विश्वासको कसीमा जीवन र जगत

Bisheswor Kattel
  • 184
    Shares
विश्वेश्वर कट्टेल

विश्वेश्वर कट्टेल/मानव सभ्यता विश्वासको पद्धतिबाट हुर्केको सभ्यता हो। विश्वासको पद्धति आवश्यकताको दर्शनबाट सिर्जना भएको हो। आवश्यकताले नै मानव जीवनलाई संस्कार र संस्कृतिरुपी सामाजिक बन्धनमा बाँधिदियो। त्यही बन्धन नश्ल, वंश, जाति हुँदै सामाजिक जनजीवनमा भिजेर बस्यो र मानव सभ्यताको मूल्य पद्धतिको रूपमा विकास हुन पुग्यो, जसलाई हामी विश्वासको मूल्यपद्धति भन्दछौँ। यही विश्वासको मूल्यपद्धति नै आज मानव जीवनको मूल्यपद्धति बन्न पुगेको छ।

हिजो संस्कारको रूपमा जे कुरा भित्रियो, आज ती कुरा मानव समुदायको अभिन्न अङ्गको रूपमा स्थापित हुन पुग्यो। अज्ञानता र भ्रमवश स्थापित मान्यताहरू पनि आज सत्य लाग्न थाल्यो। यसरी विगतले आज मानव सभ्यतालाई आफ्नो पकडमा पार्न सफल छ।

स्वयंको निर्णय :– विश्वास व्यक्ति स्वयंको निर्णय हो। विश्वास व्यक्तिको शक्ति र क्षमता पहिचान पनि हो। कमजोर क्षमता बोकेका व्यक्ति ऊ आफैँ आफूप्रति विश्वस्त हुन सक्दैन। आफूलाई विश्वास गर्न नसक्ने व्यक्तिबाट कुनै परिणाम वा उपलब्धीको आशा गर्न पनि सकिँदैन। विश्वास जीवनपद्धतिमा जोडिएपछि मूल्यपद्धतिको रूपमा विकास हुन पुग्छ। मूल्यपद्धति व्यक्ति वा समाज स्वयंको अन्तरचेतनाको आवाज हो, जसका कारण व्यक्ति आफूप्रति स्पष्ट र विश्वस्त हुन पुग्दछ। जटिलताको सामना गर्न र जोखिम मोल्ने आँट गर्दछ। सार्थक परिणाममा विश्वास राख्दछ र विजयीभावले अगाडि बढ्दछ। विश्वास नै व्यक्तिको सबैभन्दा बलियो आधार हो।

आफैँ बाँधिने कबोल :– आफूप्रति विश्वस्त हुनु भनेको जीवन र जगतप्रतिको विश्वास पनि हो। विश्वासले आफ्नो काम र परिणाम हासिल गर्न प्रेरणा प्रदान गर्दछ र सफल पनि तुल्याउँछ। सामाजिक मूल्यपद्धतिमा भने विश्वासका पक्षहरूमा केही भिन्नताहरू पाइन्छन्। विश्वास आफैँप्रति बाँधिने एक प्रकारको कबोल हो। सत्य र असत्यको पहिचान नगरी गरिएको विश्वासका कारणा मानिसले धोका पाएको छ। विश्वासले मानिसको भद्रपनको मापन गर्दछ।

आफूले आफैलाई न्याय गर्न नसक्नु वा आलटाल गर्नु भनेको विश्वासदेखि डराउनु हो। यसलाई अज्ञानता भनिन्छ। ‘विश्वास न कुनै लिखतको आधारमा गर्ने सहिछाप हो, न त आँखा छल्ने काम नै। यो त अन्तर चेतनाको प्रकाशले सुसज्जित विवेकपूर्ण आवाजको निर्देशन हो। विज्ञान र प्रविधिका खोज र अनुसन्धानले यसमा सहजता तुल्याउने प्रयास गरिरहेका हुन्छन्। विश्वासलाई विज्ञानसँग आत्मसात गरेर अगाडि बढ्न आवश्यक हुन्छ।

क्षमता विकास :– क्षमता विकास विश्वासको महत्त्वपूर्ण आधार हो। क्षमता विकासका लागि चेतना विकास हुन पर्‍यो। चेतनाका लागि ज्ञान र ज्ञानका लागि शिक्षा आवश्यक पक्ष हुन्। यिनीहरूले विश्वासलाई बलियो बनाउन र परिणाम प्राप्तिमा सहयोग गरिरहेका हुन्छन्। आफू विश्वासी बन्नु छ भने पहिला आफ्नो क्षमताप्रति विश्वास गर्न सिक्नुपर्दछ। विश्वास गुमेपछि मानिस निरङ्कुश र हठी बन्न पुग्दछ। ऊभित्र अहम्, इगो र स्वार्थ पैदा हुन्छ, जसले उसलाई कमजोर बनाउँछ र पतनको स्थितिमा पुर्‍याउँछ।

अपूर्णबाट पूर्ण :– मानिस आफैमा अपूर्ण अभावग्रस्त प्राणी हो। त्यसैले ऊ हरदम अपूर्ण र अपरिपक्व (अन्पर्फेक्ट) रहन्छ। कसैले म पूर्ण र परिपक्व (पर्फेक्ट) छु भनेर आफूलाई जगाउँछ भने ऊभित्र विश्वास जागेको हुन्छ। अपूर्णबाट पूर्णता र अपरिपक्वबाट परिपक्व हुन अघि बढ्नु नै विश्वासको दर्शन हो। अपूर्ण र अपरिपक्व भनेकै पूर्ण र परिपक्वका लागि तयार भएको आधार हो।

‘आवश्यकता नै सिर्जनाको जननी हो।’ सबैसँग न एकै प्रकारका आवश्यकता हुन्छ, न एकै प्रकारका कमी कमजोरी हुन्छ। एकसँग नभएको तत्त्व, चीज विषयवस्तु वा क्षमता अर्कोसँग हुन्छ। एक अर्काको खुबी क्षमता मिलाएर पूर्णता प्राप्तिका लागि अगाडि बढ्नु नै विश्वास सिद्धान्तको मान्यता हो। यो मान्यता विकासको दशर्न पनि हो। विश्वास अनेकताबाट पैदा भएको एकता हो।

परिपूरक सम्बन्ध :– यो चराचर जगतका कुनै वस्तु पनि दिगो छैन। किनकि, यी सबै क्रियाशील र सक्रिय छन्। एकअर्काबिच बिपरित छन्। तर परिपूरक सम्बन्ध छ। एकअर्कासँग सकारात्मक वा नकारात्मक सम्बन्ध नभएका कुनै पनि चीज वा वस्तु स्वतः विलिन हुन्छन्, हराउने छन् । पृथ्वीसँग सूर्यले दिन र रातमा परिवर्तन गर्न सक्दैन। म पृथ्वीमा जान्न पनि भन्दैन। जति पृथ्वीलाई सूर्यको आवश्यकता छ, त्यति नै सूर्यलाई शक्ति बचाइराख्न पृथ्वी आवश्यक छ।

चन्द्रमाले यसपटक म पृथ्वीको परिक्रमा गर्दिनँ भन्न सक्दैन। चन्द्रमाले चहँदैमा औंशीको रातमा उज्यालो पैदा पनि हुँदैन। किनकि यी सबै एकअर्कामा परिपुरक छन्। शक्तिसँग अनुवन्धित छन् र निश्चित नियममा आवद्ध छन्। नियमप्रति प्रतिबद्ध छन् र त यो चराचर जगत् टिकेको छ। रातपछि दिन आउँछ। हामी विश्वस्त हुन्छौं। यसरी विश्वाससँग सम्बन्ध अन्तर्मिलन भएको हुन्छ।

पूर्वीय सभ्यताको परिचायक अथर्ववेदले पनि पृथ्वीलाई आगम र सूर्यलाई निगम मानेको छ। आगम र निगम विश्वासमा आधारित शक्ति सम्बन्धको पद्धति हो। आगम र निगम भनेको लिनु र दिनु, खानु र फाल्नुको खेल हो। आगम र निगम विपरित छन्। तर एकअर्कामा पिरपुरक छन्। भित्र पसेपछि बाहिर निस्किने छौं भन्ने विश्वास नै निगमप्रतिको विश्वास हो।

गुण–शक्ति निर्धारण :– प्रकृतिमा एकअर्काप्रति परनिर्भर रहने गुण, शक्तिका आधारमा निर्धारण हुन्छ। शक्ति थिएन भने हामीमा पनि त्यो गुण रहने थिएन। परनिर्भर रहने गुणले एकअर्काप्रति अन्तरसम्बन्धको विकास गर्दछ। अन्तरसम्बन्धको विकासले शक्ति सन्तुलन कायम गरी विश्वासको पद्धतिमा चल्नका लागि प्रेरित गर्दछ। शक्ति स्वयं पदार्थभित्र छिपेको हुन्छ। पदार्थबिच पैदा हुने एकअर्काबिचको परिपूरक सम्बन्धले शक्तिलाई जीवन्तता प्रदान गर्दछ र निरन्तर शक्ति पैदा भई रहन्छ।

प्रकृतिलाई एकै रूप र पक्षबाट चिन्न सकिँदैन। हरेक चाल र अवस्थितिको कुनै न कुनै प्रयोजन छ। हरेक पक्ष सक्रिय छ, त्यसभित्र निरन्तरता छ। करोडौँ करोड वर्षदेखिको निरन्तरता, समय सापेक्ष विविध स्वरूप र शक्तिहरू पैदा गरिरहेको छ। यही स्वरूप र शक्ति देखेकालाई हामी वस्तु भन्दछौँ, आकार, प्रकार, रूप, गुणमा देख्दछौं। नामाकरण गर्दछौं। नदेखेका कति कुरा सोच, विचार, अनुमान र अनुभूतिबाट प्राप्त गर्दछौँ। यी सबै पक्ष र विषयवस्तुमा जुन एकअर्काबिच पारस्परिक सम्बन्ध छ, त्यो नै विश्वासको आधार र सिद्धान्त हो।

अविश्वास र सम्बन्ध :– मानिसले आफ्नो शक्ति र क्षमताभित्रका सम्बन्धलाई इच्छाअनुसार चलाउन सक्छ। आवेग, प्रवेग र मनोवेगलाई सम्बन्धसँग गाँस्न सक्छ। पारस्परिक सम्बन्धमा अविश्वास भन्ने कुरा मानिससँग बढी हुन्छ। विश्वास र अविश्वास अनुभूतिजन्य कुरा हुन्। अविश्वास अज्ञानता र भ्रमबाट पैदा हुन्छ।

अविश्वास बलमिचाहले सिर्जना गरेको संस्कृति हो। पृथ्वीका कुनै पनि जीवले एक अर्को जीवप्रति गर्ने मौलिक प्रवृत्ति त विश्वास नै हो। मानिस आफ्नो स्वार्थका लागि बाँच्ने प्राणी भएकाले स्वार्थका लागि उसले अविश्वास पैदा गर्दछ। यस्तो अविश्वास एकपक्षीय दुई वा बहुपक्षीय हुन सक्दछ।

विश्वासको कमी भएर नै मानिसमा कमजोरी पैदा हुन थाल्दछ। आफू सम्हालिन नसकी ऊभित्र मानसिक द्वन्द्व उत्पन्न हुन्छ। यसले मानिस मानिसबिचको सम्बन्धमा दरार उत्पन्न गराउँछ। विश्वासको सङ्कट भई द्वन्द्व निम्त्याउँछ छ। अविश्वासका कारण मानिसबिचका एकता, सद्भाव र भातृत्वका भाव र संवेदनाहरू हराउन पुग्छन्। मानिसको आन्तरिक मनोभावबाट शुरु भएको यो द्वन्द्वपछि कलहमा परिवर्तन भई परिवार, समुदाय हुँदै गृहयुद्ध र गृहयुद्ध विश्वयुद्ध परिणत हुन पुगेको विश्व इतिहास हाम्रैअगाडि छ।

विश्वासको आधार :– विश्वासको आधार भनेको आफू भरोसायोग्य बन्न सक्नु हो। मानिसले विश्वासको आधारमा सफलता हासिल गर्न सक्छ। आफूप्रति विश्वस्त भएर निरन्तर सक्रिय रहन पुग्छ। वस्तुगत अवस्थाको ज्ञानले व्यक्तिमा विश्वास पैदा हुन पुग्दछ। आफूप्रति विश्वस्त हुन सक्ने व्यक्तिले अरूको भावनाको कदर गर्न र अरूप्रति विश्वस्त रहन सक्छ।

विश्वासले मानिसमा आइरहेका आवेग, उद्वेग र संवेगजस्ता विषयकाबारे सचेत रहन सिकाउँछ। कामको मर्म बुझ्न, जिम्मेवारीको बोध गर्न, इमान्दार चरित्र प्रदर्शन गर्न, सत्य–निष्ठामा अडिग रहन र कर्तव्यपरायण हुन विश्वासका आधारहरू हुन्। विश्वासको आधार वस्तुगत विज्ञानबाट सिर्जना हुन सके मात्र विज्ञानको आधार विचार बन्न पुग्दछ। नत्र त मानिसले विश्वासलाई भ्रमको दुनियामा डुलाउन लैजान्छ।

परिवर्तनमा विश्वास :– जीवन र परिस्थितिमा परिवर्तन आउँदा वा बाह्य वातावरणमा देखा परेका परिवर्तनले विश्वासमा परिवर्तन ल्याउँछ। विश्वासले त्यागको माग गर्छ। सत्य निष्ठा बचाउँछ। कठिन र नराम्रो अवस्थामा पनि सँगै रहन सिकाउँछ। चुनैतिमा खेल्न र जुध्न तागत प्रदान गर्दछ। विश्वासको मूख्य आधार भनेकै मूल्यपद्धति आत्मसाथ गर्नु हो। मूल्यपद्धति भनेको परिणाम प्राप्तिको बाटो हो। यो प्रगतिको द्योतक पनि हो।

मूल्यपद्धतिको विकास भएन भने त्यो समुदायमा न्याय र शान्ति कहिल्यै आउँदैन। मानिसले मानिस भएर पनि दासको रूपमा बाँच्न पर्ने अवस्था आउँछ। पछि तिनै दासले मालिकलाई दास बनाउने अवस्था आउँछ। यही क्रम दोहोरिरहन्छ। विश्वासको मूल्यपद्धति भनेको क्रान्ति, प्रगति र शान्ति आधार पनि हो। अरूप्रतिको जिम्मेवारी महशुस गर्ने सद्भावयुक्त चरित्र हो। हरेक विकल्पमध्ये उत्तम विकल्पमा लागिरहनु भन्ने हो। सत्यप्रति दृढ रहन, आत्मविश्वासी र आफूप्रति गर्व गर्न सिक्नु पनि विश्वासको मूल्यपद्धति हो।

विश्वासको मूल्य :– विचारप्रतिको आस्था, विश्वासको दृष्टिकोण हो। विश्वासको दृष्टिकोण भनेकै विश्वासको मूल्य हो। विश्वासलाई विचारले समुन्नत तुल्याउँछ र विचारलाई ज्ञान र शिक्षाले। विश्वास जीवनको आधार हो भने विचार जीवनको मूलबाटो हो। विचार दृष्टिकोणको उपज हो। सही दृष्टिकोणबाट नै सही विचार पैदा हुन्छ। वस्तुतः तत्त्वमा आधारित वैज्ञानिक दृष्टिकोणलाई सही दृष्टिकोण भनिन्छ। वैज्ञानिक दृष्टिकोणले विचारलाई, विचारले ज्ञानलाई र ज्ञानले विश्वासलाई र विश्वासले जीवनलाई सफल तुल्याउँछ। हामी यसलाई विश्वासको साङ्लो पनि भन्न सक्छौं।

आँट र त्याग :– विश्वास कुन आधारमा टिकेर गरिएको छ भन्ने कुराले विश्वासप्रतिको मूल्यले दर्साउँछ। बाटो समातेपछि मात्र त मानिसमा अब कुन दिशातर्फ लागिँदै छ भन्ने कुराको निश्चय गर्ने (निर्णय गर्ने) आँट आउँछ। ज्ञानले आँट र भरोसा जगाउँछ। आँट र भरोसा नै ज्ञानकको प्रतीक हो। जसले विश्वासलाई त्यागको मार्गतर्फ अगडि बढाउँछ। विश्वासलाई ज्ञानले व्यवहारिक तुल्याउँछ। जोसँग आँट हुन्छ, उसँग ज्ञान हुन्छ र ज्ञानले नै त्यागको मूल्य चिन्न सिकाउँछ। त्यागको मूल्य भनेको म जति इमान्दार छु ऊ पनि त्यति इमान्दार छ भन्ने सोचको विकास हो। विषयप्रति सही सोच जन्मिन पुगेन भने त्याग पनि निरीह बन्न पुग्छ।

व्यवहारको निचोड :– विश्वास व्यवहारको निचोड हो। कुनै व्यक्ति, चीज वा विषयवस्तुप्रति प्रभावित भएपछि मात्र विश्वास जाग्ने गर्दछ। प्रभावित बन्नु भनेको त्यसलाई आफ्नो हैसियतले बुझ्नु हो। बुझ्ने विषयवस्तु एकै भए पनि बुझाइ फरक फरक हुन्छ। बुझ्नु ज्ञान प्राप्त गर्नु हो। ज्ञान प्राप्ति भन्ने कुरा तलाउ एउटै हो, पानी कसले कति पाउने भन्ने कुरा हो। जसले जत्रो भाँडो लिएर जान्छ, त्यसले त्यति नै पानी प्राप्त गर्दछ। भाँडो भने सानो बोक्न धेरै पानीको आशा गरेर त भएन नि ! ज्ञान भनेको आफूले पानी भर्न बोकेको भाँडा हो। पहिला मैले कत्रो भाँडो बोकेर गएको छु भन्ने ज्ञान नै वस्तुवादी दृष्टिकोण हो। अतः विषयवस्तुप्रतिको स्पष्ट दृष्टिकोणबाटै विश्वास पैदा हुन्छ। ज्ञान सोच र विचारप्रतिको विश्वास हो।

सुरक्षा कवच :– आधारभूत विश्वास मानिसको सुरक्षा कवचजस्तै हो। यसबाट मानिस आफूलाई सुरक्षित रहेको अनुभूत गर्दछ। र, आफ्नो व्यक्तित्व विकास गर्न, व्यक्ति र समुदायबिच सम्बन्ध सुदृढ तुल्याई समाज रूपान्तरण र परिवर्तन गर्नका साथै पेशागत जीवनलाई उपयोगी र भरपर्दो पार्न मद्दत पुर्‍याउँछ। गुन्डा, चोर, ठगजस्ता प्रवृत्तिमा पनि विश्वास हुन्छ र त उनीहरू अपराध गर्न उत्साहित हुन्छन्।

विश्वास चेतनायुक्त पद्धति हो। विश्वासमा चेतनाले विशेष स्थान ग्रहण गरेकै हुन्छ। यसर्थ ‘विश्वासलाई असुरक्षित समाजमा पनि मिल्न सकिने सुरक्षा कवच भनिन्छ।’ जुन मानिस आफूप्रति विश्वस्त हुन्छ ऊ दृढ र स्वाभिमानी हुन्छ। ऊभित्र चेतना जागेको हुन्छ। उसका खुबी र क्षमताहरू रक्षा कवच बनेर बसिरहेका हुन्छन्।

विश्वासको संघर्ष :– विश्वासको मूल्य पद्धति, जीवन र जगतको आधारमा चलेको र अन्तद्र्वन्द्व नियममा अडेको हुन्छ। जीवनमा सधैँ अमृत मात्रै त बर्सिंदैन, यसका साथमा विष पनि आउँछ। सधैँ सुख त हुँदैन, दुःख पनि आई नै रहन्छ। यी कुरा कसैले निर्धारण गरेर पठाएका वा कसैको खटन–पटनबाट चलेको हो र ? होइन नि ! यो त, स्वतःस्फूर्त रूपमा यस जगतमा भइरहेका विषयवस्तु र घटना प्रकृति नै हुन्। तर, यी कुरा कुनै अमुक शक्तिले तयार पारेको भन्यो भने विज्ञानले त्यसलाई सत्य मान्दैन। र, पनि मानिस विश्वस्त छन्। भ्रमप्रतिको विश्वास त्यागेर वस्तुगत सत्यप्रति उन्मुख हुन नै विश्वासको संघर्ष हो।

विश्वासको संघर्ष नगर्दा एउटा मत्ता हात्ती पनि सानो डोरीमा अल्झिएर बसेको हुन्छ। किनकि, हात्तीको छावा जन्मेदेखि नै उसका गोडामा मोटा सिक्रीले बाँधिन्छ। उसले धेरै बल लगाउँछ, सिक्री छिनाल्न। तर, कहिल्यै सक्दैन। जब ऊ बलमत्ता भइसकेको हुन्छ। ऊ थाकिसकेको हुन्छ। उसलाई त्यस्तो विश्वास परिसकेको हुन्छ कि, मैले जति बल गरे पनि यो सिक्री चुडाउन सक्दिनँ। अब उसको खुट्टामा रसी बाँधिएको हुन्छ। उसको विश्वास यति मजबुत बन्न पुग्छ कि, म यो चुडाउने तागत राख्दिनँ। ऊ आफ्नो विश्वासप्रति शङ्का नै गर्न सक्दैन।

बलियो र सक्रिय :– विश्व द्वन्द्वमय छ। यहाँका हरेक वस्तु तथा विचार सक्रिय द्वन्द्वचक्र पार गर्दै निरन्तर आज पनि अगाडि बढिरहेका छन्। द्वन्द्व सक्रिय रहनुको कारण पदार्थमा रहेका पक्ष र विपक्षबिचको विश्वास नै हो। विश्वासको सङ्घर्षले नै यो चराचर जगत् आजको यस अवस्थामा आइपुग्न सम्भव भएको हो।

प्रकृतिको पद्धति चक्रको रूपमा देखा पर्ने विविध क्रिया प्रतिक्रिया वा त्यसका परिणाम भोग्ने क्रममा मानिसले सुख र दुःखको अनुभूत गरेका हुन्छन्। आफूलाई पनि अन्तर्संघर्षमा समाहित गरेका हुन्छन्। अन्तर्संघर्ष विनाको विश्वास दह्रो र दिगो रहँदैन। विश्वास टिकिरहन विश्वास सक्रिय रहनु पर्दछ। सक्रिय रहन आन्तरिक द्वन्द्व हुनैपर्छ। जसले विश्वासमा देखिने कमजोरी हटाउँछ र विश्वासलाई बलियो र सक्रिय तुल्याउँछ।

प्रतिविम्ब नै विश्वास :– विश्वास प्रतिविम्ब हो, जसले जे कुरा जसरी अनुभूत गर्दछ, त्यो नै प्रतिविम्ब हो। विश्वास त्यही प्रतिविम्वमा टिकेर गरिएको हुन्छ। पकेटमारले आफ्नो पेसा नराम्रो भन्छ र ! एउटा पुरेत, पुरेत्याइँ पेसा नराम्रो हो भनी उसले कहिल्यै मनमा जगाउन सक्दैन। म सबै मृतात्माको वैतरणी तार्ने हुँ भनेर घमण्ड गर्दछ। त्यो विश्वास नै उसको भ्रमको व्यापारको आधार हो। एउटा सामन्तले कहिल्यै शोषण गर्न हुँदैन, ठग्न हुँदैन भनेर भन्छ र ? भन्दै न नि ! ठग्नु शोषण गर्नु नै उसले आफ्नो धर्म ठान्छ र यसैमा विश्वासको प्रतिविम्ब देखेको हुन्छ।

हिजो विश्वविख्यात दार्शनिक एवं विद्वान प्लेटोले दासप्रथाको विरोध नै गरेनन्। दास आवश्यकता ठाने। अझ अरिस्टोटल (अरस्तु) ले त मानिसलाई जसरी खान लाउन जरुरी छ, सम्भ्रान्त परिवारका लागि दास त्यति नै जरुरी छ भनेर संविधानमा नै उल्लेख गरे। पछि त्यही स्थानबाट दास प्रथाको अन्त्य भयो। दासहरू राज्यको नीति निर्माण तहसम्म पुगे। हुने खानेहरूभन्दा सफल जीवन निर्वाह गर्न पुगे। यो विश्वासको शक्ति र परिणाम हो।

निर्णयमा विश्वास :– विश्वासलाई ज्ञानले समयअनुरूप व्यवस्थित गरिरहेको हुन्छ। समयको ज्ञान सामाजिक विश्वास र अन्तर्संघर्षको उपलब्धि हो। सक्रियताको परिणाम हो। परिवर्तनको सङ्केत हो। विचार र दृष्टिकोणले नै हो दिशाबोध गराउने विज्ञान हो। विज्ञानले वस्तुलाई जस्ताको तस्तै हेर्न, देख्न र खोज्न प्रोत्साहित गर्दछ। सिद्धान्तले वस्तुगत तथ्यका आधारमा कार्यक्रम र कार्यक्रमले सक्रियता प्राप्त गर्दछ। सक्रियताले विश्वास र विश्वासले सही निर्णय गर्न र कार्यान्वयन गर्न प्रधान भूमिका खेल्दछ।

पद्धतिलाई चुनौती :– बलियाले निर्धालाई खाएर वा कजाएर हुन्छ कि जसरी हुन्छ, एउटा सन्तुलन मिलाई राख्ने प्रक्रिया प्राकृतिक पद्धति हो। यो संसारमा टिक्नु वा बाँच्नु छ भने सबल र सक्षम बन्नैपर्दछ। त्यसका लागि आफू विश्वस्त बन्ने पर्दछ। निर्धालाई बाँच्ने छुट छैन भन्ने नियम प्रकृतिको हो। आफू बाँच्नका लागि निर्धाले पद्धतिलाई चुनौती दिई अन्तिम अवस्थासम्म पनि संघर्ष गरिरहन्छ। सङ्घर्षले निर्धोलाई सक्रिय तुल्याउँछ र आफूप्रति विश्वास जगाउँछ। विश्वास जाग्नु नै विजयको आधार हो।

विश्वासकै आधारबाट सङ्गठन र प्रविधि निर्माण हुन पुग्दछ। सङ्गठनले एकातर्फ मानिसका खुबी र क्षमताको भरपुर प्रयोग गराउँछ भने अर्कोतर्फ एकता सद्भाव पैदा गर्दछ। कमजोर पक्षले पनि बलियो पक्षलाई परास्त गरेर यो प्रकृतिमा टिकिरहन सकेको छ। सङ्गठनले व्यक्तिमा थप शक्ति प्रदान गर्दछ। व्यक्ति संस्थागत बन्न पुग्छ र बलियो हुन्छ। यसरी प्राप्त शक्ति नै सङ्गठनप्रतिको विश्वास हो। विश्वास जति मजबुत बन्दै जान्छ, त्यति नै प्रभावकारी परिणाम प्राप्त हुन्छ।

परिवर्तन विज्ञानको द्योतक हो। विश्व जगत् परिवर्तनशील भएकाले विचार पनि समयक्रमसँगै परिवर्तन भई नै रहन्छ। विचारको परिवर्तन भनेको विश्वासको परिवर्तन पनि हो। समयसापेक्ष परिवर्तनसँगै विश्वासलाई कायम राख्न गरिने कार्यले मानिसलाई आफूप्रतिको विश्वास जगाई जीवनमा थप ऊर्जा र प्रेरणा प्रदान गरिरहेको हुन्छ।

उच्च चेतना :– विश्वास उच्च चेतनाको प्र-भावना हो। यसले अरूको आवश्यकताका लागि आफ्नो इच्छा त्याग्न प्रेरित गर्छ। सामाजिक आवश्यकताहरू व्यक्तिगत चाहना भन्दा बढी महत्त्वका हुन्छन्’ भन्ने मान्यताले विश्वासलाई सम्वृद्ध तुल्याउँछ। विश्वासप्रतिको दृढता नै उच्च चेतना हो। जसले विश्वास जगाउन र दृढ रहन प्रेरित गरेको हुन्छ। विश्वासलाई उत्तम विकल्पको छनोट पनि भनिन्छ। यसले वस्तुगत आवश्यकतामा हरेक विकल्पको खोजी गर्दछ। त्याग गर्न र दुःखको सामना गर्न प्रोत्साहित गरिरहेको हुन्छ।

उच्च चेतनाले विश्वासिलो सम्बन्धको आधार तयार गर्छ। गलत सम्बन्धको पर्दाफास गर्छ। मौकेवाज र धोकेबाजहरूको उछित्तो काढ्छ। यो आफूमाथि गर्व गर्न पाउने विषय पनि हो। यसले आफैमाथि पनि शङ्का दाग्न छाड्दैन र आफूलाई विश्वासिलो ठान्दछ। उच्च चेतना विश्वासको आन्तरिक क्षमता जाँच गर्ने कसी हो।

विश्वास र समर्पण :– विश्वासले सार्वभौमतालाई चिन्न मद्दत गर्दछ। अन्धकारभित्रको रोशनी देख्ने क्षमता विश्वासमा हुन्छ। यसले वस्तुगत अवस्थाको सही पक्षपोषण गर्दछ। विश्वासमा समर्पण र त्याग हुन्छ। समर्पणमा आफ्नो निजी जीवन ढुटिएको हुन्छ। कहिलेकाहीँ यस्तो अवस्थामा आफूप्रति व्यक्तिगत आशा गर्नेहरू निराश बन्न पुग्छन्। त्यसैले विश्वासभित्र ठूलो त्याग छिपेको हुन्छ।

अरूको आशा जगाउनु नै विश्वास भएकाले विश्वासको मूल्यको तय भने विचारले नै गरेको हुनुपर्दछ। नत्र जो काम गर्दछ, ऊ नै गधा हो भन्ने ठहरिन्छ। विश्वासले त्यागको मुल्यमा आत्मसन्तुष्टिबाट प्राप्त गर्छ। विचारप्रतिको विश्वासबाट सामाजिक व्यक्तित्व, आदार, सद्भाव, सम्मान र सत्कार उसका सम्पत्ति बन्न पुग्छन्। ऊ आफू सामूहिक र साझा बन्न पुगेको अनुभूत गर्दछ। किनकी, साझा विचार बोक्ने व्यक्ति साझा हुने नै भयो।

चरित्र र दृढता :– विश्वास व्यक्तिको चरित्रप्रतिको दृढता हो। असीमित इच्छा त्यागेर सीमित आवश्यकतातर्फ प्रेरित हुनु यसको प्रकृति हो। विश्वास जीवन जिउने संवेदनशील कलाभित्रको दृढता हो। विश्वास घमण्डी, ढोङी, स्वाँगी हुनै सक्दैन। यस्तो हुनु भनेको भ्रमको विश्वास हो। जो काल्पनिक हुन्छ र वस्तुगत जगतभन्दा बाहिरको हुन्छ। आजको विश्वमा भ्रमको व्यापार सबैभन्दा बढी फस्टाएको व्यापार हो। भ्रमबाट निस्किएर वस्तुगत जगतको यथार्थ अवस्था पहिचन गर्ने ज्ञानले नै विश्वासलाई सिर्जनशील तुल्याउन सक्छ।

विश्वास र कर्तव्यबिच घनिष्ठ सम्बन्ध रहेको हुन्छ। विश्वासको सार्थकता कर्तव्यसँग जोडिएको हुन्छ। कर्तव्यको रूपमा जिम्मेवारी रहेको हुन्छ। जिम्मेवारी कार्यपद्धतिसँग आबद्ध रहन्छ। कार्य पद्धति कार्यको व्यवस्थितिकरण हो। यसले कार्य सम्पादनलाई परिणाममुखी र लक्ष्य प्राप्तितर्फ अगाडि बढाउँछ। विश्वासलाई दह्रिलो पार्छ। शक्ति आर्जन गर्दछ र परिणाम प्राप्तिको क्रियामा आफ्नो चरित्रलाई दृढतापूर्वक प्रस्तुत गर्दछ र सङ्घर्षलाई तेज बनाउँछ।

क्षमता र विश्वास :– विश्वासको पीडादायी पाटो भनेको कठिन अवस्थामा पनि त्यसलाई स्वीकार्नु हो। यसले सक्रिय जीवनको प्रतिनिधित्व गरेको हुन्छ। विज्ञानलाई बोकेको हुन्छ। क्षमता विनाको विश्वास आकाशमा उडेको चङ्गाजस्तै हो। जो हावाको गति र बाँधिएको धागोको सन्तुलनसम्म मात्र टिकिरहन सक्छ। विश्वास क्षमताको परिचायक पनि हो। क्षमता ज्ञानको मजबुत पक्ष हो। ज्ञान व्यवहार र सङ्घर्षको कलात्मक उत्पादन पनि हो।

क्षमता बहुप्रतिभाशाली हुन्छ। यसमा सहन गर्ने र क्षमा दिन सक्ने खुबी छिपेको हुन्छ। यसलाई उच्च बौद्धिक सोच भन्ने गरिन्छ। विश्वासलाई जगाउने यो पनि महत्त्वपूर्ण पक्ष हो। दुःख, दर्द, हन्डर, पीडा, ठक्कर खाँदा पनि कहिलेकाहिँ क्षमा दिन पनि जान्नुपर्छ। यसलाई विश्वासप्रतिको प्रतिबद्धता भनिन्छ। विश्वासकै फाइदा उठाएर कसैले घात गर्छ भने त्यसलाई समयोचित दण्ड दिनु र अगाडि बढ्नु विश्वासको अर्को पक्ष हो।

आस्था र समय :– आस्था र विश्वास एकै किसिमको छैन। आस्था नभई विश्वास जाग्दैन। आस्था समर्पण हो। विश्वास पनि समर्पण हो। विश्वासलाई समयको कसीमा राखेर मूल्याङ्कन गरिरहनुपर्दछ। विश्वास मूल्यपद्धति र चेतनामा आधारित छ। मूल्यपद्धति समयले बनाएको नियम हो। समयअनुसार मूल पद्धति फेरिनु भनेको विश्वासमा परिवर्तन हो।

विश्वास विचारमा आएको अन्तरसम्बन्ध र त्यसको प्रभावप्रतिको विषय पनि हो। विचार जगतका सकारात्मक र नकारात्मक पाटाले विश्वासलाई वशीभूत पारिरहेका हुन्छन्। नकारात्मकतालाई सकारात्मक ठान्ने प्रवृत्तिले वास्तविकता खोज्न दिँदैन। वास्तविकताभन्दा बाहिरका विषयवस्तु भनेको पद्धति र नियम विरुद्धका विषयवस्तुहरू हुन्। तर, विश्वास त पद्धति र नियममा चल्ने कुरा हो। यो दृढ आस्थाको अभिव्यक्ति पनि हो।

ज्ञानको उत्पादन :– पद्धति हरेक वस्तुमा चल्ने अन्तरसङ्घर्षका नियमहरूको सँगालो हो। पद्धतिको उलङ्गनले विश्व जगत् कुनै पनि चीज वा विषयवस्तुलाई अधोगतितर्फ धकेल्दछ। मानिस पनि प्रकृतिको उत्पादन भएकाले मानिसमा पद्धति उलङ्घनका क्रिया चलिरहन्छ। यसले मानिसलाई अल्छी, ढोङी, काँतर वा राक्षसी बनाउँछ। वहाना गर्नेहरू जन्माउँछ र समाजलाई अपाहिज तुल्याउँछ।

विश्वासले समयको कसीमा राखेर यस्ता हरेक कुराको समीक्षा र मूल्याङ्कन गर्न सहजता प्रदान गर्दछ। सिद्धान्तप्रति मानिसलाई विश्वस्त तुल्याउँछ। कार्यप्रति जिम्मेवारी बोध गराउँछ। गलत तत्त्वसँग कसरी लड्न र भिड्न पर्छ भन्ने सिकाउँछ। स्वयंलाई सक्रिय, जिज्ञासु र सचेत रहन प्रेरित गरिरहन्छ।

स्वःमूल्याङ्कन :– स्वःमूल्याङ्कन विश्वास मूल्यपद्धतिको अभिन्न अङ्ग हो। मूल्य पद्धतिप्रति हामी कति गम्भिर छौं, कति इमानदार छौं ? हाम्रा चेतना स्तरलाई कुन उत्पादन सम्बन्धका आधारबाट अगाडि बढाएका छौं ? उत्पादन पद्धतिले त्यसका कस्तो भूमिका खेलेको छ भन्ने कुराको स्वःमूल्याङ्कन गर्ने आधार विश्वास नै हो।

चेतनास्तरको आधारअनुसार विश्वास तयार हुन्छ। हामी कोप्रति बढी इमानदार रहने ? व्यक्ति समाज सामाजिक संरचना ? विश्वासप्रतिको इमान्दारिताले सर्वपक्षीय हिमायतीका वकालत गर्नैपर्छ। जति इमान्दारको आदर हुन्छ, त्यति नै विश्वासप्रतिको कदर हुन्छ। हामी हाम्रा मूल्यपद्धतिप्रति इमानदार बन्नु भनेको जीवन पद्धतिप्रतिको इमान्दारिता हो।

र, अन्तमा

जीवन द्वन्द्वमय छ। चेतनाले यसमा स्पष्ट भूमिका खेलेको हुन्छ। जीवन प्रतिको बोधगम्यता नै जीवन र जगतप्रतिको आधारभूत विश्वास हो। विश्वासको जगतमा नै जीवन अडेको छ। जीवन नरहन पनि सक्छ। तर जगत् रही नै रहन्छ। जीवन र जगत् दुवैमा द्वन्द्व छ। यिनीहरूबिच चल्ने तीव्र आन्तरिक सङ्घर्षको कारण नै जीवन र जगत्को भविष्य निश्चित र सुन्दर छ।

परिवर्तनको यो सक्रिय पद्धतिमा कुनै बेला जगत् परिवर्तन भएर जीवन नबन्न सक्ला ! तर, जीवन परिवर्तन भएर जगत् त बन्दछ। जीवनको द्वन्द्वले नै जीवन जिउने कला दिएको छ। यो जीवनप्रतिको विश्वासको उपज हो। जीवको उत्पत्ति, विनाश र विकास निरन्तर छ । जीवन र जगतको अध्ययनले सत्यको मार्ग प्राप्त हुन्छ। यसबाट भ्रमका व्यापारीहरुको चिल्लीबिल्ली हुन पुग्छ। सत्य र न्यायमा रमाउने समाज निर्माणका लागि विश्वास, विश्वासका लागि ज्ञान र ज्ञानका लागि सही विचार र दृष्टिकोण नै विकासका नियम हुन्। आवश्यकताका नियम हुन्। यो नै विश्वासको पद्धति हो। जसले प्रत्येक युग, चरण वा काल–खण्डको प्रतिनिधित्व गरिरहेको हुन्छ। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्