यस वर्षको दशैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने

pic 3
  • 6
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। यस वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। कोरोना भाइरस (कोभिड( १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएका हुन्।

यस वर्षको दसैं शनिबारबाट सुरुवात भइसकेको छ। टीका लगाउने दिन कात्तिक १० गते परेको छ। विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुईरतीन दिनसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए। उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए । यसपटक कोरोनाका उनी उच्च स्वास्थ्य सतर्कता अपनाइरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन्।

शाहका तर्फबाट जारी विज्ञप्तिमा दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ। यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ। विगतका वर्षहरूमा पूर्वराजा शाहले दसैंका अवसरमा मुलुकका विभिन्न भागमा रहेका शक्तिपीठहरूमा गएर पूजाआजा गर्ने र दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए।