बागमतीमा हाम फाल्न पाउँ : चिरिबाबु महर्जन

Chiribabu Maharjan01
लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बागमतीमा पौडी खेल्न मन भएको बताएका छन् ।

बिहीबार राजधानीको बालकुमारीमा फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बागमतीमा पुन: पौडी खेल्न मन छ, हाम फाल्न पाउँ ।’ बाल्यकालतर्फ फर्कँदै महर्जनले भने, ‘हामी बाल्यकालमा स्कुल पढ्दा छुट्टी हुने बितिक्कै बागमतीमा पौडी खेल्थ्यौं । नुहाउँथ्यौं ।’ उनले सानोमा प्यास लाग्दा पनि बागमतीकै पानी खाएको स्मरण गर्दै अहिले फोहोर भएकोमा चिन्ता व्यक्त गरे ।

उनले बागमतीले हेर्दाहेर्दै भयावह रुप लिएको र अहिले नदी छिर्नै नसक्ने भएको उल्लेख गरे । ‘नदी फोहोर भएर छिर्नै नसक्ने भयो । पुलमा पनि गन्ध आउँछ,’ महर्जनले भने, ‘नदी साह्रै फोहोर भयो ।’

उनले अहिले पानी प्रशोधन भएको देख्दा आफूलाई खुशी लागेको बताउँदै भने, ‘अहिले त बुढो भएँ । तर, फेरि बागमतीमा हाम्फाल्न मन छ । पौडी खेल्न मन छ ।’