जनप्रतिनिधि गाडीमा सरर, शव डोकोमा

Gadi
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

बैतडी, १८ पुस । दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा मात्र होइन जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदासमेत निजी सवारीमा बोकाएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिक समस्यामा पर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताए ।

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको वा बोरामा र सडक पुगेको ठाउँमा महङ्गो भाडा तिरेर जिप र ट्याक्टरमा बोक्ने गरेका छन् । उनले भने, ‘शव परीक्षण तथा अन्त्येष्टि गर्नुपर्‍यो भने निकै समस्या हुने गर्दछ ।’ कुनै अप्रिय घटना आत्महत्या, भइपरी आएका घटना, दुर्घटनामा कुनै व्यक्तिको शव परीक्षण समस्या पर्ने गरेको उनले सुनाए ।

अति आश्यक रुपमा रहेको शववाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए । स्थानीय तहले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरिद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहन किन्नका लागि भने चासो देखाएका छैनन । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा कुनै पनि स्थानीय तहले शव वाहन किनेका छैनन ।