिने बान्नीगढी जयगढ गाउँपालिका प्राकृतिक सौन्दर्यता र ऐतिहासिक पृष्ठभूमि बोकेको ठाउँ हो। प्राकृतिक हिसाबले एउटा गढको खोज जस्तो, त्रिपुरा सुन्दरी माताको छत्रछायामा अवस्थित बान्नीगढी जयगढ गाउँपालिकामा उक्त मन्दिर रहेको छ। महाकाली, महालक्ष्मी, महासरस्वती सहित त्रिमूर्तिय स्वरूपलाई बान्नीगढी त्रिपुरा सुन्दरी भगवती नामले पुकार्ने गरेको इतिहास छ। समय परिस्थिति शासन पद्धति परिवर्तन हुँदै जाँदा बान्नीगढी त्रिपुरा सुन्दरी भगवतीको नाम समेत बरदादेवि भगवतीको नामले परिवर्तन भएको इतिहास छ।

यसको ज्वलन्त उदाहरणको लागि बि.सं. १८६४ मा तत्कालीन शाह वंशीय राजा गिर्वाणयुद्ध विक्रम शाहबाट अछाम जयगढ बसौटी निवासी तत्कालीन बान्नीगढी बरदादेवि मन्दिरका पुजारी जयशर्मा रेग्मीलाई बान्नीगढी बरदादेवि भगवतीको नित्य पाठपुजा गरी तिम्रा दर सन्तानले हाम्रो जय मनाउनु भनी चिरकाल प्रर्यन्तसम्म गुठीमा कायम रहने गरी हामीबाट लालमोहर सदर गरी बक्सेका छौँ भन्ने लालमोहरबाट समेतका आधारले इच्छासिद्धिको वरदान दिने शक्ति भएका कारण त्रिपुरा सुन्दरी भगवतीलाई बरदादेवि भगवतीको नामले चिन्ने जान्ने र पुकार्ने गरेको इतिहास छ।

तत्पश्चात् बान्नीगढीका राजा विनोदी शाहले शासन सञ्चालन गरेको ठाउँ बान्नीगढी नै रहेको कुरामा दुई मत छैन। नेपालको एकीकरणमा अछाम आइपुगेका पृथ्वीनारायण शाहका भाइ बहादुर शाह अछाम कब्जा गरेका अवस्थामा बान्नीगढी बरदादेवि भगवतीका नामले दिइने बलीका विषयमा बरदादेवि मन्दिरबाट झन्डै ५०० मिटरको दुरीमा नौला गढी भन्ने ठाउँमा दसैँ घर मौला बनाई बली दिने प्रथालाई व्यवस्थित बनाएको छ। सो क्षेत्रमा अहिलेसम्म दसैँ घर धार्मिक पवित्र स्थलकै रूपमा चिनिन्छ।

यस नजिकै कुवासैन भन्ने ठाउँमा तिमिल्सैना वंशजका अग्रज धर्मानन्द उपाध्यायले कठोर तपस्या गरेको ठाउँ त्यहाँ बनाएका आश्रमहरूबाट पहाडको भित्री भागबाट सुरुंग भएर झन्डै १ किमिको दुरीमा रहेको वरदादेवि मन्दिरमा तपसी धर्मानन्द उपाध्यायले भगवतीको दर्शन गर्न आवतजावत गर्ने सुरुंग मार्ग जस्ता विभिन्न काल खण्डमा घटेका घटनाहरूलाई लिएर बान्नीगढी नामाकरण र शाके १२७१ म यशोब्रम्हा, देवो ब्रम्हा राजाहरूले शासन गरेको ठाउँ जुम्ला सिजापति राजा मयुर भञ्जन पाल हुँदा आठौँ सिजापति राजाहरूले शासन सत्ता सञ्चालन गरेको ऐतिहासिक महत्त्व बोकेका राजा महाराजाहरूले फौजी किल्लाबाट जय घोषित गरिने किल्लाको रूपमा रहेका कारण हाल बजार रहेको क्षेत्रको नामाकरण जयगढ रहन गएको तथ्य पाइन्छ।

दर्नाका पञचदेवल

दर्नाका राजाको दरबारको पश्चिमपट्टि लामो गरामा ढुङ्गै ढुङ्गाले बनेका पञ्चदेवहरू रहेका छन्। तत्कालीन बाइसे चौबिसे राज्य अन्तर्गत अछामको शक्तिशाली र क्रूर शासक मानिने दर्नालि राजाले ढुङ्गाबाट निर्माण गरेका ५ वटा कलात्मक देवल बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्छ। पञ्च देवल नजिकै एउटा शिलालेख भेटिएको छ। तर उक्त शिलालेखमा ग्वाला गोठालाहरूले आँसी (हँसिया) उदाउने गरेकाले घिसाएर नबुझिने बनाइदिएका छन् ? तर पनि साहित्यको इतिहास लेखनमा यस शिलालेखले सहयोग नै गरेको पाइन्छ। हाल यी ऐतिहासिक देवलको संरक्षण हुन सकेको छैन र पञ्च देवलको क्षेत्र पनि स्थानीयको अतिक्रमणमा परेको छ।

विनायकका पञ्चदेवल

विनायक अछामका प्रमुख स्थलमध्ये एक हो। यो धार्मिक ऐतिहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यस ठाउँमा रहेका पञ्चदेवल कुनै राजा महाराजाले बनाएको नभएर राजकुमार अक्षम मल्लले शाके १२०२ सम्वत् १३३७ मा बनाएका हुन् भन्ने कुरा प्रस्ट हुन आएको छ। तेस्रो केवलका प्रवेशद्वारको तोरणशीलामा उत्कीर्ण गरिएको अभिलेखमा निम्न कुराहरू उद्धृत गरिएको छ।

पञ्चदेवल विनायक नगरपालिको नामाकरण यही ऐतिहासिक पञ्चदेवलहरुको नामबाटै गरिएको हो। यस क्षेत्रमा मष्टामाण्डौ, बालमाडौं, जस्ता प्रसिद्ध तीर्थस्थलहरू तथा कर्णाली नदी, बेलखेत जस्ता सम्भावना बोकेका प्रर्यटकिय क्षेत्रहरू रहेका छन्। बारला र कालेकाँडामा रहेको पेट्रोलियम पदार्थ र काइनाइट तथा फलामको धाउ उत्खननको सम्भावना पनि रहेको छ।

जल सम्पदाहरू

अछाम जिल्ला जल सम्पदा र वन सम्पदाको पनि निकै धनी रहेको छ। कर्णाली, सेती, बृद्धगंगा, कैलाश खोला, भानाकोट गाड, रामारोशन ताल, चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसी खोला, तालागाड खोला, चिल्ताडागाड खोला आदि।

(श्रोत : जिल्ला समन्वय समितिको कार्यालय अछाम, विकिपीडिया र अछामका स्थानीय तहका वेभपोर्टल र अन्य स्रोतहरू।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्