प्रस्तावित प्रधानन्यायाधीश राणाको संसदीय सुनुवाइ हुने

supreme-court
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाइ हुने भएको छ । उनीविरुद्ध उजुरी गर्न दिएको समय समाप्त भएसँगै संसदीय सुनुवाइ विशेष समितिले आइतबार सुनुवाइ गर्न लागेको हो ।

आइतबार दिउसो २ बजे समितिको बैठक बस्ने जनाइएको छ । कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा राणाले सफाइ दिएका सम्बन्धनमा, पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरी आर्थिक लाभ लिएको भन्दै उजुरी परेको छ ।

यस्तै तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको दाइजोलाई सही ठहर गरेको, विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको विषयमा पनि समितिमा उजुरी परेको छ ।

यसैगरी राणा विरुद्ध पशुपतिनाथ भण्डारी तहकित कार्यालयसमेत मुद्दामा राणाले मोटो रकम असुल गरी फैसला गरेको, रोयल्टी नतिरेपछि बन्द भएका क्यासिनो सञ्चालनको फैसला गरेको र गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विभिन्न फैसला गरेकोलगायतका उजुरी परेका छन् ।

राणासँग यी उजुरीका विषमया सोधपुछ गरेपछि सुनुवाइपछि समितिले आजै स्वीकृत वा अस्वीकृतको निर्णय लिने बताइएको छ । समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक राणा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्