अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माणका लागि सहमति

लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण हुने भएको छ ।

खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको हो ।
युवा तथा खेलकूद मन्त्रालयमा बुधबार भएको छलफलमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ । नेपाल सरकारले आगामी तीन वर्षभित्रमा निमार्णकार्य सम्पन्न गर्ने उद्देश्यका राखेको छ ।

मन्त्रालयको अनुरोधमा नगरपालिकाले आवश्यकताअनुसार एक हजार ५ सय रोपनीसम्मको जग्गा व्यवस्था गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजनाको माध्यमबाट गरिने भनिएको छ । त्यसको लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताए । उनले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउननहुने भन्दै जानकारी गराएको उल्लेख गर्दै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्न नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रङ्गशाला तथा कवर्ड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिए । उनले नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधी कार्य गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको सङ्ख्यालाई सरकारले आवश्यकताअनुसार बल प्रयोगसमेत गर्नुपर्ने बताए ।