गुरुङहरुको नयाँ वर्ष ‘तमु ल्होसार’मनाइदैँ

लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मानाउने गर्दछन् । आज पुस १५ यस अवसरमा पनि गुरूङ समुदायले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी यो पर्व मनाइरहेको छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् ।

शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताए । उनले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको प्रस्ट पारे ।

राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताइन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन्। ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ अर्थात नयाँ बर्षको रुपमा लिइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ ।