समाजसेवी बस्नेत : जसले जलाए १४३ वटा बेवारिसे लास

Binayajang Basnet
लाेकपाटी न्यूज

बलराम बुढाथोकी/काठमाडौं । एक समय लागूऔषध तथा दूर्व्यसनीमा फसेका रुपमा चिनिएका विनयजङ्ग बस्नेत अहिले समाजसेवीका रुपमा चिनिन्छन् । काठमाडौंका विभिन्न अस्पतालमा व्यवारिसे अवस्थामा रहेका शवहरुलाई उठाएर पशुपति आर्यघाटमा पुर्‍याई दाहसंस्कार गर्ने गर्दछन् । हो अहिलेका यिनै समाजसेवी विनयजङ्ग बस्नेत पहिला रक्सीको लतमा फस्न पुगेका थिए । उनले त्यो नशामा फसेको अन्धकार जीवन बिताएका थिए । घर परिवारको घृणा सहनुपर्‍यो । छिमेकीको हेपाई सहनुपर्‍यो । साथीभाइको व्यङ्गे सहनुपर्‍यो । ती नै बस्नेतको जीवनको भोगाइ हामीले यहाँ प्रस्तुत गरेका छौं–सम्पादक ।

कसरी फसे रक्सीको लतमा ?

नेपाल कमर्स क्याम्पस मिनभवनबाट एम.बी.एस. गरेका बस्नेतले रेडियोमा केही समय काम पनि गरे । रेडियोमा काम गर्दै जाँदा साथीहरुको संगतमा कहिलेकाहीँ रक्सी खाने लत बस्यो । बस्नेत १६ वर्षको हुँदा उनकी आमाको निधन भयो । बुवा पनि केही समय पहिला बितेकाले घरमा सानी एक छोरी र श्रीमती मात्र थिए । बस्नेत भन्छन्, ‘मेरो घर परिवारमा श्रीमती र सानी छोरी थिए । म १६ वर्षको हुँदा आमा बित्नुभएको थियो । अहिले बुवा बित्नुभएको पनि १४ वर्ष भएको छ । घर परिवारलाई माया दिनुपर्ने बेलामा म आफैं बिग्रिएर हिडें । मैले असल श्रीमान र असल बुवाको भूमिका निर्वाह गर्न सकिनँ ।’

उनी आफ्नो घरपरिवारलाई परवाह नगरिकन कुलतमा फसे । उनको जीवनको बाँच्ने सहारा नै रक्सी बन्न पुग्यो । रक्सीको कारणले घरपरिवारमा अनेकौं अफ्ठ्यारा बाधाहरु आइपरे । तर, उनको जीवनमा परिवर्तन आउन सकेन । उनी उही अन्धकार जीवनमै रमाउन थाले । घरमा दुःख दिन थाले । उनकी श्रीमती दिन रात उनको व्यवहारबाट आजित भइन् । उनकै कारण श्रीमतिले पतिबाट सुखद् जीवनको अपेक्षा गर्न सकिनन् । श्रीमतीले घोषणा गरिन्, ‘अब म फर्केर आउँदिनँ ।’

त्यसपछि श्रीमती माइती घर गइन् । बस्नेत धेरैपटक श्रीमतीलाई लिन भनेर ससुराली गए । तर उनकी श्रीमती फर्केर आउन मानिनन् । उनकी श्रीमतीको एउटै माग थियो, ‘जीवनमा रक्सी खान छोड्नुपर्छ ।’ बस्नेत भन्छन्, ‘मलाई श्रीमतीले छोडेर नगएको भए म आज यो अवस्थामा हुने थिइनँ होला । यो जीवन मेरी श्रीमतीले दिएको हो । यदि उनी मसँगै बसेकी भए म कहिल्यै सुध्रिन पाउदिनँ थिएँ । आज पनि त्यही अन्धकार जीवनमा रमाइरहेको हुन्थें ।’

उनले आफ्नो जीवन परिवर्तन हुनुमा श्रीमतीको ठूलो योगदान रहेको बताउँछन् । श्रीमती माइतबाट नफर्केपछि उनी अन्धकार जीवनमै रमाउन थाले । साथमा पैसा नहुने भएकाले मागेर पनि रक्सी खाएको उनी स्मरण गर्छन् । रक्सी नखाई नसक्ने भएपछि रक्सी दिनेहरुका लागि जे गर्न पनि तयार हुने उनको अनुभव छ । करिब ४ वर्ष यस्तै अन्धकारमय जीवनमा उनले यो सुनौलो संसार भुल्न पुगे । ‘अब म यो अन्धकार संसारबाट बाहिर निस्किन सक्दिनँ जस्तो लाग्थ्यो । कहिलेकाहीँ त यो जीवन नै बेकारजस्तो पनि लाग्थ्यो । सबैले छिछि र दुरदुर गर्थे । तर, चाहेर पनि म यो लतबाट बाहिर निस्किन सकिनँ । म समाजमा एक घिनलाग्दो पात्र भएर बाँचें । समाजको भार भएर बाँचें’ उनी विगत सम्झन्छन् । तर, अन्ततः बस्नेतको जीवनले नयाँ मोड लियो ।

यसरी कुलतबाट मुक्त भए बस्नेत

ललितपुर महालक्ष्मी नगरपालिका घर भएका बस्नेत श्रीमतीले छोडेर माइत गएपछि अन्धकार जीवनमा एक्लै रमाउँदै थिए । एक दिन उनकी फूपुका छोरा नविन खड्का अमेरिकाबाट बस्नेतका लागि भगवान भएर आए । अन्धकार जीवन बिताइरहेका बस्नेतलाई भाइ खड्काले चोभारस्थित ‘रिच्मण्ड फेलोसिफ’ सुधार केन्द्रमा पुर्‍याए । सुधार केन्द्रमा करिब ३ महिना बसेपछि बस्नेतको व्यवहारमा सुधार आयो । त्यसपछि एकाएक आफूले ठूलो गल्ती गरेजस्तो महसुस गर्न थाले । उनको जीवनमा आशाको किरण भरियो ।

समाजसेवाको प्रेरणा

उनले काठमाडौंका कतिपय ठाउँमा बेवारिसे मानिसहरु देखे । आफू पनि केही समयअगाडि बेवारिसे भएर हिँड्नु परेको पीडा सम्झेर तिनीहरुको अभिभावक बन्न मन लागेको उनको भनाइ छ । त्यस्तै उनका बुवाले पनि बेवारिसे भएर नै मर्नुपरेको हुँदा बस्नेतलाई सामाजिक कार्य गर्ने इच्छा जाग्यो । आफ्नै र आफ्ना पिताको जीवनबाट उनले निर्मम शिक्षा लिए । बस्नेत भन्छन्, ‘मेरो बुवा पनि बेवारिसे अवस्थामा मर्नुभएको थियो । त्यही बुवाको मृत्युको सम्झना आयो र अब नेपालमा कसैले पनि बेवारिसे अवस्थामा मर्नु नपरोस् भनेर मैले काठमाडौंका विभिन्न ठाउँमा व्यवारिसे शवहरु नहुन् भनेर यो अभियान चलाएको हुँ ।’

अहिलेसम्म बस्नेतले करिब एक सय ४३ वटा बेवारिसे शवको दाहसंस्कार गरेका छन् । देशभरि नै कोही पनि बेवारिसे अवस्थामा मर्नु नपरोस् भनेर बस्नेतले नेपालका विभिन्न जिल्लामा ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ नाम संस्थाको स्थापना गरेका छन् ।

सजिलो छैन समाजसेवा

नेपाल सरकारले राष्ट्रपतिका लागि १८ करोड खर्चेर गाडी किन्यो । तर, समाजका लागि काम गर्ने संस्थालाई १८ हजारसम्म सहयोग गर्न सकेन । आफ्नै जग्गा बेचेर काभ्रेमा आश्रम खोल्नका लागि २ रोपनी जग्गा किनेको बस्नेत बताउँछन् । ललितपुरको टिकाथलीमा करिब १ करोड ५० लाख पर्ने जग्गामा आश्रम खोल्नका लागि शिल्यान्यास गरिसकिएको छ ।

दशैंअगावै संस्थाको निर्माण कार्य सुरु गर्ने भनिए पनि आर्थिक अभावको कारण अहिलेसम्म सुरु गर्न सकिएको छैन । ‘राम्रो काम गर्न मन भएर मात्र नहुने रहेछ । त्यसका लागि सबै कुराको मेसो मिल्न पर्दाे हरेछ । मैले सक्नेसम्म गरिरहेको छु । तर, आर्थिक अभावले गर्दा केही समस्या ल्यायो । यसका लागि मनकारी साथीहरुले साथ सहयोग गर्नुभएको छ । अब चाँडै नै आश्रम निर्माण कार्य सुरु हुन्छ ।’

त्यस्तै आश्रममा आवश्यक पर्ने जस्तापाताको व्यवस्था सीताराम कट्टेल (धुर्मुस) ले सहयोग गर्ने भनी वचन दिएका छन् । उनी रेडियोमार्फत् लागूऔषध दूर्व्यसनीमा फसेकाहरुलाई यस्तो जीवनबाट मुक्त गर्नका लागि अभियान नै चलाइरहेका छन् । देशान्तर रेडियोमा प्रत्येक दिनसाँझ ७ बजे ‘पुनर्जीवन’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् बस्नेत । त्यस कार्यक्रमबाट कुलतमा फसेकाहरुलाई परामर्श दिने गरिएको उनी बताउँछन् ।