भरतपुरमा हरित–पार्कका लागि सम्झौता

batabaran1
लाेकपाटी न्यूज

चितवन । वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच हरितपार्क निर्माण गर्ने सम्झौता भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वातावरण विभाग र भरतपुर महानगरपालिकाबीच भएको हरित पार्क निर्माणको सम्झौताले भरतपुर महानगरलाई हरियाली बनाउने अपेक्षा गरेकी छिन् ।

भरतपुर महानगरपालिकामा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ तथा उद्योग प्रतिष्ठानको वातावरणीय अनुगमनसम्बन्धी ३ नं प्रदेशको अभिमुखीकरण कार्यशाला गोष्ठीमा प्रमुख अतिथि समेत रहेकी महानगर प्रमुख दाहालले सरसफाइमा महानगर नमुना बन्दै गइरहेको बताइन् ।

भरतपुर महानगरले सरसफाइका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताइन् । कार्यक्रममा उनले महानगरले नदी किनार र राजमार्गको सरसफाइलाई प्राथमिकता दिएको बताइन् । उनले भने, ‘फोहोर बढी गर्ने गुट्का नियन्त्रण गर्न लागिपरेका छौँ । तर, एकैचोटी नियन्त्रण हुन सकिरहेको छैन ।’

कार्यक्रममा उनले सार्वजनिक स्थल, विद्यालय, अस्पतालको एक सय मिटर वरपर गुट्का बेच्न प्रतिबन्ध गर्ने निर्णय भएको बताइन् । उनले सडकमा फोहोर फाल्नेलाई जरिबाना लगाएको र त्यसको २५ प्रतिशत सूचना दिनेलाई पुरस्कार दिने निर्णय गरेको बताइन् । दाहालले नीति नियम राम्रो भएर मात्र नहुने र त्यसको कार्यान्वयन पक्ष नै ठूलो कुरो भएको बताइन् ।

हरित पार्क निर्माणको सम्झौतापत्रमा विभागका महानिर्देशक झलकराम अधिकारी र भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । ‘हरितपार्क निर्माण गर्ने सम्झौता भयो । तर, कहाँ कति जग्गामा हरितपार्क निर्माण गर्ने विषय छलफलमै रहेको छ’ महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । उनको अनुसार १५ वर्षका लागि हरितपार्क निर्माण गर्ने सम्झौता भएको हो ।

कार्यक्रमको अध्यक्षता गरेका वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले कार्यक्रममा उपस्थित वक्ताहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका सहसचिव रघुनाथ पराजुली, विभागका प्राविधिक उपसचिव शंकरप्रसाद पौडेलले सरसफाइसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश ३ का विभिन्न नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो । वातावरण विभागले नेपाल स्वच्छ वातावरण महाअभियानको दोस्रो संस्करणको कार्यशाला भरतपुर महानगरमा गरेको हो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डित, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना लगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्