‘गणतन्त्रको कुनै औचित्य छैन’ : पशुपतिशमशेर राणा

Pashupati Shamsher Rana (2)
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाइएको बताएका छन् ।

रिपोर्टर्स् क्लबमा बोल्दै राणाले बिलासी राष्ट्रपति र गणतन्त्रको अब औचित्य नभएको बताए । उनले भने, ‘राष्ट्रपतिलाई सुविधा नै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ ।’

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भिर आरोप लगाए । राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष राणाले भने, ‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन । जनताको बारेमा चिन्ता गर्न सकेको छैन्, यो मेरो आरोप होइन, सत्य हो, नेकपाको सचिवालय बैठकमा समेत सरकारका कामकार्वाहीको बारेमा नेताहरुले असन्तुष्टि पोख्नुभएको छ।’

राणाले नेपाललाई हिन्दूराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन् । उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताए ।

उनले अघि थपे, ‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ । तर, मुलुकलाई हिन्दूराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन त्यो उसको कुरा हो, म त भन्छु प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ ।’

राणाले राजा महेन्द्र शाह र बिपी कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन् । साथै, उनले आफू र आफ्नो पार्टीले इतिहासमा देशका लागि योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गर्ने पनि बताए ।

उनले भने, ‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र बिपी कोइराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका बिपीले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्थाबिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो, व्यक्तिगत रुपमा महेन्द्र र विपिका बीचमा टकराव भएपनि उहाँहरु दुरदर्शी नेता हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुुनुहुन्थ्यो ।’

आज मेलमिलाप दिवस भएको उल्लेख गर्दै उनले कांग्रेसले विपिको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘हामीले ईतिहासमा मुलुकलाई योगदान पु-याउने सम्पूर्ण वीर पुरुषहरुलाई सम्मान गर्नुपर्छ ।’
उनले अघि थपे, ‘महेन्द्रकालमा बिपीले जनमतसंग्रह माग्नुभयो, त्यो सम्पन्न भयो, त्यसपछि राजा वीरेन्द्रको पालामा गलत सल्लाहकारका कारण नेपालको राजनीतिक र राष्ट्रियता कमजोर बन्यो, त्यसपछिको समय झनै गम्भिर बन्दै गएको छ, वर्तमान दुई तिहाईको सरकारले विदेश नीतिलाई सन्तुलित राख्न सकेको छैन्, आज सरकारको यही कमजोरीका कारण देश खतराको बाटोतर्फ जाँदैछ ।’