काेराेना भाइरसले कसरी बिगार्छ फाेक्साे ?

DR Niraj Bam
  • 58
    Shares
डा.निरज बम

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा र माघको दोस्रो साता नेपालमा पहिलो केश देखिएको कोरोना भाइरस (कोभिड- १९ को महामारीबाट विश्व अझै आक्रान्त छ। विश्वका केही मुलुकमा यसको प्रभाव घट्दो क्रममा रहेको देखिएता पनि हाम्रो देश नेपालमा संक्रमण बढदो क्रममा छ। अझ खुल्ला सीमाना रहेको छिमेकी मुलुक भारतमा त संक्रमणले भयावह रुप लिदै छ। त्यसको असर हामीकहाँ नपर्ने कुरै भएन।

कोभिड- १९ विरुद्ध प्रयोग गर्न अहिलेसम्म निश्चित खोप वा औषधि बनिसकेको छैन। अहिले प्रयोग गरिएका खोप तथा औषधिहरु क्लिनिकल ट्रायलमै रहेकाहरु हुन्। त्यसैले कोभिड-१९ विरुद्धको लडाईका लागि हामीले केही हतियार प्रयोग गर्नु अनिवार्य छ। अनिवार्य मानिएका ती हतियार भनेको एक अर्कासँग कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, सावुन पानीले पटकपटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र मास्कको प्रयोग गर्ने रहेका छन्।

कोभिड-१९ प्रकृतिकै भाइरस सन् २००३ र सन् २०१२ मा पनि फैलिएको थियो। सन् २००३ मा फैलिएको SARS-COV होस् वा सन् २०१२ मा फैलिएको MERS-COV, यी दुबैले गराएका अधिकांश मृत्यु भाइरसले फोक्सोमा गरेको संक्रमणबाट भएको थियो। अहिले आएको कोभिड-१९ को संक्रमण भई लक्षण देखिएका अधिकांशमा पनि फोक्सोमै संक्रमण देखिएको छ।

नेपाल र भारतमा कोभिड- १९ का कारण ज्यान गएका भनिएकाहरुको अध्ययन गर्दा अधिकांश मृत्युको कारण न्यूमोनिया लगायत फोक्सोमा भएका संक्रमणको भएको देखिएको छ। कतिपय बिरामीमा कोरोनाका लक्षण फोक्सोमा संक्रमणबाट शुरु हुन्छन र फोक्सोमै अन्त्य हुन्छन्। धेरै जसोमा रोग प्रतिरोधात्मक शक्ति कम भएका बृद्ध व्यक्ति, मधुमेह, गर्भवती, क्यान्सर, क्षयरोग लागेका व्यक्ति, एचआईभी संक्रमित, मिर्गौला र कलेजोका बिरामी, दमका बिरामी आदिमा जटिल समस्या उत्पन्न भई मृत्यु पनि हुन सक्छ।

कोरोना भाइरसले फोक्सोमा कसरी असर गर्छ ?

मुख तथा नाकबाट शरीरमा प्रवेश गरेको कोरोना भायरस श्वास प्रश्वासको माध्यमबाट फोक्सोका श्वासनली हुँदै फोक्सोका ग्यास एक्सचेन्ज हुने अन्तिम विन्दु अल्भेवली सम्म पुग्छन्। कोरोना भाइरसको बाहिरी सतहमा रहेका स्पाइक ग्लाइको प्रोटिन फोक्सोका कोषका सतहमा रहेका एसिई-२ रिसेप्टरमा सहाहित भई एञ्जिओटेन्सिन-२ को मात्रा प्रशस्त बढाई दिन्छ। एसीई-२ रिसेप्टर भएका कोष फोक्सो, कलेजो, मिर्गौला, मुटु, आन्द्रामा समेत पाइन्छ। तसर्थ यो भाइरसले फोक्सोमा न्यूमोनिया जस्ता संक्रमण र मुटुमा मायोकार्डाइटीस जस्ता रोग उत्पन्न गराउँछ। यो भाइरस फोक्सोका कोषमा प्रवेश गरी एसिई-२ रिसेप्टर प्रयोग गरी भाइरसको गुणात्मक बृद्धि हुने, मानिसको रोग प्रतिरोध क्षमतामा ह्रास ल्याउने र समाहित भएका कोष तथा तन्तुहरु मार्ने काम गर्छ।

फोक्सोका श्वास नलीमा रहेका सिलियालाई यो भाइरसले निस्कृय पारी विभिन्न इन्फ्लामेटरी मेडियेटर उत्पादन गराई साइटोकाइन स्टोर्म शुरु हुन्छ। साथै धेरै कोषहरुको मृत्यु भई श्वासनली लगायत फोक्सोका अल्भेवलीहरुमा तरल पदार्थहरु जम्मा हुन थाल्छ। यसबेला बिरामीमा ज्वरो शुरु भई श्वास प्रश्वासमा कठिनाई उत्पन्न हुन थाल्छ । यसरी फोक्सोमा न्यूमोनिया देखा पर्छ। यसबेला शरीरको रोग प्रतिरोधात्मक क्षमताले भाइरसका विरुद्ध सक्रिय भूमिका खेल्न थाल्छ।

फोक्सोका प्यारेन्काइमाका कोषहरु सुन्निन थाल्छ। यसबेला फोक्सोका कोषमा प्रतिक्रिया उत्पन्न भई सीडी (४ र कोष, इओसिनोफिल, न्युट्रोफिल्स प्रशस्त मात्रामा निस्कन्छ। अल्भेवलार र इन्टरस्टिटिसियल इन्फ्लामेशन हुन थाल्छ। फोक्सोका प्यारेन्काइमाका कोषहरु सुन्नि थाल्छन्। तीब्र गतिमा फोक्सोमा भएको इन्फ्लामेटरटी प्रक्रियाबाट फोक्सोका लाखौँ कोष तथा तन्तुहरुको मृत्यु हुन थाल्छ।फोक्सोका अन्तिम श्वास प्रश्वास विन्दु अल्भेवलीमा यो भाइरसको असरले जम्मा भएको विकारको तरल पदार्थको कारणले अल्भेवलीबाट अक्सिजन रगतमा पठाउने र कार्वनडाई अक्साइड शरीरबाट हावाको माध्यमबाट बाहिर फाल्ने कार्यमा असन्तुलन भई विरामी ‘रेस्पिरेटरी फेलर’को अवस्थामा पुग्छ। तत्काल श्वास प्रश्वासमा कठिनाई हुनसक्छ र त्यसबेला कृतिम श्वास प्रश्वासका लागि भेन्टिलेटमा लैजान पर्न सक्छ।

छातीको एक्सरेमा कन्सेलिडेशन देखा पर्छन्। फोक्सोको कोषहरुमा प्रसस्त मात्रामा साइटोकाइन उत्पादन भई साईटोकाइन स्टोर्मको परिस्थिति सृजना हुन पुग्छ। प्रशस्त मात्रामा भएको इन्फ्लामेसन प्रक्रियाले गर्दा शरीरका रक्तनलीहरुमा परमियविलिटी बृद्धि भई तरल पदार्थ कोषहरुमा पुग्दछ। जसले गर्दा अक्सिजनको प्रवाह शरीरका कोषहरुमा कम भई शरीरका विभिन्न अंगहरुमा असर भई मल्टीअर्गान फेलियरको विकास हुनसक्छ। फोक्सोका प्रशस्त कोष र तन्तुहरुको मृत्यु हुने कारणले पछि फोक्सोमा दीर्घकालिन फाइब्रोसिस र ब्रोङ्कियाक्टिासीस भविस्यमा देखा पर्न सक्छ। यसलाई साधारण भाषामा फोक्सोमा छिद्र वा दाग भएको भनिन्छ।

 

वरिष्ठ छातिरोग विशेषज्ञ डा. बम त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)का सहप्राध्यपक समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्