वीगन्जमा हर्न बजाउन र प्लाष्टिक प्रयोगमा निषेध

लाेकपाटी न्यूज

नीरज पिठाकोटे
वीरगन्ज, १७ पुस । मंगलबार बिहानै सेतो टोपी लगाएका ट्राफिक प्रहरीहरु वीरगन्जको मुख्य चोक घण्टाघरमा देखिए । उनीहरुले मोटरसाईकल चालकहरुलाई रोकेर हर्न नबजाउन आग्रह गरिरहेका थिए । वीरगन्ज महानगरपालिकामा मंगलबारदेखि हर्न बजाउन र प्लास्टिकजन्य सामानको प्रयोगमा निषेध गर्ने घोषणा गरेसँगै त्यसको कार्यान्वयनका लागि बिहानैदेखि ट्राफिक प्रहरीहरु सडकमा खटिएका थिए ।

गत मंसिर १८ गते वीरगन्ज महानगरको कार्यपालिका बैठकले अंग्रेजी नयाँ बर्ष अर्थात पुस १७ गतेदेखि वीरगन्ज महानगर क्षेत्रमा हर्न बजाउन र प्लाष्टिकजन्य वस्तु प्रयोगमा निषेध गरेको हो । वीरगन्जलाई कोलाहल र फोहोर मुक्त बनाउनका लागि आज देखि सार्वजनिक स्थानमा हर्न बजाउन र प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध गरिएको हो । महानगरपालिकाको पूर्ववत घोषणा अनुसार अंग्रेजी नयाँ बर्षको शुरुवातसँगै महानगरपालिकामा हर्न निषेध र प्लाष्टिक नियन्त्रण अभियान शुरु गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्म कुमार भुषालले बताए ।

अभियानको पहिलो दिन आज वीरगन्जको घण्टाघरमा सचेतनामुलक कार्यक्रम पनि गरिएको छ ।यसका साथै आज बिहान महानगरपालिकाका ३२ वटै वडामा समुदाय प्रहरी साझेदारी वडा समितिको नेतृत्वमा आधा घण्टा सरसफाइ अभियान पनि संचालन गरिएको थियो । त्यस क्रममा प्लाष्टिक, कागज लगायतका हातले टिप्न मिल्ने फोहोर संकलन गरिएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

अभियानमा सहभागीहरुले ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटो’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । त्यस्तै कार्यक्रममा सहभागीहरुले सवारी साधनहरुलाई हर्न नबजाउन अनुरोध गर्दै यसका वेफाइदा बारे सवारी सधानका चालकहरुलाइ सचेत पनि गराएका थिए । हर्न र प्लष्टिक निषेध अभियान सफल बनाउन महानगरपालिकाले आज महानगर क्षेत्र प्रवेश गर्ने सबै नाकाहरुमा सचेतना सम्बन्धी ब्यानर राख्नुका साथै बुकलेट वितरण पनि गरेको छ ।

अभियान शुरु भएको भन्दै महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत भुषालले पहिलो एक साता सम्झाउने तर अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको जानकारी दिए । महानगरपालिकाकाले मंगलबारदेखि थालेको हर्न र प्लाष्टिक निषेधको अभियानमा नगरवासी र चालकहरुले साथ दिने विश्वास लिएको भन्दै भुषालले यदि अटेर गरे पुस २४ देखि महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले दण्डात्मक उपायहरुको स्वीकृत कार्यविधी कार्यान्वयनमा ल्याउने बताए ।

अभियानकै क्रममा महानगरपालिका भित्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिकाले ट्राफिक प्रहरीलाई आज चार थान गोप्रो क्यामरा उपलब्ध गराएको छ । वीरगन्ज महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा पनि गरेको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउने बताए । फोहोर र कोलाहलबाट वीरगन्जलाई मुक्ति दिन, जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्ने भन्दै मेयर सरावगीले त्यसपछि बढाउँदै १ लाखसम्म जरिवाना लिने योजना रहेको जानकारी गराएका छन् । मेयर सरावगीले अटेरी गर्नेहरुलाइ वीरगन्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्ने जनाए ।