स्वास्थ्यकर्मीलाई बिदा नदिनुस् : उपेन्द्र यादव

Upendra Yadav
लाेकपाटी न्यूज

राजविराज, १९ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताएका छन् ।

राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै उनले अगामी फागुन १ देखि नेपाली सेनासँगको सहकार्यमा सोही अस्पतालमा वृहत निःशुल्क स्वास्थ शिविर आयोजना गरिने पनि बताए ।

सोही शिविरको पूर्वतयारीका लागि राजविराज आइपुगेका उपप्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा पाउन स्थानीयवासीले नै उचित वातावरण बनाउनुपर्ने र सोही बमोजिम सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिविर सञ्चालनका लागि खटाइएका चिकित्सकमध्ये को–को आए र को–को आएनन् सोको सूची तयार गरी यथाशीघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई बिदा नदिन उनले निर्देशन दिए ।

उपप्रधानमन्त्री यादवले फागुन १ गतेदेखि शुरु हुने एघारदिने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका बिरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उनको भनाइ थियो ।