९० करोडको गुरुयोजना बन्दै

लाेकपाटी न्यूज

घोराही, १६ पुस । दाङको पर्यटन विकासका लागि रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धन गर्न सो तयारी गरिएको हो ।

पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । उनले पहिले पनि ७० करोडको गुरुयोजना बनाई कामहरु सम्पन्न गरेको बताउँदै छुटेका कामहरु समेटेर बृहत गुरुयोजना बनाउने तयारीमा रहेको बताए ।

नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि ४ हजार ९ सय ६३ सिँढी निर्माण गर्ने जस्ता कार्य पर्नेछन् । सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने भनिएको छ ।

यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए । उनले यसका लागि कानूनी प्रक्रिया अघि बढिरहेको बताउँदै प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको समेत बताए ।