वाइडबडी प्रकरण : यसकारण कारबाहीको सिफारिसमा परे रवीन्द्र अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज

काठमाडौै, १८ पुस । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा कारबाहीका लागि सिफारिस गरेको छ । समितिले उनीबाहेक पूर्वपर्यटनमन्त्रीद्वय जितेन्द्र देव र जीवनबहादुर शाहीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ ।

मन्त्री अधिकारीले वाइडबडी विमान प्रकरणमा आफू संलग्न नरहेको बताउँदै आएपनि उपसमितिले भने दोषी ठहर्‍यायो । प्रतिवेदनका अनुसार महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएका थिए ।

उपसमितिको प्रतिवेदनमा भनिएको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकको ५५ औ‌ं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानून सम्मत नदेखिएको भनी स्पष्ट उल्लेख भएको हुँदाहुँदै सो को छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको , पटकपटक आफ्नो कार्यकालमा कुनै भुक्तानी नदिएको र सदनमा सुक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा केवल औपचारिकताका लागि मात्र वायुसेवा निगमकै कार्यदल बनाई सत्यतथ्य बाहिर नल्याएको, यस उपसमितिमा छलफलको क्रममा महालेखा परीक्षक टंकमणि शर्मासँग अनौपचारिक परामर्श लिई अन्तिम किस्ता रकम भुक्तानी दिएको भनिएकोमा स्यवं महालेखा परीक्षकले यस समितिमा उपस्थित भई मन्त्री रवीन्द्र अधिकारीले गलत विवरण दिएको भनी रेकर्ड गराई सो सम्बन्धमा पत्रसमेत दर्ता गराएको अवस्थामा रकम भुक्तानी गर्न मन्त्रीले बद्नियतपूर्वक मिलोमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिएकोले प्रचलित कानूनबमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ ।  ‘