कादर खानको निधन, को हुन् उनी ?

Kadar Khan
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडका चर्चित अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि कादरलाई स्वासप्रश्वासमा समस्या बढेको थियो । पछिल्लो समय उनी क्यानडाको एक अस्पतालमा उपचार गराइरहेका थिए । कादर खानलाई अन्तिम पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘दिमाग का दही’मा देखिएको थियो ।

कादर खानका छोरा सरफराजले उनको निधनको जानकारी दिएका हुन् । स्मरण रहोस्, उनलाई ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर’ थियो । जसकारण उनको दिमागले समेत काम गर्न छोडिसकेको थियो ।

कादर खानको जन्म २२ अक्टोबर १९३७ मा काबुलमा भएको थियो । उनले सन् १९७३ मा ‘दाग’ फिल्मबाट अभिनयमा हात हालेका थिए । यसमा राजेश खन्ना मूख्य भूमिकामा थिए । ‘बाप नम्बरी बेटा दश नम्बरी’, ‘अंगार’, ‘हिम्मतवाला’, ‘सिक्का’, ‘आँखे’, ‘मे खिलाडी तु अनाडी’, ‘कुली नं १’, ‘साजन चले ससुराल’, ‘दुल्हे राजा’ लगातका चर्चित फिल्ममा उनले काम गरिसकेका छन् ।

यसअघि उनले रणधीर कपूर र जया बच्चनको फिल्म ‘जवानी-दिवानी’का लागि संवाद लेखेका थिए । उनी एक कलाकार मात्र नभई राम्रा फिल्म लेखक पनि थिए । उनले २५० भन्दा बढी फिल्मका संवाद लेखेका छन् ।