प्लाष्टिक बोके कारवाही

Plastic Bag
लाेकपाटी न्यूज

चितवन, १८ पुस । के तपाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? बुधबारबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ ।

ती सुरक्षाकर्मीले तपाईले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री रहने छन् । तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर लान पाइने छ ।

फर्कँदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ । अन्यथा तपाई कारवाहीमा पर्नुहुने छ । पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको यो अभियान क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार वृहत कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र अभियानको शुभारम्भ गरेको छ । जनप्रतिनिधि, कर्मचारी, सरोकालवाला निकायलगायतको सहभागितामा निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । सहभागीले निकुञ्जको सो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

सो अवसरमा प्रदेश नं ३ को वातावरण समितिका सभापति रमा आलेमगरले प्लाष्टिकलाई पुनः प्रयोग गर्न र अभियानलाई सार्थक बनाउनुपर्ने बताइन् । तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिकमुक्त प्रदेश बनाउन र १० वर्षभित्र इन्धनबाट चल्ने गाडी निषेध गर्न लागेको भन्दै उनले यस्ता अभियान सफल पार्न सबैले साथ र सहयोग पुर्‍याउनुपर्ने बताइन् ।

प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल र रामलाल महतोले निकुञ्जभित्र प्रदुषण कम गर्न निकुञ्जसँग जोडिएका क्षेत्रमा प्लाष्टिकको प्रयोगमा कमी ल्याउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले अभियान सफल पार्न मध्यवर्तीका बासिन्दाको सहयोग आवश्यकपर्ने बताए ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गरे ।