‘पढ्नलाई उमेरले छेक्छ र ?’ ४५ वर्षीया सानुमायाको कथा

school
लाेकपाटी न्यूज

तेह्रथुम । ‘जहाँ इच्छा त्यहाँ उपाय भने झैँ’मन हुनेलाई लेखपढ गर्न उमेरले छेक्दैन । तेह्रथुम आठराई गाउँपालिका–१ की सानुमाया नेपाली अहिले ४५ वर्षकी भइन् । सानोमा विद्यालय समेत नदेखेकी उन अहिले ५ वर्षिय नातिनी सँगै विद्यालय जाने गर्दछिन् ।

नातिनी अहिले स्थानिय विद्यालय पुरानागाउँमा कक्षा–३ मा पढ्दै छिन् । उनी २ वर्ष अघि भर्ना भएकी थिइन् । उनको एक नाती पनि छन् । उनी अहिले सोहि विद्यालयको कक्षा १ मा पढ्छन् । उनले उमेरमै पढ्न नपाएकोमा गुनासो पोख्दै भनिन् “काम धेरै भएकाले लेखपढ गर्न पाइन, अहिले फुर्सदमा छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेर केहि नबने पनि आफ्नो नाम लेख्न र सहि गर्न सिक्ने उनको ठुलो इच्छा छ ।

उनलाई विद्यालय गएर पढेर मनमा लागेको कुरा लेख्न सक्ने बन्न मन छ । शूरुमा प्रौढ पढ्न गएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन् । ‘कुनै ठाउँमा सहि गर भन्दा नजानेर ल्याप्चे लगाउनु पर्छ । त्यो पनि सहि ठाउँमा लागे नलागेको थाहा हुदैन्’ उनी भन्छिन् ।

गाउँमा प्रौढ पढ्न जाँदा २ घण्टा सम्म केहि नसिकिएपछि विद्यालय गएर पढ्न थालेको उनले बताइन् । कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको अनुभव उनले सुनाइन् ।

तेह्रथुमलाई गतवर्ष नै पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि साक्षरोत्तर कक्षाहरु गाउँ–गाउँमा सञ्चालन भइरहेका पाइन्छन् । गाउँका महिलाहरुमध्ये अधिकांश महिला निरक्षर छन् । तर इच्छा हुनेले साक्षर बन्न चाहे अभियान चौतारी मार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण छ । अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारबारे सुचना दिने कार्यक्रम हो ।

सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछाने बताउछन् । उनी हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन् । स्कुल जान थालेपछि उनलाई अहिले वर्ण, मालासँगै नाम लेख्न, पढ्न आउन थालेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्