ओलीको वाणी- ‘आशे नबनौं, गोरो छाला देख्ने बित्तिकै विद्धान नठानौं’

KP-Oli-1
लाेकपाटी न्यूज

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक योजनामा विदेशीको आश गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार राजधानीको बालकुमारीमा फोहोर पानी प्रशोधन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्राचीन समयमा हामी नेपाली आत्मनिर्भर थियौं । हामीले नेपालमा ८४ व्यञ्जन खाइरहँदा आजका विकसित भनिने युरोप, अमेरिकाका मान्छेहरु छाक टार्नका लागि पाउरोटी बनाउन सिक्दैथे । तर, आजका दिनमा हामी धेरै आशे भएका छौं । हामीले हरेक योजनामा विदेशीलाई आश गर्छौं । उनीहरुले आएर बनाइदिए हुन्थ्यो भन्ने ठान्छौं । गोरो छाला देख्नेबित्तिकै हामी उनीहरुलाई विद्वान र आफूलाई मुर्ख ठान्छौं ।’

उनले विदेशीहरुले टेक्ने बित्तिकै विकास हुन्छ भन्ने खालको सोचाइ हामीमा व्याप्त गरेको उल्लेख गरे । उनले थपे, ‘उनीहरुले छुँदा मात्रै पनि जसतो सुकै रोग पनि निको हुने ठान्छौं । तर यो सबै भ्रम हो ।’ प्रधानमन्त्री ओलीले हामीसँग पुँजी र प्रविधिको अभाव भएपनि इच्छाशक्ति र ज्ञान भएको धारणा राखे ।

उनले नेपाल ऋषिमुनिहरुको भूमि भएको बताउँदै हामी वैद्धिक सभ्यताबाट आएको बताए । ‘हाम्रो तपोभूमिमा ठूल्ठूला विद्धानहरुले साधना गर्थे,’ उनले भने । प्रधानमन्त्री ओलीले हाम्रै खोज अनुसन्धानबाट विश्वले ठूल्ठूला आविष्कारसमेत गरेको बताए ।

उनले आशे भएर देश नबन्ने र अरु कसैमा भर नपर्न आग्रह गर्दै भने, ‘तपाईको अघि बसेको मान्छेको ठ्याक्कै पछिको मान्छेले देश बनाउँछ । तपाईको पछि बसेको मान्छेको ठ्याक्कै अघिको मान्छेले देश बनाउँछ । तपाईको देब्रे बसेको मान्छेको ठ्याक्कै दाहिनेकाे मान्छेले देश बनाउँछ । तपाईको दाहिने बसेको मान्छेको ठ्याक्कै देब्रेको मान्छेले देश बनाउँछ । त्यो भनेको तपाई आफैं नै हो । अरु कसैमा भर नपर्नुस् । आशे भएर देश बन्दैन ।’