यसकारण चिसो बढ्यो

Cold
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस । वायुमण्डलको माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीव्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असरले अहिले चिसो बढाएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए ।

पृथ्वीको सतहबाट करिव १० किमी उचाईबाट जेटस्ट्रिम तिब्बतर्फ बहने बताउँदै उनले भने, ‘२/३ सय मिटर प्रतिसेकेन्डका दरले यस्तो वायु ‘मुभ’ हुन्छ, त्यसको प्रत्यक्ष असर तिब्बतीतर्फ पर्छ तर धेरथोर प्रभाव नेपालमा समेत पर्छ ।’ बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा १४/१५ किमी उचाई माथि र हिउँदयाममा २/४ किमीतलबाट बहने गरेको शाक्यले प्रष्ट्याए ।

भौगोलिक अवस्थिती अनुसार जेटस्ट्रिमको असर पनि फरक पर्ने उनको भनाई छ । यससँगै जमिनको सतह भएर भित्रिने यूरोपेली वायुले हिमालय शृंखलालाई छोएर अन्यत्र फैलिँदा समेत चिसो बढेको मौसमविद्हरुको ठहर छ । हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालको पश्चिमी भेगबाट भित्रिने यूरोपेली वायु मुलुकको पूर्वी भेगहुँदै बंगलादेश तर्फ फैलिने गर्छ । आजको नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।