‘प्रहरी जनताको साथी बन्नुपर्छ’ : महानिरीक्षक खनाल

IGP kanchanpur
लाेकपाटी न्यूज

कञ्चनपुर, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमूखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आइतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

अवैध हातहतियार, महिला हिंसा, लैंगिक हिंसा, भ्रष्टाचार, गुण्डागर्दी, चोरी, डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जोसुकैलाई पनि कानूनबमोजिम कारवाही गर्नुपर्ने बताए ।

कार्यालयमा आउने सेवाग्राहीलाई पीडितमैत्री व्यवहार प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए । कार्यालय व्यवस्थापन, जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन सक्ने गरी प्रहरी कर्मचारीहरू हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए । संगठनको नीति विपरित काम गरेमा जोसुकै पनि कारवाहीको भागिदार हुने उनले बताए ।

समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रमबाट अपराध अनुसन्धान लगायत सबै प्रकारका प्रहरी कार्यमा पर्याप्त सहयोग पुग्ने भएकाले यसको कार्यान्वयनमा थप सक्रियता अपनाउनुपर्ने उनले उल्लेख गरे । प्रहरीले प्रविधिको उच्च प्रयोग गरी छिटो छरितो काम गर्नुपर्नेमा उनले जोड दिए ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका अभियुक्तका आफन्तहरू तथा पीडित परिवारसँग भेटघाट समेत गरेका थिए ।

जनतासँग महानिरीक्षकको अन्तरक्रिया

खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आइतबार अन्तरक्रिया गरेका छन् । कार्यक्रममा उनले समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले समाजसँगको समन्वय र सहकार्यमा काम गर्दै आएको बताए ।

महिला हिंसा, हत्या, बलात्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको उल्लेख गरे ।

कञ्चनपुर जिल्ला अन्तर्गतका प्रहरी कार्यालयलाई साधनस्रोत तथा भौतिक पूर्वाधार निर्माणमा प्राथमिकतासाथ हेरिएको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसले प्रहरी कार्यमा थप सक्रियता र सफलता मिल्ने विश्वास व्यक्त गरे । दखनालले अन्तरक्रियामा उठाइएका गुनासाहरूको सम्बोधन गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरू नागरिक समाज, महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।