अब काठमाडौं दुर्गन्धित हुँदैन : निर्देशक खत्री

Tireshprasad Khatri
  • 500
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले अब काठमाडौं दुर्गन्धित नहुने बताएका छन् ।

निर्देशक खत्रीले मेलम्ची खानेपानी आयोजनामार्फत शुद्ध पानीको आपूर्तिमा वृद्धि हुने र फोहोर पानीको निष्काशन पनि वृद्धि हुने बताएका हुन् । उनले नदी किनारहरुमा ढलका पाइपहरु बिछ्याइनुका साथै फोहर पानी प्रशोधन केन्द्रहरुको समेत निर्माण भइरहेकाले उपत्यकाका नदीहरु सफा हुने उल्लेख गरे ।

उनले भने, ‘यी संरचनाहरुको निर्माण भएपछि उपत्यकाका नदीखोलाहरु सफा हुनेछन्, अहिलेजस्तो खोला, नाला दुर्गन्धित भै उपत्यकामा नाक खुम्च्याइ हिँडनुपर्ने छैन, समग्र वातावरणमा सकारात्मक असर पर्नेछ ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीको एक मन्तव्य :

सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु
प्रतिनिधिसभा तथा प्रदेश सभाका माननीय सभासदज्यूहरु
मेयरज्यू, उपमेयरज्यू र अन्य निर्वाचित प्रतिनिधिहरु
नेपाल सरकार अन्तर्गतका विभिन्न निकायमा कार्यरत पदाधिकारीहरु
संचारकर्मी मित्रहरु

प्रथमतः मानवीय प्रवृत्तिमाथि थोरै चर्चा गर्न चाहन्छु ।

हामी फोहर देख्नेबित्तिकै नाक खुम्च्याउँछौँ । जन्मजात प्रवृत्ति नै हो फोहर देख्नेबित्तिकै हामीलाई घिन लाग्छ, सफा कुरा देख्नेबित्तिकै मुखबाट स्वतः आहा उच्चारित हुन्छ । स्वस्थ जीवनको लागि शरीरलाई शुद्ध, सफा खानेपानीको जति आवश्यकता हुन्छ त्यति नै फोहर पानीको उचित व्यवस्थापनको पनि उत्ति नै महत्व हुन्छ ।

यहाँनिर यहाँहरुलाई पुनः स्मरण गराउँ, उपत्यकामा पानी आपूर्ति गर्ने संरचनाहरु र फोहर पानी व्यवस्थापन गर्ने संरचनाहरु ज्यादै पुराना भइसकेका छन् । तिनीहरुको क्षमता धेरै कम भइसकेको छ । त्यसैले सरकारले नयाँ आपूर्ति संरचनाहरुको निर्माणलाई तीव्रता दिइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनामार्फत् शुद्ध पानीको आपूर्तिमा वृद्धि हुनेबित्तिकै फोहर पानीको निष्कासनमा पनि वृद्धि हुने निश्चित छ । यसै तथ्यलाई ह्दयंगम गरी नदी किनारहरुमा ढलका पाइपहरु बिछ्याइनुका साथै फोहर पानी प्रशोधन केन्द्रहरुको समेत निर्माण भइरहेको छ । यी संरचनाहरुको निर्माण भएपछि उपत्यकाका नदीखोलाहरु सफा हुनेछन्, अहिलेजस्तो खोला, नाला दुर्गन्धित भई उपत्यकामा नाक खुम्च्याइ हिँडनुपर्ने छैन । समग्र वातावरणमा सकारात्मक असर पर्नेछ भन्ने अपेक्षा नेपाल सरकारले गरेको छ ।

खानेपानी आपूर्ति प्रणालीको र फोहर पानी व्यवस्थापन प्रणालीको सुदृढीकरणपछि हाम्रो राम्रो देशको नयाँ युगतर्फको यात्रा शुरु हुनेछ । त्यो यात्राले उज्ज्वल भष्यितर्फ लैजानेछ । सुखी नेपाली समृद्ध नेपालको हाम्रो सपना सपना रहनेछैन । विपनामा परिणत हुन थाल्नेछ भन्ने आशा एवं विश्वास लिएको छु ।

म कामना गर्दछु यस फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासले हाम्रो सुखी, स्वच्छ, सफा र संवृद्ध जीवनतर्फको गोरेटो कोर्नेछ, यी र यस्ता रुपान्तरणकारी आयोजनाहरुले त्यो गोरेटोलाई चौडा सडक बनाइ यस्तो निर्माण नेपाल गर्नमा सघाउनेछन् जहाँ नेपाली बालबालिकाहरु, युवाहरु र ज्येष्ठ नागरिकहरुले फोहोर पानीका कारण लाग्ने रोगहरुबाट अकालमै मृत्युवरण गर्नुपर्ने छैन । सकारात्मकतातर्फको, सुन्दर र उज्ज्वल भविष्यतर्फको यस यात्रामा नेपाल सरकार सधै तपाईहरुको साथ रहने विश्वास दिलाउँछु । मेलम्ची आयोजनाअन्तर्गतका निर्माण कार्यहरुलाई अझ तीव्रता दिई उपत्यकाका घरघरमा स्वच्छ, सफा खानेपानी पुर्‍याउन र चुस्त फोहर पानी व्यवस्थापन प्रणाली संचालन गर्न दिलोज्यानले लागि पर्न अनुरोध गर्दछु ।

अन्त्यमा, यस कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमामय उपस्थितिले मेलम्ची आयोजनासम्बद्ध सबै निकायहरुलाई आयोजना समयमै सम्पन्न गरी संचालन गर्न ऊर्जा मिलोस्, यही कामना गर्दै बिदा हुन्छु ।

धन्यवाद

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्