अवैध भट्टीमा प्रहरीको छापा

लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । महानगरीय प्रहरी वृत्त बौद्धले बिहिवार अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती र काठमाडौँ महानगरपालिका–६ नागेश्वरगल्लीमा रहेका मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भट्टीहरूमा छापा मारेको बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अपराधका गतिविधि निम्त्याउने गरेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न यो कदम चालेको हो ।

छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको चन्दले जानकारी दिए । उनले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताए ।

यसअघि पनि वृत्तले विभिन्न स्थानहरूमा पटक पटक छापा मार्दै हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरेको थियो । प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गर्ने गरेको छ ।