‘संयम बनौं, हामी बिग्रे सबै बिग्रन्छ’ : मन्त्री अर्याल

Padma Aryal-4
लाेकपाटी न्यूज

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनताको सिधै पहुँच पुग्ने माध्यम सहकारी भएको बताएकी छिन् ।

पाल्लाको रामपुरस्थित रामपुर बचत तथा ऋण सहकारी संस्थाको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘सरकारले सहकारीलाई विकासको प्रमुख अंग मानेको छ, सहकारी जनताको सिधै पहुँच पुग्ने माध्यम हो ।’

मन्त्री अर्यालले थपिन्, ‘मुलुकलाई कसरी समृद्ध बनाउने भन्नेमा सरकारको ध्यान छ । सहकारीको माध्यमबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपाल अब सधैं विकासन्मुख देशमा बस्न सक्दैन । हाम्रा छिमेकीहरू हिजो हामी सँगसँगै थिए, आज धेरै अगाडि बढिसकेका छन् । उनीहरूबाट हामीले केही सिक्नुपर्छ ।’

‘हाम्रो राजनीतिक लडाइँको युग समाप्त भएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अबको लडाइँ गरिबीविरूद्व हो, जग्गा नभएकालाई जग्गा दिने, लालपुर्जा नभएकालाई लालपुर्जा दिनेको समृद्धिको युग हो । सुखी नेपाली समृद्ध नेपालको युग हो ।’

सरकार असफल बनाउन षड्यन्त्र

मन्त्री अर्यालले सरकारलाई असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको पनि बताइन् । रामपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘यो सरकारलाई असफल बनाउन विभित्र षड्यन्त्र भइरहेको छ, हल्लाको पछि नलाग्नुहोस् । यो सरकार ४ वर्षभित्रमा जनतालाई केही दिनुपर्छ भनेर लागिरहेको छ ।’

माघ महिनाभित्र पार्टी एकीकरणले पूर्णता पाउने उनले बताइन् । ‘माघ महिना भित्रमा हाम्रो पार्टीको तल्लो तहको एकताले पूर्णता पाउँछ’ मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरू नआत्तिनुहोस् । हामी बिग्रे सबै चीज बिग्रन्छ, हामी संयम छौं ।’