वसन्तपुरको दसैं घरमा राखियो जमरा

pic 2
वसन्तपुरस्थितस्थित दसैंघरमा शनिबार जमरा राखेपछि पूजापाठ गरिँदै । तस्वीरः रोशन सापकोटा/रासस ।
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। नवरात्रको पहिलो दिन आज घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ। दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ।

घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ। नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै शनिबार बिहान ११ः४६ को शुभसाइतमा जमरा राखिएको हो। कोभिड-१९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर जमरा राखिएको शार्दुलजंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताए।

विश्वनै कोभिड- १९ बाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर निरन्तरता दिइएको उनले बताए। बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ। घटस्थापना गर्दा पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्