दीगो कृषि र राज्यको जिम्मेवारी

  • 363
    Shares
सन्तोष अधिकारी

सगरमाथा र गौतम बुद्धको जन्मथलो भनि चिनिने देश नेपालमा ६५% जनता कृषिमा निर्भर छन्। राष्ट्रको २७% कुल राष्ट्रिय ग्राहस्थ उत्पादन कृषि पेशामा आश्रित छ। संयुक्त राष्ट्रसँग विश्व खाद्य संगठनको आव्हानमा हरेक वर्ष अक्टोबर १६ का दिन नेपालमा पनि विश्व खाद्य दिवस मनाइन्छ। यस वर्ष ‘हाम्रो पहल दिगो कृषि, पोषिलो आहार’ भन्ने नाराका साथ ४० औं विश्व खाद्य दिवस मनाउन लागिएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुता नेपाली नागरिकको नौसर्गिक अधिकार भनिरहँदा के सम्पूर्ण नेपाली जनताले यसको अनुभव गर्न पाएका छन् त ?

संयुक्त राष्ट्रसँग विश्व खाद्य संगठनले तोकेबमोजिम ३११९ किलो क्यालोरी प्रतिव्यक्ति प्रतिदिन खाना हुँदा मात्र सन्तुलित आहारा हुने भनिए तापनि एक नेपालीले औसतमा १५००–१६०० किलो क्यालोरी प्रतिदिन पाइरहेको अवस्था छ। २०२० को ग्लोवल हंगेर इन्डेस्कअनुसार नेपाल १९.५ अंकको साथ ७३ औं स्थानमा पर्दछ, जुन सामान्य होइन। एक सामान्य मानिसलाई फलफूल र तरकारी गरी दैनिक ४०० ग्राम र ६५/८० ग्राम गेडागुडी चाहिन्छ।

आधुनिक कृषि प्रविधिका नाममा विभिन्न थरिका रासायनिक मल, किटनाशक विषादी, होर्मोनहरुको प्रयोग बढ्दै गइरहेको छ। किसानले उत्पादन गरेको कृषि उपज बिना बिचौलिया र बिना ब्यापारी उपभोक्ताको घरमा पुग्दैन। जसका कारण किसान आफ्नो लागत मूल्य पनि नउठ्ने अवस्थामा पुग्छन्। योभन्दा पनि अचम्मलाग्दो कुरा त नेपाली किसानको तरकारी फलफूलले बजार नपाइकन भारतीय तरकारी र फलफूल खानुपर्ने बाध्यता छ।

कृषि मन्त्रालयबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि विकासको नाममा औद्योगीकीकरण, व्यवसायीकरण तथा यन्त्रिकीकरण भनेर विभिन्न मोडेलहरु सञ्चालन गरिरहँदा पनि देश अझै परनिर्भर बन्दै गइरहेको छ। छोटो समयमै धेरै उत्पादन लिने हेतुले विभिन्न रासायनिक मल, किटनाशक विषादी, हाइब्रिड बिउ विदेशबाट आयातित प्रयोग भएको छ, जसको कारण निकट भविष्यमा ठूलै संकट देखिने सम्भावना छ। यी सबै विकृतिलाई हटाएर कृषि उत्पादन र बजारीकरणलाई सही दिशातर्फ डोर्याउँदै सम्पूर्ण नेपाली किसानका मुहारमा हाँसो ल्याउन सक्ने नीति र कार्यक्रमको खाँचो छ।

हाम्रो देशको भौगोलिक विविधता, जलवायु, धार्मिक, सांस्कृतिक विविधता प्रत्यक्ष रुपमा कृषिसँग जोडिएको छ। आफ्नै मौलिक प्रविधि र पौराणिक सीपलाई सुधार गरेर भौगोलिक अवस्थामैत्री, हावापानीमैत्री र उपलब्ध स्रोत साधनलाई प्रयोग गरी भविष्यसम्म निरन्तरता दिनसक्ने प्रविधि नै दिगो कृषि प्रविधि हो। विदेशबाट आयातित हाइब्रिड बिउ महंगोमा किन्नुभन्दा आफ्नै देशका विभिन्न थरिका स्वाद र पौष्टिक गुणले भरिपूर्ण बिउबिजनको प्रयोगलाई महत्व दिनुपर्छ। राष्ट्रिय कृषि अनुसन्धान परिषदले पनि स्वदेशी बिउमै अनुसन्धान बढाई सुधार गर्दै किसानसम्म पुर्याउनुपर्दछ। उत्पादनका हिसाबले कम भएतापनि त्यसमा भएको रोग किरासँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति भएका विभिन्न बालीका जातलाई जिन बैंक स्थापना गरी संरक्षण गर्नुपर्दछ। देशको संघीयताको आधारमा हरेक स्थानीय निकायमा एउटा जिन बैंक स्थापना गर्दा राम्रै हुन्छ।

सहरी क्षेत्रमा गरिने कृषि कर्ममा प्रांगारिकभन्दा रासायनिक मल र विषादी बढी प्रयोग हुँदै आएको देखिन्छ, जसको कारण विदेशबाट मल आउने क्रम रोकिँदा विभिन्न ठाउँमा खडेरी लागेको अनुभव हुन्छ। कृषिमा रासायनिक मलको मात्रा घटाउँदै स्थानीय वनस्पति र गोठेमललाई प्रयोग गर्दै प्रांगारिक कम्पोस्ट उत्पादन गर्न सकिन्छ। यसमा सरकारले प्रांगारिक खेतीलाई बढी प्राथमिकता दिन जरुरी देखिन्छ। त्यसैगरी रोग किरा नियन्त्रण गर्नका लागि रासायनिक विषादीको मात्रा प्रयोग भइरहेको छ, जसको कारणले निकट भविष्यमा ‘पेष्ट आइटब्रेक’ हुनसक्ने सम्भावना छ भने अर्कोतिर मानव स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको देखिन्छ। रोग किरा नियन्त्रण गर्न सरकारले आपीएम मोडेललाई प्रोत्साहन दिनुपर्ने देखिन्छ।

हरेक वर्ष करोडौं रुपैंयाँ दिने गरेको अनुदानको रकम वास्तविक किसान पहिचान गरेर मात्रै दिनुपर्दछ। कागज र पहुँचको आधारमा अनुदान बाँड्ने प्रविधि तत्कालै हटाइनुपर्दछ। हरेक दिन रोजगारीको सिलसिलामा विदेसिने युवालाई स्वदेशमै कृषिमा उद्यमी बन्ने वातावरण सिर्जना गरिनुपर्दछ। कोभिड-१९ ले गर्दा रोजगारी गुमेर नेपाल फर्किंदै गरको जनशक्तिलाई कृषिमा आकर्षण गर्नका लागि कृषि उद्यम तालिम तथा सजिलो तरिकाले अनुदान तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गरिनुपर्दछ।

खेतीयोग्य जग्गालाई प्लटिंग हुनबाट रोक्ने नीतिको आवश्यकता देखिन्छ। गाउँघरका बाँझा खेतबारी पुनः कृषि कर्ममा उपयोग गर्नसक्ने नीतिको आवश्यक देखिन्छ। उत्पादनको साथसाथै कृषि उपजको बजारीकरणमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने देखिन्छ। कृषिमा इन्सुरेन्स र न्यूनतम लागत मूल्यको कुरा पनि कागज र भाषणमै सीमित हुनु भएन। दिगो कृषि प्रणाली अपनाएर स्वदेशी उत्पादनमा निर्भर हुन सके मात्रै पूरा गर्न सकिन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा।

अधिकारी त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान बालीरोग विषयमा अध्ययनरत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्