‘बागमतीमा कञ्चन पानी बगाउँदैछौं’ : मन्त्री बिना मगर

Bina magar-8
लाेकपाटी न्यूज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बागमती नदीको सफाइ नेपालको सभ्यता र प्रतिष्ठाको विषय भएको बताएकी छिन् । बागमती नदी प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकी हुन् ।

काठमाडौंको बालकुमारीमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले बागमती नदीलाई पूरै सफा बनाइने र त्यसका लागि मन्त्रालयले काम गरिरहेको बताइन् । हाल कोड्कु, सल्लाघारी र धोबीघाटमा ३ वटा प्रशोधन केन्द्र निर्माण भएको र त्यसबाट दैनिक ६ करोड ८० लाख लिटर पानी प्रशोधन हुने उनले जानकारी दिइन् ।

प्रशोधनपछि बागमतीको पानी घरायसी र औद्योगिक प्रयोजनमा लगाउन सकिने मन्त्री मगरको मन्तव्यमा उल्लेख छ । यस्तो छ बिहीबार मन्त्री मगरले उद्घाटन समारोहमा गरेको सम्बोधन, (पूर्णपाठ) ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
माननीय पूर्वमन्त्रीज्यू,
संघीय संसदका माननीय सदस्यज्यूहरु,
प्रदेशका सांसदज्यूहरु,
नेपाल सरकारका सचिवज्यूहरु,
मेयरज्यू, उपमेयरज्यू लगायत अन्य जनप्रतिनिधिहरु,
मन्त्रालय मातहतका विभिन्न कार्यालयका प्रमूखज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
सञ्चारकर्मी मित्रहरु,
विभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधिज्यूहरु,
उपस्थिति सम्पूर्ण महानुभावहरु ।

सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा पाल्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा विभागीय मन्त्रीका हैसियतले हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु ।

बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिङ्गै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । विश्वकै सुन्दर देशहरुको सूचिमध्ये अग्रस्थानमा रहेको नेपाल र त्यसको मुटुमा रहेको काठमाडौंको बागमती हाम्रो सभ्यता र पहिचानका दृष्टिले मात्र होइन, जीवनपद्दति र सम्भावनाका दृष्टिले पनि अग्रणी स्रोत र पूँजी हो । बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ । यसका लागि म बागमती सफाइ अभियानका अभियान्ता, नेपाल सरकारका विभिन्न तहमा रहेर क्रियाशील कर्मचारी साथीहरु, सामाजिक संघ/संस्था र व्यक्तित्वहरुमा हृदयदेखि आभार व्यक्त गर्दछु ।

स्वास्थ्य र सुन्दरता दुवै दृष्टिले प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो । स्वस्थ जीवनको सबैभन्दा ठूलो आधार सफा पानी नै हो । पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्दछौं । यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी ग¥यौं । यस अभियानमा सामाजिक अभियान्ताहरुले खेल्नुभएको नेतृत्वदायी भूमिकाको म स्मरण गर्न चाहन्छु । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा स्वस्थ पानीको आपूर्तिको जिम्मेवारी मात्र बहन गरेको छैन, बागमती लगायतका हाम्रा प्राकृतिक सम्पदामा हुने प्रदुषणको रोकथाम र प्रशोधनका लागि पनि उत्तिकै मेहेनतका साथ काम गरिरहेको छ । आज हामीले काठमाडौंका ३ स्थान (धोबिघाट, कोड्कु र सल्लाघारी) को प्रशोधन केन्द्रको एकीकृत रुपमा उद्घाटन गर्दैछौं । त्यसको एकीकृत कार्यक्रमका रुपमा हामी आजको समारोहमा छौं ।

बागमतीमा सफा पानी बग्न र वातावरणलाई स्वस्थ बनाउने हाम्रो अभियान अनवरत रुपमा अघि बढ्नेछ । पहिलो चरणमा गरिएको यस प्रशोधनले कोड्कु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबिघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने हाम्रो अपेक्षा छ । कोड्कुको प्रशोधन केन्द्र ७ मे, २०१७, धोबिघाटको प्रशोधन केन्द्र ७ मे, २०१७ र सल्लाघारीको प्रशोधन केन्द्रको निर्माण कार्य १ अगस्ट २०१६ मा सम्झौता गरिएको व्यहोरासमेत उपस्थित महानुभावहरुमा जानकारी गराउन चाहन्छु । उल्लेखित प्रगतिले ईच्छाशक्ति र इमान्दारिता भए ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न कठिनाइ छैन भन्ने बलियो सन्देशसमेत दिएको छ ।

उल्लेखित ३ वटै प्रशोधन केन्द्रको कुल निर्माण लागत करीब ४ अर्ब रहेको छ । प्रशोधन केन्द्रबाट प्रतिदिन ६ करोड ८० लाख लिटर पानी प्रशोधन हुनेछ । प्रशोधन केन्द्रबाट प्रतिघण्टा ३०५ किलोवाट विद्युत उत्पादन हुनेछ । साथै प्रशोधनबाट दैनिक १७.८ टन मल उत्पादन र केही मात्रामा बायोग्यास समेत उत्पादन हुनेछ । प्रशोधनपछि बागमतीमा कञ्चन पानी बग्नेछ, उक्त पानी करेसाबारी, सिँचाइ, सडक सरसफाइ, लुगा धुने लगायतका काममा प्रयोगमा आउनेछ । यसले प्रदुषण मात्र घट्ने छैन, पानीको बहुउपयोगिताको विश्वासिलो आधारसमेत तयार हुनेछ ।

पहिलो चरणमा तीनवटा केन्द्रलाई लक्षित गरिए पनि पानी प्रशोधनको हाम्रो अभियानले सिङ्गो बागमतीको मुहार फेर्नेछ, त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र मन्त्रालयले दुरदृष्टिका साथ काम गरिरहेको व्यहोरासमेत म यहाँ स्मरण गर्न चाहन्छु । मेलम्ची खानेपानी आयोजनामार्फत् शुद्द पानीको आपूर्तिमा बृद्धि हुनेछ, फोहोर पानीको प्रशोधन हुनेछ, यसका लागि नदी किनारमा ढलका पाइपहरु बिच्छाउनुका साथै क्रमशः सबै ठाउँमा प्रशोधन केन्द्र निर्माण हुनेछन् । यी संरचना निर्माण भएपछि बागमती लगायत उपत्यकाका नदीहरुमा सफा पानी बग्नेछ, अहिलेजस्तो खोलानाला दुर्गन्धित हुने छैनन्, मानव स्वास्थ्य, पर्यावरण र राष्ट्रिय प्रतिष्ठासमेत उच्च हुनेछ, यही विश्वास र दृढताका साथ मन्त्रालय र मातहतका कार्यालयहरुले कार्यसम्पादन गरिरहेका छन् ।

नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यथासक्य सम्पन्न गर्न मन्त्रालय गम्भिर छ । यस बीचमा मेलम्ची खानेपानी आयोजनाको अवस्था र प्रगतिबारे आम नेपाली जनसमुदायले लिनुभएको सकारात्मक चासो र चिन्ताप्रति हामी जानकार र सचेत पनि छौं । यस अवसरमा म मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्ण रुपले क्रियाशील रहेको व्यहोरा स्पष्ट गर्न चाहन्छु । कुनै पनि बहाना र गतिरोधले आफ्नो संकल्पलाई रोक्न सक्दैन, सम्भव सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पवद्ध रहेको स्मरण गराउँदै पछिल्लो समय परिस्थितिले सकारात्मक दिशा लिएको कुरा पनि म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

अन्त्यमा, सम्माननीय प्रधानमन्त्रीज्यूले मेलम्ची खानेपानी आयोजना र यस प्रशोधन केन्द्रको निर्माणमा दिनुभएको निरन्तर चासो र समस्या समाधानका लागि प्रदान गर्नुभएको अभिभावकत्वका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु । साथै यस प्रशोधन केन्द्रको निर्माण कार्यमा अमूल्य सहयोग र सद्भाव राख्नुहुने सबैप्रति आभार प्रकट गर्दै गरिमामय उपस्थितिका लागि फेरि एकपटक कृतज्ञता व्यक्त गर्दछु, धन्यवाद ।

मिति : १९ पुस, २०७५