एकै पटक तीन जनाको लाइभ डोनर ट्रान्सप्लान्ट

Transplant-Surgery
लाेकपाटी न्यूज

भक्तपुर, २० पुस । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एकै दिन तीन जनाको मृगौला प्रत्यारोपण भएको छ । निर्देशक श्रेष्ठले यसअघि एकै पटक तीन जनाको यसरी लाइभ डोनर ट्रान्सप्लान्ट नगरेको र एकैपटक तीन जनाको प्रत्यारोपण भएको केश नसुनेको बताएका छन् । डोनर ट्रान्सप्लान्ट विहान ९ बजे शुरु गरेर ५ बजे सकेको पनि उनले जानकारी दिए ।

जिवित स्वस्थ व्यक्तिको मृगौला झिकेर गरिने यस किसिमको प्रत्यारोपण एकै दिनमा तीन जनाको भएको नेपालको इतिहासमै पहिलो हो । अस्पतालले एकै पटक तीन जनाको लाइभ डोनर ट्रान्सप्लान्ट गरेको केश सम्भवत दक्षिण एसियामै पहिलो हुन सक्ने अनुमान गरेको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको ट्रान्सप्लान्ट टिमले ५६ बर्षीया रेणु झा, ३१ बर्षीय फिलिप देसार र३२ बर्षीय नयन देसारमा मिर्गौला प्रत्यारोपण गरेको हो । उनीहरुलाई क्रमश ६२ बर्षीय ललन झा, ३३ बर्र्षीया रमिता देसार र २३ बर्षीया सविना देसारले मृगौला दान गरेका हुन्।

डा.श्रेष्ठकै नेतृत्वमा दुई बर्ष अघि सोही केन्द्रमा पहिलो ब्रेन डेथ केश गर्दा २४ घण्टामा ४ जनाको प्रत्यारोपण भएको थियो । विहीबारको लाइभ डोनर ट्रान्सप्लान्ट गर्न डा श्रेष्ठको नेतृत्वमा सर्जन डा राकेश बर्मा, डा विजय कारवाल, डा दिपेश श्रेष्ठ, डा अनिषा तिवारी, नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, डा सागर श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष गुरुङ खटिएका थिए ।

केन्द्रले चालु आर्थिक बर्षको साढे पाँच महिनाको अवधीमा ८१ जनामा मृगौला प्रत्यारोपण गरेको छ । यसबीचमा दुई जनामा ब्रेन डेथ भएको व्यक्तिबाट झिकिएको मृगौला र अरु सबै लाइभ डोनर ट्रान्सप्लान्ट हुन् । त्यहि अवधिमा मृगौला प्रत्यारोपणमा आवश्यक हुने औषधि एन्टी थाइमोसाइट ग्लोभिन को अभावमा करीव तीन साता प्रत्यारोपण रोकिएको उनले बताए ।

यस्तै केन्द्र स्थापना भएको साढे पाँच महिनाको अवधीमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या ५४९ जना पुगेको छ । अहिलेको संख्याले औषतमा बार्षिक सय जनाको प्रत्यारोपण भएको देखिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्