स्वच्छ वातावरण महाअभियान अन्तर्गत हरितपार्क निर्माण गर्ने सम्झौता

लाेकपाटी न्यूज

चितवन, १८ पुस । वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच आज हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ । हरित पार्क निर्माणको सम्झौतापत्रमा विभागका महानिर्देशक झलकराम अधिकारी र भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच भएको हरित पार्क निर्माणको सम्झौताले भरतपुर महानगरलाई हरियाली बनाउने अपेक्षा गरेकी छिन् ।

भरतपुर महानगरपालिकामा आयोजित नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ तथा उद्योग प्रतिष्ठानको वातावरणीय अनुगमनसम्बन्धी ३ नं प्रदेशको अभिमुखीकरण कार्यशाला गोष्ठीमा बोल्दै दाहालले सरसफाइमा महानगर नमुना बन्दै गइरहेको बताएकी छिन् । उनले भरतपुर महानगरले सरसफाइका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको प्रष्ट पारिन् ।

महानगरले नदी किनार र राजमार्गको सरसफाइलाई प्राथमिकता दिएको बताउदैँ उनले भनिन् ‘फोहोर बढी गर्ने गुट्का नियन्त्रण गर्न लागिपरेका छौँ, तर एकैचोटी नियन्त्रण हुन सकिरहेको छैन ।’ साथै सार्वजनिक स्थल, विद्यालय, अस्पतालको एक सय मिटर वरपर गुट्का बेच्न प्रतिबन्ध गर्ने निर्णय भएको बताइन् ।

सडकमा फोहोर फाल्नेलाई जरिबाना लगाएको र त्यसको २५ प्रतिशत सूचना दिनेलाई पुरस्कार दिने निर्णय समेत गरिएको छ । ‘हरितपार्क निर्माण गर्ने सम्झौता भयो, तर कहाँ कति जग्गामा हरितपार्क निर्माण गर्ने विषय छलफलमै रहेको छ’ महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भने । उनका अनुसार १५ वर्षको लागि हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ ।

कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका सहसचिव रघुनाथ पराजुली, विभागका प्राविधिक उपसचिव शंकरप्रसाद पौडेलले सरसफाइ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।